मुलुकलाई अस्थिरताबाट जोगाउन सरकार निर्माणमा अग्रसर हुन एमालेलाई कर्मचारी संगठनको आग्रह

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 6 mins

बुटवल । नेपाल निजामती कर्मचारी संगठनले एमालेले सरकार नबनाए मुलुकमा थप अस्थिरता निम्तिने चेतावनी दिएको छ । संघीय संसदमा दोस्रो ठूलो दल बनेपनि सरकार निर्माणका लागि अग्रसर हुन संगठनले एमालेलाई सुझाव दिएको छ ।

संगठनका केन्द्रीय अध्यक्ष लेखनाथ कोइरालाले शुक्रबार बुटवलमा आयोजित कार्यक्रममा मुलुकलाई आर्थिकरुपले टाट पल्टिनबाट जोगाउन र थप अस्थिरता हुन नदिन एमालेले नेतृत्वको लागि पहलकदमी लिनुपर्ने बताउनु भयो । 'कतिपय नेताले निर्वाचनको जनादेशका आधारमा एमाले प्रतिपक्षीको भूमिकामा बस्ने भनेर पनि तर्क गरेका छन्, त्यसो हो भने अहिलेको सरकारको नेतृत्व ९३ जना सांसद भएको दललाई प्रतिपक्षमा राखेर ६३ जना सांसद भएको दलले किन गर्‍यो ?,'काँग्रेसप्रति लक्षित गर्दै उहाँले भन्नुभयो, 'बहुमत कसैको नआएकाले दोस्रो ठूलो दलको हैसियतले अन्य राजनीतिक दललाई पनि सहमतिमा ल्याएर एमालेले सरकारको नेतृत्व गर्नुपर्छ ।'

रुपन्देहीबाट प्रतिनिधिसभा र प्रदेशसभामा निर्वाचित सांसदहरुको सम्मानमा आयोजित बधाई तथा शुभकामना कार्यक्रममा अध्यक्ष कोइरालाले एमाले र माओवादी एकीकरण भई बनेको नेकपा फुट्दा र पछिल्लो समय एमालेबाट फुटेर बनेको एकीकृत समाजवादीका कारण पनि निर्वाचनमा ठूलो मूल्य चुकाउनुपरेको भन्दै फेरि एकताको लागि पहल गर्न आग्रह गर्नुभयो ।

एकताका लागि एमाले, माओवादी, समाजवादी सबैले मेरो गोरुको बाह्रै टक्का नभनी सहमतिको बिन्दु पहिल्याउनुपर्ने उहाँको जोड छ । “मेरो गोरुको बाह्रै टक्का भनेर एकता हुँदैन, सहमतिको मिलनबिन्दु खोज्नुहोस् र एकता गरी सरकार निर्माण गरेर मुलुकलाई स्थिरता दिनुहोस्,ु  उहाँले भन्नुभयो ।

उहाँले आफूले एमाले अध्यक्ष केपी शर्मा ओलीसँग पनि भेट गरी एकताको लागि पहलकदमी लिन आग्रह  गरेको पनि बताउनु भयो । उहाँले फुटको सामान्य असर कर्मचारी संगठनमा पनि परेको भन्दै आ–आफ्नो हठ र जिद्धी छाडेर अघि बढ्ने हो भने एकता फेरि पनि सम्भव रहेको जिकिर गर्नुभयो । 'मुलुकलाई विकास र स्थिरताको बाटोमा डोर्‍याउनका लागि पनि अव बामपन्थी शक्ति मिल्नुपर्छ,' उहाँले भन्नुभयो ।

ADVERTISEMENT

अध्यक्ष कोइरालाले संघीय संसदले पाँच वर्षे कार्यकाल पूरा गर्दा पनि एउट संघीय निजामती ऐन ल्याउन नसकेको भन्दै अवको संसदले छिटै ऐन ल्याउने विश्वास व्यक्त गर्नुभयो । 'संघीय संसदले पाँच वर्षे कार्यकाल व्यतित गर्‍यो, तर एउटा संघीय निजामती ऐन ल्याउन सकेन, प्रदेश संसदहरुले पनि ऐन ल्याउन सकेनन्,' उहाँले भन्नुभयो, 'कर्मचारीहरुको एउटै माग छ, संघीय र प्रदेश निजामती ऐन तत्काल ल्याइयोस् र कर्मचारीहरुको वृत्ति विकासमा देखिएका विद्यमान समस्या हल गरियोस् ।'

त्यस अवसरमा एमाले पोलिटब्यूरो सदस्य तथा प्रदेशसभा सदस्य लिला गिरीले विगतका कामहरुको समीक्षा गर्दै र कमीकमजोरी सुधार गर्दै आगामी कार्यभार पूरा गर्नेतर्फ सबै लाग्नुपर्ने बताउनु भयो । उहाँले प्रदेशको राजधानी रातारात सार्नु गलत भएको भन्दै पूर्वाधार निर्माण भएपछि मात्र राजधानी लैजाने कुरामा आफूहरुको विमती नरहेको बताउनु भयो ।

एमाले केन्द्रीय सदस्य प्रदेशसभा सदस्य भूमिश्वर ढकालले निर्वाचनको दौरानमा कर्मचारीले खेलेको भूमिकाको प्रशंसा गर्दै आगामी दिनमा पनि पार्टी, सरकार र कर्मचारीबीचको समन्वयबाट धेरै काम गर्न सकिने बताउनु भयो ।

प्रतिनिधिसभा सदस्य वासुदेव घिमिरेले सुशासन कायम गर्ने कुरामा कर्मचारीहरुको भूमिका महत्वपूर्ण हुने भन्दै अव हरेक कार्यालय भ्रष्टाचारको अखडा होइन, सुशासनको अखडाका रुपमा चिनाउने गरी काम गर्न कर्मचारीहरुलाई आग्रह गर्नुभयो ।

कार्यक्रममा संगठनका केन्द्रीय सदस्य एवं रुपन्देही इन्चार्ज नारायणप्रसाद भण्डारी, रुपन्देही अध्यक्ष प्रेम खनाल, उपाध्यक्ष थानेश्वर घिमिरे, सचिव जीवन पौडेललगायतले पनि मन्तव्य व्यक्त गर्नुभएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *