काठमाडौँ । जल तथा मौसम विज्ञान विभागले देशका अधिकांश जिल्लामा वर्षा भइरहेको जनाउँदै बाढी, पहिरो तथा डुबानको जोखिमलाई ध्यानमा राखेर आवश्यक सतर्कता अपनाउन सर्वसाधारणलाई आग्रह गरेको छ।
विभागकी मौसमविद् विनु महर्जनका अनुसार हाल देशभर मनसुनी वायुको प्रभाव कायम छ भने मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा उत्तरतर्फ रहेकाले धेरैजसो जिल्लामा वर्षा भइरहेको छ।
उहाँका अनुसार कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका धेरै स्थान तथा मधेस प्रदेशका केही क्षेत्रमा मध्यम वर्षा हुने सम्भावना रहेको छ।
विभागले कोशी र सुदूरपश्चिम प्रदेशका पहाडी तथा तराईका केही स्थानमा भारी वर्षा हुन सक्ने जनाएको छ। साथै बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा पनि भारी वर्षाको सम्भावना रहेको छ।
आज राति पनि मौसम पूर्ण रूपमा सुधार नहुने विभागको अनुमान छ। मधेस प्रदेशसहित कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी तथा तराई क्षेत्रका धेरै स्थानमा तथा कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा हुने सम्भावना रहेको जनाइएको छ।
मौसम विभागले भारी वर्षाका कारण नदी तथा खोलामा पानीको बहाव बढ्न सक्ने, पहाडी क्षेत्रमा पहिरो जान सक्ने तथा होचो भूभागमा डुबानको जोखिम रहने भएकाले विशेष सावधानी अपनाउन आग्रह गरेको छ।
◾ थप सामग्री : https://ehimalayatimes.com/2026/07/466409/







देशका अधिकांश जिल्लामा वर्षा, सतर्कता