वैदेशिक रोजगारीमा नेपाली युवाशक्ति

Read Time = 16 mins

✍️ के.बी. बस्नेत
नेपालमा विद्यमान कूल युवा (१६ देखि ४० वर्ष) मध्ये ७१ प्रतिशत साक्षर छन् । त्यसमध्ये पनि १६ देखि २५ वर्ष उमेर समूहका ८२ प्रतिशत युवा साक्षर छन् । यी तथ्यांकहरूले पछिल्ला वर्षमा शिक्षित युवाहरूको संख्या बढेको देखाए पनि उनीहरूमध्ये धेरैले स्वदेशमा रोजगारीका अवसर प्राप्त गर्न सकेका छैनन् । एक आधिकारिक तथ्यांक अनुसार यहाँ भएको कूल ४० प्रतिशतभन्दा बढी युवा जनसंख्यामध्ये २.३ प्रतिशत पूर्णरूपमा बेरोजगार छन् भने २८.३ प्रतिशत अर्धबेरोजगार छन् । यसैगरी स्नातक युवाहरूमध्ये २६.१ प्रतिशत अर्धबेरोजगार छन् । यहाँ विद्यमान बढ्दो बेरोजगारका कारण यहाँका युवाहरू वैदेशिक रोजगारीमा जान विवश छन् ।

युवा परिषद्ले सार्वजनिक गरेको एक प्रतिवेदन अनुसार वैदेशिक रोजगारीमा जाने युवाहरूमध्ये २ प्रतिशत मात्र दक्ष हुन्छन् । यसैगरी अर्धदक्ष युवाहरू २४ प्रतिशत र अदक्ष युवाहरू ७४ प्रतिशत हुन्छन् । त्यसैले वैदेशिक रोजगारीबाट राष्ट्रले अपेक्षा गरेनुरूप फाइदा हुन सकेको छैन । कुनै पनि राष्ट्रमा युवाशक्तिलाई एक बलियो एवं भरपर्दाे खम्बाको रूपमा अंगीकार गरिन्छ । वास्तवमा यस्तो शक्तिबाट नै जुनसुकै राष्ट्रले आफ्नो लक्षित उद्देश्य हासिल गर्न सक्छ । यो कुरा विकसित राष्ट्रहरूको अनुभवबाट प्रष्ट हुन्छ ।

वास्तवमा जुनसुकै देशको सामाजिक तथा आर्थिक चुनौतीलाई त्यहाँका युवाहरूले सामना गर्न सक्छन् । उनीहरूको वास्तविक सहभागितामा नै मुलुकको सर्वांगीण विकास हुन सक्छ । तर, हाम्रो देशमा युवाहरूलाई सही परिचालन गर्न नसकेकाले उनीहरूबाट आजसम्म ठोस योगदान प्राप्त हुन सकेको छैन ।

कुनै पनि राष्ट्रका युवाहरू त्यस देशका भाग्यका प्रतीक र आदर्श व्यक्ति मानिन्छन् किनभने उनीहरूको बुद्धि, विवेक, सद्विचार र सहभागिता विना कुनै क्षेत्रको विकास सम्भव छैन र राष्ट्रिय आकांक्षा पूर्ति गर्न सकिँदैन । यसर्थ युवाहरू आफ्ना अधिकारप्रति जागरुक कर्तव्यनिष्ठ र चेतनशील भएर विकास मार्गमा सक्रिय रूपमा सहभागी भएमा कुनै पनि देशले चाहेको शान्ति, विकास र सहभागिताको आदर्शलाई व्यवहारमा परिणत गर्न सकिन्छ । युवा जागरण र सक्रियताको परिचायक यिनै राष्ट्रिय हितका कार्यक्रममा आधारित हुन्छ । परन्तु यो धु्रवसत्य धेरै देशका सम्बन्धित क्षेत्रका व्यक्तिहरूले राम्ररी बुझ्न सकेका छैनन् ।

