रुपन्देहीमा सत्ता गठबन्धनको क्लिन स्विप, गृहमन्त्रीलाई बोहराले हराए

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 3 mins

भैरहवा । रुपन्देही ३ बाट राप्रपाका वरिष्ठ नेता दिपक बोहरा विजयी हुनु भएको छ । गृहमन्त्री बालकृष्ण खाँण सहित २२ जना उम्मेदवार रहेका यो क्षेत्रमा ३६ हजार सात सय १७ मत ल्याई बोहरा विजयी हुनुभयो। खाँणको हारसँगै रुपन्देहीमा सत्ता गठबन्धनको प्रतिनिधि सभामा क्लिन स्विप भएको छ ।

सत्ता गठबन्धन र राष्ट्रिय जनमुक्ति पार्टीको समर्थनमा उम्मेदवार बनेका कांग्रेसका खाँण ३४ हजार ३६ मत ल्याउनु भयो, एमाले, राप्रपा र जसपाको तालमेलबाट उम्मेदवारी दिनुभएका बोहरा दुई हजार ६ सय ८१ मतले विजयी बनेको मुख्य निर्वाचन अधिकृत कृष्णराम कोइरालाले जानकारी दिनुभयो ।

रुपन्देहीको पाँच क्षेत्रमध्ये सबै भन्दा ढिलो यसै क्षेत्रको मतगणना भएको छ । सबैको चासोको विषयमा रहेको यो क्षेत्रमा ९३ हजार ६ सय ६७ जनाले मतदान गरेका थिए ।

ADVERTISEMENT

३६ वटा वडा रहेको रुपन्देही ३ मा सुरुवाती चरणबाटै खाणले अग्रता कायम गरे पनि शुक्रबारदेखि उहाँ पछाडि पर्दै गइरहनुभएको थियो । ०७४ को चुनावमा कांग्रेससँगै तालमेल गरी उम्मेदवार बन्नुभएका बोहरा अहिले कांग्रेसकै उम्मेदवारलाई हराउनु भयो ।

यस्तै, प्रदेशसभा २ तर्फ १६ हजार ३ सय ९४ मतका साथ एमालेका तुलसी चौधरी विजयी हुनु भएको छ ।  । तीन दलीय तालमेलबाट उम्मेदवार बन्नुभएका चौधरी दुई सय एक मतान्तरले विजयी बन्नुभयो । उहाँलाई गठबन्धनका उम्मेदवार नेपाली कांग्रेसकै राम चन्द्र ढकालले पछाइरहनुभएको थियो, ढकालले १६ हजार एक सय ९३ मत ल्याउनु भयो। खसेको ४९ हजार पाँच  सय तीन मतमध्ये दुई  हजार १ सय ५२ मत बदर भएको थियो ।

१५ पदका लागि २ सय ३ जनाको उम्मेदवारी परेको रुपन्देहीको सबै क्षेत्रमा प्रत्यक्ष तर्फको मतगणना सकिएको छ । सत्ता गठबन्धनको तर्फबाट उम्मेदवार बनेका रुपन्देहीमा प्रतिनिधी सभामा कोही पनि निर्वाचित हुन सकेनन् । क्षेत्र नम्बर १ मा एमालेका छविलाल विश्वकर्मा, क्षेत्र नम्बर २ मा एमालेका विष्णु पौडेल, क्षेत्र नम्बर ३ मा राप्रपाका दिपक बोहरा, क्षेत्र नम्बर ४ मा लोकतान्त्रिक समाजवादीका सर्वेन्द्रनाथ शुक्ला र क्षेत्र नम्बर ५ बाट एमालेकै बासुदेव घिमिरे निर्वाचित हुनु भयो ।
-मोहम्मद हबिब

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *