काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्व-प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सिट संख्याको हिसाबले खुम्चिए पनि राष्ट्रिय राजनीतिमा माओवादीको भूमिका केन्द्रीय नै रहेको दाबी गर्नुभएको छ । पार्टीनिकट नेपाल राष्ट्रिय कर्मचारी महासंघले शनिबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा दाहालले राष्ट्रिय राजनीतिमा अहिले पनि पार्टीको भूमिका केन्द्रीय नै रहेकोले त्यसलाई कसैले खोस्न नसक्ने बताउनुभयो । ‘संघमा हामीले सोचेजस्तो, अपेक्षा गरेको जस्तो पक्कै पनि भएन । त्यो साँचो कुरा हो । त्यसका कारणहरूको खोजी र समीक्षा पनि हामी गर्दै छौँ,’ अध्यक्ष दाहालले भन्नुभयो, ‘तर, हामी खुम्चियौँ भन्नुको मतलब यो होइन कि राष्ट्रिय राजनीतिमा हाम्रो भूमिका खुम्चियो । राष्ट्रिय राजनीतिमा अहिले पनि हाम्रो भूमिका केन्द्रीय नै छ । त्यसलाई कसैले पनि खोस्न सक्ने स्थिति देखिएको छैन । त्यसकारण हामीले निराशा बाँड्नुपर्ने, हामी चिन्तित हुनुपर्ने छैन ।’
उहाँले राष्ट्रिय राजनीतिमा माओवादीले स्थापित गरेको सिष्टम नै केन्द्रीय रूपमा कायम रहेको उल्लेख गर्नुभयो । ‘राष्ट्रिय राजनीतिमा हामी किन निराश हुनुपर्ने अवस्था होइन भन्छु भने म एउटा त एजेण्डाहरूको हिसाबले राजनीतिक धारा हामीद्वारा स्थापित सिष्टम नै नेपालमा अहिले पनि केन्द्रीय रूपमा कायमै छ । र, शक्तिको हिसाबले पनि हामीले थोरै समीक्षा गरेर मिहिनेत गर्ने हो भने शक्तिको हिसाबले पनि हामी फेरि पुनःसंगठित हुन सक्ने र आन्दोलित हुन सक्ने शक्ति हामीसँग छ,’ उहाँले भन्नुभयोे ।
दाहालले आउँदा दिनका निम्ति आफूलाई रूपान्तरण गर्ने एउटा प्रतिबद्धता गर्नैपर्ने आवश्यकता रहेकोमा जोड दिनुभयो । ‘गम्भीर समीक्षा गरेर आउने दिनका निम्ति आफूलाई रूपान्तरण गर्ने एउटा प्रतिबद्धता गर्नैपर्छ,’ उहाँले थप्नुभयो, ‘हामी जित्छौँ । जितेपछि अलि बढी मनोगत हुन्छौँ । अलि आफैँभित्र एकले अर्कालाई दोषारोपण गर्न थाल्छौँ । हारेपछि फेरि यो के भयो भनेर गम्भीर रूपमा छातीमा हात राखेर समीक्षा गर्न थाल्छाँै । जितपछि हार, हारपछि जित यो सर्कल चली नै रहन्छ ।’
अध्यक्ष दाहालले सूचना र प्रविधिको सदुपयोग गरेर अघि बढ्न नसक्दा निर्वाचनमा आफ्नो पार्टीले अपेक्षा गरेअनुसार नतिजा ल्याउन नसकेको पनि बताउनुभयो । आगामी दिनमा पार्टीलाई विचारको दृष्टिले तथा सूचना र प्रविधिको सदुपयोग गर्ने दृष्टिले अगाडि बढाउनुपर्ने उहाँको भनाइ थियो ।
देशमा एकता र सहमतिको आवश्यकता छ : नेपाल
नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्व-प्रधानमन्त्री माधवकुमार नेपालले देशमा यतिखेर एकताबद्ध भएर अघि बढ्नुपर्ने आवश्यकता रहेको बताउनुभएको छ । भक्तपुरको सूर्यविनायक नगरपालिका-५ सूर्यनगरमा सूर्यनगर टोल विकास समाजले शनिबार आयोजना गरेको नवनिर्वाचित प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यलाई बधाई, शुभकामना तथा चियापान कार्यक्रममा अध्यक्ष नेपालले देशले एकता र सहमति खोजिरहेको धारणा राख्नुभयो । चुनावमा गरेका प्रतिबद्धता पूरा गर्न जनतासँग जोडिएर अगाडि बढ्नुपर्नेमा जोड दिँदै अध्यक्ष नेपालले जनताको आवाज सुन्ने, उनीहरूको पीडालाई सम्बोधन गर्ने, जनताको असीमिति चाहना, इच्छा र माग पूरा गर्न तथा अत्यावश्यक चाहनालाई पूरा गर्ने काममा लाग्नुपर्नेमा जोड दिनुभयो । जनताले मन पराएका छैनन् भने नेताहरूले फकाउन सक्नुपर्ने उल्लेख गर्दै अध्यक्ष नेपालले जनतालाई फकाउन, मिलाउन र साथमा लिएर समस्या समाधानमा लाग्नुपर्ने बताउनुभयो ।







देशका अधिकांश जिल्लामा वर्षा, सतर्कता