काठमाडौं । महिलाहरूका लागि ३५ दिने निःशुल्क माउण्टेन गाइड तालिम सुरू भएको छ । नेपाल पर्यटन बोर्ड र संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम युएनडिपीको सहकार्यमा सञ्चालित संयुक्त परियोजना जीविकोपार्जनका पुनः उत्थानका लागि दिगो पर्यटन परियोजना (एसटिएलआरपी) को सहयोग तथा नेपाल पर्वतारोहण प्रशिक्षण प्रतिष्ठान (एनएमए) सँगको सहकार्यमा बिहीबारदेखि काठमाडौंमा तालिम सुरु भएको हो ।
तालिम कार्यक्रम शुभारम्भ गर्दै नेपाल पर्यटन बोर्डका निर्देशक तथा परियोजनाका राष्ट्रिय कार्यक्रम संयोजक मणिराज लामिछानेले पर्वतारोहण क्षेत्रमा महिला सहभागिता अभिवृद्धि गर्ने उद्देश्यले यस्तो तालिम सुरू गरिएको बताउनुभयो ।
एनएमएका कार्यकारी निर्देशक रुद्रप्रसाद चापागाईंले तालिमले पर्यटनमा महिला सहभागिता बढाउनुका साथै रोजगारीमा समेत योगदान पुग्ने बताउनुभयो । तालिमममा सहभागी हुन चाहनेको संख्या धेरै भएपछि अन्तवार्तामार्फत् छनोट गरिएको एसटिएलआरपीका जीविकोपार्जन विज्ञ धर्म दवाडीले बताउनुभएको छ । तालिममा सातै प्रदेशका २५ जिल्लाबाट एक सय २० प्रशिक्षार्थीको सहभागिता रहेको बताइएको छ ।