वास्तवमा जुनसुकै देशको सामाजिक तथा आर्थिक चुनौतीहरूलाई त्यहाँका युवाहरूले सामना गर्न सक्छन् । उनीहरूको वास्तविक सहभागितामै मुलुकको सर्वांगीण विकास हुन सक्छ । तर, हाम्रो देशमा युवाहरूलाई सही परिचालन गर्न नसकेकोले उनीहरूबाट आजसम्म पनि ठोस योगदान हुन सकेको छैन । वर्तमान समयमा यहाँ शैक्षिक बेरोजगारी दिनप्रतिदिन बढ्दो क्रममा छ । एकातर्फ यहाँ प्रत्येक वर्ष अन्दाजी चार लाख युवाहरूलाई आआफ्ना दक्षताअनुरूप रोजगारीको आवश्यकता छ भने अर्काेतर्फ सरकारी क्षेत्रमा रोजगारीका अवसरहरू न्यून छन् । यतिमात्र होइन, निजी क्षेत्रमा पनि रोजगारी सिर्जना गर्ने खास सम्भावना देखिँदैन । त्यसैले यहाँ रोजगारीका लागि विदेश जाने युवाहरूको संख्या बढ्नु स्वाभाविक हो ।

वस्तुतः स्वदेशमा रोजगारी पाउन नसकेका युवाहरूका लागि वैदेशिक रोजगारी एक अवसर भएको छ किनभने एकातिर उनीहरूले काम पाएका छन् भने अर्काेतिर उनीहरूले थोर बहुत धन आर्जन गरेर घरखर्च पनि जुटाएका छन् । बेरोजगारीको पीडाबाट पर्न सक्ने मानसिक तनावबाट मुक्ति प्राप्त भए वैदेशिक रोजगारीले केही राहत दिएको मान्नुपर्छ । परन्तु यसमा केही विकृति र विसंगति छन् ।

वैदेशिक रोजगारीमा गएका धेरै नेपालीले अत्यन्त दुःख तथा अमानवीय व्यवहार सहनुपरेको छ । एकातिर उनीहरूले विदेशमा गएर जटिल काम गर्नुपरेको छ भने अर्काेतिर अपांग एवं ज्यानसमेत गुमाउनु परेको छ । यतिमात्र होइन, धेरैजसो नेपाली युवतीहरू विदेशमा गई यौन शोषणको सिकार भएका छन् भने कतिपयको लाश आजसम्म पनि बेपत्ता भएका छन् । यस सम्बन्धमा नेपाल सरकारले खासै चासो लिएको देखिँदैन र विदेशमा जाने नेपाली युवायुवतीहरूले यस किसिमका समस्या धेरै वर्ष अघिदेखि सामना गरिरहेका छन् । यही तीतो यथार्थको कारण वैदेशिक रोजगारी एक अभिशापको रूपमा पनि हेरिन्छ ।

सरकारले व्यवस्थित तबरबाट एउटा मापदण्डअन्तर्गत आफ्नो नागरिकलाई सुरक्षित र सरल ढंगबाट विदेश पठाउन नसकेको अवस्थामा पनि वैदेशिक रोजगारीमा गएका लाखौँ नेपालीहरूले आफ्नो आम्दानी विभिन्न माध्यमद्वारा नेपाल भित्र्याई विगत केही दशक अघिदेखि ठूलो गुन लगाइरहेका छन् । तर पनि नेपाल सरकारले उनीहरूको गुन राम्ररी तिर्न सकेको छैन ।

हालसम्म विदेशमा चाहिने जनशक्ति अनुरूप दक्ष कामदारको उत्पादनतर्फ सम्बन्धित पक्षको यथोचित ध्यान जान सकेको छैन । अदक्ष व्यक्तिहरू विदेशमा पठाएर न त प्रचुर आम्दानी गर्न सकिन्छ न त नेपालको इज्जत विदेशमा रहन्छ । त्यसैले विदेशमा नेपाली स्वाभिमान बढाउन र राष्ट्रिय आम्दानी अभिवृद्धि गर्न दक्ष जनशक्तिको उत्पादनमा विशेष जोड दिन आवश्यक छ । हुन त यस सम्बन्धमा यहाँ स्थापना गरिएका केही संस्थाले थोर बहुत प्राविधिक तालिम नदिएका होइनन् तर विदेशमा चाहिने जनशक्ति भने अझसम्म पनि आवश्यकता अनुरूप तयार गर्न सकेका छैनन् ।

ADVERTISEMENT

नेपालमा रोजगार प्रवद्र्धन गर्ने दायित्व सरकारको हो । तर यसलाई कार्यान्वयन गर्न एउटा स्वतन्त्र निकायले जति सक्षमताका साथ गर्न सक्छ, त्यति सरकारी निकायबाट नहुन सक्छ । एउटा स्वतन्त्र निकायको कामको श्रेय सरकारले खोस्नु भनेको यसले आफ्नो निजामती प्रशासनलाई बोझ थप्नु हो । जसले रोजगार प्रवद्र्धन जस्तो चुनौतीपूर्ण एवं प्रतिस्पर्धी हुँदै गएको क्षेत्रलाई न्याय गर्न नसक्ने हुन्छ ।

हाल नेपालका लागि वैदेशिक रोजगारी एक बाध्यता भएको छ तर आगामी दिनमा स्वदेशी श्रम तथा सीपलाई विदेशमा बिक्री गर्न जोड दिनु हुँदैन । विदेशमा मात्र रोजगारी पाउन सकिन्छ भन्ने मानसिकता यहाँका युवायुवतीहरूमा आउन दिन हुँदैन । यसका लागि सरकारले स्वदेशमा नै रोजगारी प्रवद्र्धन गर्ने खालका नीति तथा कार्यक्रमहरूको तर्जुमा गरी व्यवहारमा उतार्न नितान्त आवश्यक छ ।

सरकारले जतिसुकै समृद्धिको डम्फु फुके पनि रोजगारीका लागि विदेश जाने युवाहरूको संख्या कम छैन र युवाहरूका लागि स्वरोजगार कार्यक्रम ल्याएर ग्रामीण विकासका लागि अहिलेसम्म भरपर्दो कार्यक्रम ल्याउन सकिएको छैन । त्यसैले आज धेरजसो ग्रामीण क्षेत्र शून्य छ । आज नेपाल तेस्रो देशमा श्रम बेच्ने देश भएको छ । वैदेशिक रोजगारका लागि विदेश जाने युवाहरूको लर्काे हेर्दा यो देश चाँडै नै युवाविहीन हुनेछ । वर्तमान सरकार युवाहरूलाई स्वदेशमा रोजगारी दिनुको सट्टा जसरी भए पनि विदेशमा पठाउन चाहन्छ किनभने युवाहरू यहाँ बसे भने देश दोहन गर्न सिपालु नेताहरूलाई असहज हुनेछ ।

नेपालले जापान, इजरायल, संयुक्त अरब इमिरेट्स, बहराइन, जोर्डन र कतार गरी सातवटा मुलुकसँग मात्र श्रम सम्झौता गरेको भए पनि कामको खोजीमा डेढ सयभन्दा बढी देशहरूमा नेपाली युवाहरू पुगेका सरोकारवालाको अनुमान छ । आथिक वर्ष २०७६/०७७ को पहिलो चौमासिक अर्थात् साउन, भदौ, असोज र कात्तिकमा गरी एक लाख ४१ हजार एक सय ५७ जना युवाहरू कामका लागि विदेश जानका लागि श्रम स्वीकृति लिन म्यानपावर कम्पनी तथा व्यक्तिगत श्रम स्वीकृति लिने युवाहरू गरी पहिलो चौमासिकमा झण्डै डेढ लाख युवाहरूले श्रम स्वीकृति लिएका छन् ।

आज लाखौं खर्च गरी ज्यानको बाजी थापी वैदेशिक रोजगारीमा जाने नेपाली युवा कम छैनन् । सरकारको असक्षमताले गर्दा यहाँका लाखौं युवाहरू कोरोनाको महामारीपछि फेरि पनि पीडादायी वैदेशिक यात्रा गर्न बाध्य छन् । त्यसैले यस सम्बन्धमा सम्बन्धित पक्षले यथाशीघ्र ध्यान दिन आवश्यक छ ।

यसरी विद्यमान युवाशक्तिको विदेश पलायनबाट यहाँको सर्वतोमुखी विकासमा नकारात्मक प्रभाव पर्नेछ । त्यसैले यस सम्बन्धमा सम्बन्धित व्यक्ति तथा संस्थाहरूको ध्यान जान आवश्यक छ । वस्तुतः दुःख बेरोजगारी र यससँग जोडिएर आउने गरिबी तथा अभावका कुराहरू हुन् । यसैलाई आधार मानेर आर्थिक तथा सामाजिक परिवर्तनको नाममा आउने नयाँ सत्ता पुरानोभन्दा फरक नदेख्दा सामाजिक-आर्थिक परिवर्तन भई जनताको वास्तविक सत्ता आउँछ भनी विभिन्न समयका रानीतिक आन्दोलनमा संलग्न व्यक्ति लज्जित छन् । वैदेशिक रोजगारीको क्रममा दर्दनाक दुःख तथा पीडा खपी स्वदेशमा घरेलु पेशामा रमाउने केही छन् । तर, कृषि, पशुपालन र साना तथा घरेलु उद्योगका सम्भावना हुँदाहुँदै पनि गरिबीका कारण परिवारलाई खुशी बनाउन विदेशिने युवाहरू धेरै छन् । स्वदेशमा रोजगारीका अवसरहरू नदेख्नु र वर्तमान सरकारप्रति कुनै विश्वास नभएकाले यस्तो भएको हो ।

आज लाखौं खर्च गरी ज्यानको बाजी थापी वैदेशिक रोजगारीमा जाने नेपाली युवाहरू कम छैनन् । सरकारको असक्षमताले गर्दा यहाँका लाखौं युवाहरू कोरोनाको महामारीपछि फेरि पनि पीडादायी वैदेशिक यात्रा गर्न बाध्य छन् । त्यसैले यस सम्बन्धमा सम्बन्धित पक्षले यथाशीघ्र ध्यान दिन आवश्यक छ । रोजगारी सिर्जना गर्न नसक्दा नेपालको अर्थतन्त्र संकटमा परेको छ । प्रत्येक वर्ष नेपाली बजारमा पाँच लाख युवा रोजगारीका लागि आउँछन् तर यसको एक-चौथाइले मात्र यहाँ रोजगारी पाउँछन् । त्यसैले यहाँका युवाले जोखिम मोलेर भए पनि वैदेशिक रोजगारीमा जानुपरेको छ ।

हाल रोजगारीका लागि यहाँका युवाहरू विश्वका एक सयभन्दा बढी देशमा गएका छन् । उनीहरूले आफ्ना पसिनाका कमाइ नेपाल पठाएकाले यहाँको अर्थतन्त्रमा चलायमान भएको छ । विगतमा कोभिड–१९ का कारण धेरै नेपाली युवाले वैदेशिक रोजगारी गुमाएर स्वदेश फर्किए तर विडम्बना त के छ भने तत्कालीन सरकारले आत्मनिर्भर अर्थतन्त्र बनाउने नाममा राजनीति ग¥यो । तत्पश्चात् स्वदेश फर्किएका नेपाली युवाहरू रोजगारीका लागि पुनः विदेशिए ।

वस्तुतः यहाँ औद्योगिक विकास गर्न सके रोजगारीका धेरै अवसरहरू सिर्जना गर्न सकिन्छ । परन्तु, यहाँ सरकारले नै अधिकतम उद्योगहरू सञ्चालन गर्नुपर्ने पूर्वसोभियतकालीन मानसिकता आजसम्म पनि विद्यमान भएकाले उक्त क्षेत्रको विकास गर्न सकिएको छैन । कुनै पनि देशको सर्वतोमुखी विकासका लागि त्यस देशमा विद्यमान युवाशक्तिको अधिकतम परिचालन गर्न सक्नुपर्छ । यसका लागि वैदेशिक रोजगारीलाई निरुत्साही गरी स्वदेशमा उद्योगमैत्री वातावरण सिर्जना गरी निजी क्षेत्रलाई विभिन्न सुविधा प्रदान गरी बढी आकर्षण गर्न सक्नुपर्छ । यस सम्बन्धमा सम्बन्धित पक्षको ध्यान यथाशीघ्र आकृष्ट हुनुपरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *