उपल्लो डोल्पाका १२ मतदान केन्द्रमा हेलिकोप्टरमार्फत निर्वाचन सामग्रीसहित कर्मचारी ओसारिँदै

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 5 mins

सुर्खेत ।  मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचन हुन अब दुईदिन मात्र बाँकी छ ।  चुनाव हुन दुईदिन बाँकी रहँदा उपल्लो डोल्पाका विभिन्न मतदान केन्द्रमा निर्वाचन सामग्रीसहित कर्मचारी हेलिकोप्टरमार्फत बिहानैदेखि ओसार्न थालिएको छ । जिल्लाका ६८ वटा मतदान केन्द्र मध्य उपल्लो डोल्पाका विभिन्न १२ वटा मतदान केन्द्रमा हिमपात, चिसो लगायत भौगोलिक समस्याका कारण मतदान टोली हिँडेर जान सम्भव नभएकाले हेलिकोप्टरबाट पठाउन थालिएको मुख्य निर्वाचन अधिकृतको कार्यालय डोल्पाले जनाएको छ ।

४८ घण्टाभन्दा अगाडि मतदानका लागि कर्मचारी, मतपत्र लगायत निर्वाचनका बन्दोबस्तीका सामग्री मतदान केन्द्रमा पुगिसक्नु पर्नेमा हेलिकोप्टर समयमा नआएकाले ढुवानी गर्न ढिला भएको जनाइएको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालय डोल्पाले समयमा हेलिकप्टरको व्यवस्थाका लागि निर्वाचन आयोगमा आग्रह गरेको भए पनि प्राविधिक कारणले केही ढिला भएको जनाएको छ ।

सदरमुकाम दुनैदेखि पैदलमार्ग मार्फत एक सातासम्म लाग्ने उपल्लो डोल्पाका शे-फोक्सुण्डो गाउँपालिकाको आटवटा मतदान केन्द्र, डोल्पोबुद्ध गाउँपालिकाको तीनवटा मतदान केन्द्र र छार्काताङसोङ गाउँपालिकाको एकवटा मतदान केन्द्र गरी जम्मा  १२ वटा मतदान केन्द्रमा निर्वाचनका लागि मतदान टोली र निर्वाचन सामग्री नेपाली सेनाको दुईवटा ठूला हेलिकोप्टरबाट पठाउन थालिएको मुख्य निर्वाचन अधिकृत बाबुराम सुवेदीले जानकारी दिनुभयाे ।

उहाँका अनुसार मतदान सकिएपछि पनि मतपेटिका, मतदानमा खटिएका कर्मचारी टोली र सुरक्षाकर्मीसमेत हेलिकप्टरबाटै सदरमुकाम दुनै ल्याइने व्यवस्था मिलाउन निर्वाचन आयोगसँग आग्रह गरिएको छ । भौगोलिक विकटता र भारी हिमपातका कारण निर्वाचनको पूर्व तयारी गर्न समस्या  देखिएपछि हेलिकप्टरको प्रयोग गरिएको मुख्य निर्वाचन अधिकृतको कार्यालय डोल्पाले जनाएको छ ।

ADVERTISEMENT

उपल्लो क्षेत्रमा पर्ने २२ ओटा मतदान केन्द्रको लागि हेलिकप्टरको माग गरिए पनि निर्वाचन आयोगले संवेदनशीलताको हिसाबमा १२ मतदान केन्द्रको लागि मात्र हेलिकप्टरको व्यवस्थापन गरेको मुख्य निर्वाचन अधिकृत सुवेदीले बताउनुभयाे ।

बिहीबार शे-फोक्सुण्डोको वडा नं ३ साल्दाङ मतदान केन्द्रमा र छार्काको एउटा मतदान केन्द्रमा दुई फ्लाइट हेलिकप्टरबाट निर्वाचन सामग्री र मतदानका लागि आवश्यक कर्मचारी पठाईएको थियो भने शुक्रबार बिहानैदेखि दुईवटा हेलिकोप्टरबाट निर्वाचन सामग्री र मतदानका लागि निर्वाचन टोली पठाउन सुरु गरिएको र सकेसम्म शुक्रबार नै बाँकी १० वटै मतदान केन्द्रमा आवश्यक सामग्री र मतदान टोली पठाइसक्ने जिल्ला निर्वाचन कार्यालय डोल्पाले जनाएको छ ।

डोल्पाका ८ स्थानीय तहमा ६६ वटा मतदान केन्द्र र २ वटा अस्थायी मतदान केन्द्रहरु रहेका छन् । जसमध्ये हावापानी चिसो भएर केही समयअघि वर्षापछि भएको हिमपातले १२ मतदान केन्द्रमा पुग्न कठिन भएकाले हेलिकोप्टर प्रयोग गर्नुपरेको जिल्ला निर्वाचन कार्यालय डोल्पाले जानकारी दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज