चितवनमा नवजात शिशुको दुर्लभ शल्यक्रिया

Read Time = 4 mins

चितवन । जिल्लामा नवजात शिशुको दुर्लभ शल्यक्रिया सफल भएको छ । जन्मँदै नाइटो नबनी नाइटोको भागबाट आन्द्रा बाहिर निस्किएको शिशुको सफल शल्यक्रिया गरिएको हो ।

चितवन मेडिकल कलेज शिक्षण अस्पताल (सिएमसी)मा शल्यक्रिया गरिएको हो । यस्तो प्रकृतिको समस्या लाखौँमा एक दुई जनामा देखिने गरेको चिकित्सक बताउँछन् । अस्पतालका बाल शल्यचिकित्सक डा प्रकृति गिरी नेतृत्वको चिकित्सक टोलीले उक्त शल्यक्रिया गरेको हो । सर्लाहीको ईश्वरपुर नगरपालिका-१२ की सरस्वती बस्नेतले भरतपुर अस्पतालमा प्रसूति सेवा लिनुभएको थियो । उहाँबाट जन्मिएको शिशुको दुई घण्टामै चितवन मेडिकल कलेज रिफर गरिएको थियो ।

अस्पताल भर्ना भएको चार दिनपछि गत असार १२ गते पहिलो र त्यसको चार हप्तापछि साउन ९ गते दोस्रो शल्यक्रिया गरिएको थियो । डा गिरीले भन्नुभयो, “शिशुको नाइटोको भाग नबनेको र सोही ठाउँबाट आन्द्रा बाहिर निस्किएको थियो । आन्द्रासमेत फुलेको अवस्थामा रहेको यस्तो प्रकृतिका घटना दुर्लभ हुने गर्दछन् ।”

नाइटो नबनेको, आन्द्रा बाहिर आएको र आन्द्रा फुटेको अवस्था लाखौँमा एक जनामा देखिने भन्दै उहाँले यो निकै दुर्लभ समस्या भएको जानकारी दिनुभयो । उहाँको भनाइमा सानो आन्द्रा यसरी फुलेर बस्नु आफैँमा दुर्लभ हो । यस्तो समस्यालाई ओमफालोसियल भनिने गर्दछ ।

ADVERTISEMENT

शिशुको माँसपेशी पूर्णरुपमा विकास नभएकाले बाहिर निस्किएको आन्द्रा एकै पटक भित्र नअटाउने भएकाले दुई पटक गरेर शल्यक्रिया गर्नुपरेको डा गिरीको भनाइ छ । उहाँले भन्नुभयो, “धेरैजसोमा एउटै शल्यक्रियाले हुन सक्छ । नाइटो नै नभएको, पेटमा प्वाल परेर आन्द्रा बाहिर आएको, प्वाल धेरै साँघुरो र सानो भएकाले बाहिर आएको आन्द्रा कस्सिँदै जान्छ ।”

फुलेको आन्द्राको आठ सेन्टिमिटर काटेर पुनः जोडिएको जानकारी दिँदै डा गिरीले नीलो भएको भाग ठीक होस् भनेर सानो आन्द्राको भाग काटेर बाहिर निकालेर राखेको जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “बाहिर निकालेको आन्द्रामा कृतिम मलद्वार बनाइयो । अर्थात् त्यहीबाट दिसा बाहिर निस्कने गरी व्यवस्था गरियो ।”

दोस्रो शल्यक्रियामा बाहिर निकालेर राखिएको कृतिम मलद्वारसहितको आन्द्रालाई भित्र जोडेर राखिएको डा गिरीले बताउनुभयो । बयालिस दिन अस्पतालमा राखेर उपचारपछि उक्त शिशु अहिले घर लगिएको छ । शिशुको स्वास्थ्य राम्रो रहेको डा गिरीले जानकारी दिनुभयो ।

अस्पतालका अध्यक्ष एवं प्रबन्ध निर्देशक प्रा डा हरिश्चन्द्र न्यौपानेले यस्ता खालका शल्यक्रिया अन्यत्र कठिन हुने भए पनि विज्ञ बाल शल्य चिकित्सक चितवन मेडिकल कलेजमा भएकाले सफल भएको बताउनुभयो । बाहिर पठाइँदै आएका यस्ता प्रकृतिका जटिल उपचार यहाँ सम्भव भएको उहाँको भनाइ छ । न्यौपानेले भन्नुभयो, “अब अस्पतालमा क्यान्सर उपचार थालेपछि सबै प्रकारका रोगको उपचारका लागि विदेश जानु पर्दैन ।” रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज