विराटनगर । उद्योग संगठन मोरङले ‘विराट एक्स्पो २०७९ कृषि तथा औद्योगिक अन्तर्राष्ट्रिय प्रदर्शनी’ आयोजना गर्ने भएको छ । प्रदर्शनी विराटनगर महानगरपालिका १४ स्थित डिग्री क्याम्पसको प्रांगण पुरानो हवाई फिल्डमा मंसिर २९ देखि आगामी पुस ६ गतेसम्म हुने आयोजकले आइतबार पत्रकार सम्मेलन गरी जानकारी गराएको हो । संगठनले सबैभन्दा पहिलो एक्स्पोको आयोजना ‘कोशी महोत्सव’ का नामबाट २०५३ सालमा आयोजना गरेको थियो ।
उत्पादक र उपभोक्ताबीच व्यावसायिक अनुभव प्रत्यक्ष आदान-प्रदान, उद्यमी-व्यवसायीलाई व्यावसायिक सम्बन्ध विकास र नयाँ प्रविधिको पहिचानका साथै कृषि-उत्पादनको व्यवसायीकरण गर्ने उद्देश्यका साथ एक्स्पो आयोजना गर्न लागिएको आयोजकले जनाएको छ । एक्स्पोकै अवसरमा आर्थिक एवं औद्योगिक क्षेत्रका विषयगत मुद्दामा नीतिगत छलफलका लागि दैनिकरूपमा फरक-फरक विषयमा प्राविधिक सत्र, अन्तरक्रिया तथा सेमिनार पनि सञ्चालन हुने बताइएको छ ।
एक्स्पोमा प्रदेश १ मा लगानीका सम्भावित क्षेत्रको लगानी पेभिलियन, नवउद्यमीको उद्यमशीलता विकास गर्न स्टार्टअप पेभिलियन, श्रम-रोजगार र सीप फाँटका लागि छुट्टै पेभिलियन तथा पर्यटन क्षेत्रलाई पनि छुट्टै पेभिलियनको व्यवस्थापन गरिएको छ भने तीन सय ६१ स्टल रहने बताइएको छ । ७५ स्टल (प्रदेश सरकार कृषि मन्त्रालयद्वारा प्रवद्र्धित २० वटा स्टल) र नेपाल घरेलु तथा साना उद्योग महासंघ प्रदेश १ द्वारा प्रवद्र्धित १० वटा स्टलसमेत रहने आयोजकले जनाएको छ ।
नेपालका प्रमुख तथा चर्चित औद्योगिक ब्राण्ड खुकुरी रम, म्याजिक फुटवेयर, सेन्चुरी स्पाइसेस एण्ड स्न्याक्स, डाबर, निम्बस, सिजीलगायत तीन सयभन्दा बढी औद्योगिक र कर्पोरेट क्षेत्रको सहभागिता रहने बताइएको छ । एक्स्पोमा भारत, पाकिस्तान र बंगलादेशको पनि सहभागिता रहनेछ ।






