
डा. रामदेव पण्डित, (आयुर्वेद चिकित्सक)
काठमाडौं । नेपालमा कुनैबेला अधिकांशले सकेसम्म पहाडतिर भात र तराईतिर रोटी खाने गरेको पाइन्थ्यो। दैनिक साँझ बिहानै खाइने भात र रोटी नेपालीहरूको मूल खाना थियो। अहिले तराईतिर रोटी खानेहरूले पनि भात नै खान थालेका छन्। भात वा रोटी नेपालीहरूले बच्चैदेखि खाँदै आएकाले जबसम्म यी दुईमध्ये कुनै एक खाँदैनन् तब सम्म तृप्त भएको ठान्दैनन्। अरु जे जे खाए पनि तृप्तिका लागि भात वा रोटी नै खाने गर्दछन्।
अधिकांश नेपालीले मुख्य खानाका रूपमा भातलाई नै लिने गरेको पाइन्छ। पेटभरि भात नखाइ राम्रोसँग निन्द्रा नै लाग्दैन भन्नेहरू पनि थुप्रै छन्। घरबाहिर कतै घुमफिर गर्न जाँदा पनि मुख्य खानामा भात खाएरै रमाउँछन्। भात विना एक-दुई दिन बस्न पनि मुस्किल हुन्छ भने झैं गर्छन्।
सामान्यतस् भात भन्दा रोटी खान आम रूपमा निःशुल्क सुझाव दिने लिने गरेको पाइन्छ। के यो सही सल्लाह हो ? भात छोडेर रोटी खान सुरु गर्नु बुद्धिमानी हो तरु वास्तवमा भात र रोटी दुवैमा उस्ता उस्तै मात्रामा कार्बोहाईड्रेट पाइन्छ। कार्बोहाईड्रेटको मात्राको आधारमा मात्र भात भन्दा रोटी उत्तम भन्नु सही होइन। दुवै अन्न हुन्। क्यालोरीको हिसाबले रोटी भन्दा भातमा अलि बढी क्यालोरी पाइन्छ।
भातमा स्टार्च (सिम्पल कार्बोहाईड्रेट) हुन्छ जुन छिट्टै पच्छ र फेरि छिट्टै भोक लाग्छ। रोटीमा प्रोटिन र फाइबरको मात्रा बढी हुन्छ जसले गर्दा पच्न समय लाग्छ। भोक पनि ढिलो लाग्छ। पोष्कतत्वको मात्रालाई तुलना गरी भन्नु पर्दा भात भन्दा रोटी उत्तम मान्नुपर्छ तर यहाँ ध्यान दिनुपर्ने कुरा भनेको यी दुवैमा हुने सोडियमको मात्रा हो। प्रत्येक १२० ग्राम गहुँमा ८० मि.ग्रा. सोडियम हुन्छ। सोडियम खान नहुने अवस्थामा रहेकाहरूका (जस्तै उच्च रक्तचापका रोगी) लागि रोटी सही छनोट हुन सक्दैन।
रोटीमा क्याल्सियम, पोटासियम, आइरन, फस्फोरस आदि पनि रहेको हुन्छ। भातमा क्याल्सिम हुँदैन। साथै भातले शरीरमा गएर पोटासियम र फस्फोरसको तहलाई घटाउँछ। पच्न समय लाग्ने भएकाले रोटीले रगतमा लामो समयसम्म सुगरको मात्रा सन्तुलित बनाइ रहन्छ।
भात भन्दा रोटीमा धेरै पोषक तत्व हुन्छ भनेर मात्र हुँदैन। चामल र गहुँको गुणस्तर पनि हेरिनुपर्छ। सन् २०१८ र २०१९ मा नेशनल राईस रिसर्च इन्स्टिच्युट र इन्डियन ह्विट एण्ड बार्ली रिसर्च इन्स्टिच्युटले १६ प्रजातिको चामल र १८ प्रजातिको गहुँका सम्बन्धमा गरेको अध्ययन अनुसार ५० वर्ष अगाडिका चामल वा गहुँभन्दा हिजोआज उत्पादन हुने चामलमा जिङ्क २३.९८ प्रतिशतले र आईरन १६।७ प्रतिशलते कम पाइन्छ। त्यस्तै गहुँमा जिङ्कको मात्रा २९।४२ प्रतिशतले र आईरनको मात्रा १९.२७ प्रतिशतले कम पाइन्छ।
भात अस्वस्थकर कुरा कदापि होइन तर सही तरिकाले मात्रा मिलाएर खान सके हितकर एवं स्वस्थकर बनाउन सकिन्छ। सही तरिकाले पकाएर भात खान सिके त्यो अस्वस्थकर नभई स्वस्थकर एवं स्वादिलो पनि हुन्छ।
खासमा बिरामीहरूका लागि आयुर्वेदमा भात पकाउने विभिन्न तरिका निर्देश भएको पाइन्छ जसलाई स्वस्थकर व्यक्तिहरूले खान नमिल्ने भन्ने होइन। भात नभई नहुने व्यक्तिहरूका लागि भात पकाउने यो आयुर्वेदीय विधि निकै रोचक हुनसक्छ। आयुर्वेदिक विधिबाट पाक्ने भात शरीर र मन दुवैको लागि सुखद हुन्छ, सन्तुष्टि दिन्छ। त्यसरी पाकेको भातमा वा भातसँग आवश्यक स्वाद अनुसार मसला, दाल एवं सब्जीहरू मिसाएर खान सके पाचनक्रिया गतीशील र तन्दुरुस्त हुन्छ। त्यस्तो भातको परिकार थोरै खाए पनि पेट भरिन्छ र शरीरलाई आवश्यक ऊर्जा पनि आपूर्ति हुन्छ। शरीरलाई सम्यक पोषण पनि प्राप्त हुन्छ। ती विधि एवं परिकारहरूले कुनै प्रकारको हानी नोक्सानी पनि गर्दैन।
