दुई सय बोरा रासायनिक मल शिलबन्दी

Read Time = 4 mins

सञ्जीवकुमार मिश्रा/हिटा
बारा । जिल्ला प्रशासन कार्यालय बारा र जिल्ला प्रहरी कार्यालय बाराको संयुक्त टोलीले कालोबजारी गरी अनुदानको मल बिक्रीको सूचनाका आधारमा दुई सय बोरा रासायनिक मल गोदाममै शिलबन्दी गरेको छ । महागढीमाई नगरपालिका-२ मैनीटोलका गगनदेवप्रसाद कुशवाहाले सरकारले तोकेभन्दा बढी मूल्यमा मल बिक्री गरेको भन्दै जिल्ला प्रशासन कार्यालयमा उजुरी दिनुभएको थियो । उहाँ सोमबार श्री कुश कृषि सहकारी संस्था भतौडाबाट अनुदानको मल किन्न कलैया उपमहानगरपालिका-२३ कोइरिया टोलनजिकै रहेको गोदाममा मल लिन जानुभएको थियो । तर, सहकारीका अध्यक्ष अरुण कुशवाहाले प्रतिबोरा दुई हजार दुई सय ५० रुपैयाँ मूल्यको डिएपी मलको तीन हजार तीन सय रुपैयाँ मागेको बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘मसँग त्यति पैसा छैन, बरु त्योभन्दा कम गरेर दिनुस् भन्दा अध्यक्षले मानेनन् । एकछिन वादविवाद पनि भयो । अनुदानको मल मूल्यभन्दा नौ सय रुपैयाँ बढी म दिन सक्दिनँ भन्दा कुशवाहाले उसो भए मल पाउनुहुन्न भने । केही समयको वादविवादपछि ‘तपाई राम्रो मान्छे हुनुहुन्छ, तपाईलाई दुई हजार आठ सय रुपैयाँसम्म दिन सक्छु भने ।’ आखिरमा केही नलागेपछि दुई हजार आठ सय रुपैयाँमा एक बोरा डिएपी मल लिएर गएँ । मल लिएर गएपछि सिधै जिल्ला प्रशासन कार्यालय बारामा गुनासो गरें । प्रशासनले तुरुन्तै कारबाही प्रक्रिया बढायो तर प्रहरी प्रशासन आउनुअघि नै मल बिक्री गर्नेहरू सटर बन्द गरेर अध्यक्ष कुसवाहा फरार भए ।’

ADVERTISEMENT

त्यसैगरी कलैया उपमहानगरपालिका-२३ का किसान जवाहर महतोले पनि सोही संस्थाबाट अनुदानको युरिया मल प्रतिकेजी ४५ रुपैयाँका दरले चार केजी मल किनेर खेतमा हालेको जानकारी दिनुभयो । सहकारी सञ्चालकले सरकारले तोकेभन्दा तीन गुणा बढी मूल्यमा मल बिक्री गर्दै आए पनि कारबाही नभएको उहाँको गुनासो छ । गोदाममा दुई सय सय बोरा मल रहेको सहकारी अध्यक्ष कुसवाहाले बताउनुभएको छ । कुल पाँचवटा सटर रहेकोमा तीनवटा सटरमा मात्र अनुदानको मल रहेको र दुई सय बोरा मलमध्ये एक सय ६५ बोरा डिएपी र १५ बोरा युरिया रहेको उहाँको भनाइ छ । अनुदानको मल युरिया प्रतिबोरा नौ सय ६० र डिएपी प्रतिबोरा दुई हजार चार सयमा बिक्री गर्दै आएको कुसवाहाको दाबी छ । कलैया उपमहानगरपालिका-२३ का वडाध्यक्षको सिफारिसमा अनुदानको मल ल्याएर बिक्री गर्दै आएको उहाँले बताउनुभयो ।

तर, गोदाममा के-कति मल रहेको भन्ने आफूलाई जानकारी नभएको बाराका प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर कटुवालले बताउनुभएको छ । मलमा तोकिएको मूल्यभन्दा बढी लिएर कालोबजारी गरेका कारण गोदाम शिलबन्दी गरिएको उहाँको भनाइ छ । पटक–पटक गोदामको ताल्चा खोल्न आग्रह गर्दा पनि कुशवाहाले आफूसँग साँचो नभएको जानकारी दिएको र मलको कागजातसमेत फेला नपरेका कारण तत्कालका लागि गोदाम शिलबन्दी गरिएको उहाँले बताउनुभयो । कालोबजारीको आरोपमा कुशवाहालाई पक्राउ गरी थुनामा राखिएको पनि उहाँले जानकारी दिनुभएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज