झापा । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली यति बेला गृह जिल्ला झापामा हुनुहुन्छ ।
आफ्नो निर्वाचन क्षेत्र झापा ५ लगायतका चुनावी सभामा सम्बोधन गर्न गृह जिल्ला पुग्नु भएको ओलीले आज झापा क्षेत्र नम्बर १ इँटाभट्टामा आयोजित चुनावी सभालाई सम्बोधन गर्नुभयो ।
सभालाई सम्बोधन गर्दै ओलीले गठबन्धन सरकारको आलोचना गर्नुभयो । मिलेर भाग खान गठबन्धन गरेको भन्दै राष्ट्रियताको कुरा सुन्नै नसक्ने गठबन्धनका उम्मेदवारलाई नभई एमालेलाई जिताउनुपर्ने उहाँको भनाइ थियो ।
एमालेसँग देश बचाउने र बनाउने भिजन रहेको उहाँले दाबी गर्नुभयो। ओलीले विश्वप्रकाश र अग्नि खरेल होइन, विकास कि विनाशबीचको लडाइँ भएको उल्लेख गर्नुभयो । उहाँले जनताले यो निर्वाचनमा गल्ती नगर्ने समेत विश्वास व्यक्त गर्नुभयो ।
ओली एमालेले कार्यकर्ता खपत गर्नकै लागि झापा १ मा अग्नि खरेललाई नपठाएको बताउनु भयो । नीति निर्माण र सरकार चलाउन सक्छन् भनेर खरेललाई पठाएको ओलीको भनाइ थियो ।
खरेललाई अर्को क्षेत्रबाट आएको आगन्तुक उम्मेदवार भन्नेहरुलाई ओलीले भन्नुभयो, ‘एउटा छाप्रा हालेकै भरमा स्थानीय भन्ने हो भने खरेलको पनि यो क्षेत्रमा एउटा छाप्रा हालदिउँला,’ उहाँले भन्नुभयो, ‘एमाले जतिको पार्टीले एउटा छाप्रा हाल्न नसक्ने कुरै भएन ।’
साथै ओलीले सिंगो एमाले लागेर राप्रपाका उम्मेदवार जिताउने समेत बताउनु भयो । राप्रपा गठबन्धनमा नगएर आफूतिर आएकाले त्यो पार्टीका उम्मेदवारलाई एमालेले जिताउने उहाँको भनाइ थियो ।