१. माण्डः १४ भाग पानी र १ भाग मात्र चामल राखी बनेको भातबाट सिता छानेर बचेको तरल पदार्थलाई माड भनिन्छ। यसलाई भातको सट्टामा आवश्यकता अनुसार मर मसला राखेर सब्जीहरूसँग खान सकिन्छ।
२. पेयः १४ भाग पानी र एक भाग चामल राखेर पकाउनु पेय हो। यसलाई पनि भातको सट्टामा मर मसला राखेर सब्जीहरुसँग खान सकिन्छ।
३. यवागुः ६ भाग पानी र १ भाग चामल राखेर पाक्ने परिकारलाई यवागु भनिन्छ। यसलाई भातको सट्टामा आवश्यक मर मसला राखेर सब्जीहरुसँग खान सकिन्छ।
४. विलेपीः ४ भाग पानी र १ भाग चामल राखी पाक्ने परिकार विलेपी हो। यसलाई खिचडी पनि भन्न सकिन्छ। यसलाई भातको सट्टामा मर मसला राखेर सब्जीहरूसँग खान सकिन्छ।
५. ओदनः २ भाग पानी र १ भाग चामल राखेर बनाइने परिकारलाई ओदन भनिन्छ। यसलाई पनि मर मसला राखेर सब्जीहरूसँग खान सकिन्छ।
हाम्रो परम्परागत रोटी पकाउने विधिलाई बदल्न सके रोटी खान मन नपराउनेले पनि रोटी मन पराउन थाल्छन्। ती विधिहरूलाई दैनिक जीवनमा अपनाउन सके रोटी खाई खाई वाक्क भएकाहरूले पनि रमाइलो मानी रोटी खान सक्छन्।
रोटी बनाउन विभिन्न थरिका पिठो प्रयोग हुने गरेको छ। गहुँको पिठो (चोक्कर सहित), मैदा (चोक्कर रहित), चामलको पिठो, बेसन (चनाको दालको पिठो), मकैको पिठो, जौको पिठो, कोदोको पिठो, फापरको पिठो, आदि। सबै खालका पिठोको आ–आफ्नै विशेषता छ। यी सबै फरक फरक पिठोमा पोषक तत्वहरू पनि फरक फरक प्रकारको मात्र नभएर ती तत्वहरूको मात्रा पनि फरक हुन्छ। रोटीलाई फुल्का, चपाती आदि नामले पनि सम्बोधन गरिन्छ।
रोटीका लागि वेसनको पिठोलाई सबै भन्दा उत्तम मान्न सकिन्छ। वेसनमा बोसो एवं कार्बोहाईड्रेटको मात्रा अति नै कम हुन्छ। भिटामिन एवं मिनरल्स प्रचुर मात्रामा पाइन्छन्। वेसनमा फाइबर पनि हुन्छ। वेसनको रोटीले शरीरको कफ एवं पित्तलाई सन्तुलित बनाउँछ।
१०० ग्राम वेसनमा ३५० किलो क्यालोरी ऊर्जा, प्रोटिन २३.३३ ग्राम, फैट ३.३३ ग्राम, कार्बोहाईड्रेट ५६.६७ ग्राम, फाइबर ६.७ ग्राम, आइरन ४.५ मि.ग्रा., सोडियम १७ मि.ग्रा., आदि अन्य धेरै पोषक तत्वहरू रहेका हुन्छन्। वेसनमा कोलेस्ट्रोल शून्य मात्रामा हुन्छ अतस् यो हृदयको स्वास्थको लागि पनि हितकर हुन्छ।
पिठोहरू मध्ये मैदाको पिठोको रोटी सर्वथा अस्वस्थकर हुन्छ। चोक्करसहितको पिठो मैदा जस्तो अस्वस्थकर भने हुँदैन। अरु खाले पिठोको रोटी कहिलेकाहीँ खाँदा शरीरमा नपुगेको तत्वहरूको आपूर्ति पनि हुन्छ साथै स्वाद पनि फेरिन्छ, परिकारको विविधताले खानपिन रमाइलो बन्छ। रोटी कै अर्को परिकार पराठा तेल राखेर बनाइने हुँदा त्यो त्यति स्वस्थकर हुँदैन। पराठा भन्दा सादा रोटी नै बढी स्वस्थकर हुन्छ।
भात वा रोटीसँग खाइने खानेकुराहरूले पनि त्यसलाई स्वस्थकर वा अस्वस्थकर बनाउने गर्दछ। भात वा रोटी कस्तो खाले चामल वा पिठोले बनेको हो ? बनाउने प्रक्रिया कस्तो हो ? त्यसमा केही मिसाइएको छ कि ? त्यसलाई केसँग खाइयो ? खाँदा चपाइचपाइ खाइएको हो कि होइन ? खाने बेलामा व्यक्तिमा भोक कत्तिको थियो ? व्यक्तिमा कुनै रोग पो लागेको थियो कि ? कति मात्रामा खाइएको हो ? आदि धेरै कुराहरूले प्रभाव पार्ने हुन्छ।
निष्कर्षमा भन्नु पर्दा भात वा रोटीको आ–आफ्नै गुण एवं दोष छन् तर तुलनात्मक रूपमा रोटी भात भन्दा धेरै दृष्टिकोणले स्वस्थकर देखिन्छ।
श्रोत : आइएनएस-स्वतन्त्र समाचार







This is breaking news.
Video News Post
Breaking News with Advertisements
Breaking news with related posts