मानिस उत्तानपाद हो । ऊ जन्मदा पहिले खुट्टा निकाल्छ । त्यसैले ऊ उत्तानपाद हो । जन्मँदा कहिले पनि खुट्टा पहिले आउँदैनन् । यसरी जन्मिने मानिसका सुरुचि र सुनीति दुई कार्यहरू हुन्छन् । मानिस सुनीतिबाट अघि बढ्यो भने ध्रुवपद पाउँछ । सुरुचिका पछि लाग्यो भने ऊ यही धरामा थलिएर जीवनलाई समाप्त पार्ने गरेको हुन्छ । यही हो मानिसको नियति पनि । यही नियतिमा जीवन घचेट्ने आधार पनि ।
यही आधारमा बाँच्ने प्राणी हो मानिस । मानिसका सबै कर्म उसका व्यवहारले नियन्त्रण गरेको हुन्छ । मानिसले जीवनलाई जसरी व्यतीत गर्ने हो यो उसको चाहनामा निर्भर रहने कार्य हो । मानिसका चाहनालाई पूरा गर्ने ऊभित्रको मनोकाङ्क्षा पनि हो । मनका तरङ्गले उसलाई सही मार्ग पनि दिन्छन् भने गलत मार्गमा पनि डोर्याएका हुन्छन् ।
कर्तव्यविहीन उत्तानपादका काखमा बस्न गएका सुनीतिका छोरा ध्रुवप्रति सुरुचिले जुन दृष्टिकोण राखिन् त्यसले मातृत्वलाई कलङ्कित गरेको देखिन्छ । त्यसैले मानिस सुरुचिका बसमा होइन सुनीतिको मार्गमा चल्नुपर्दछ । सुरुचिले बसमा पारेमा मानिसले आफ्नोपन र आफूलाई नै बिर्सन्छ भन्ने सन्दर्भलाई श्रीमद्भागवत महाभपुराणको ध्रुवचरित्रले देखाएको छ ।
उत्तानपादकी जेठी श्रीमती सुनीति हुन् । जेठी भएर पनि उनी राजाबाट परित्यक्त थिइन् । कान्छी श्रीमती सुरुचिको बसमा थिए उत्तानपाद । उनकै वरिपरि घुमेर उनले आफ्नो कर्तव्यलाई बिर्सेका थिए । कर्तव्यविहीन उत्तानपादका काखमा बस्न गएका सुनीतिका छोरा ध्रुवप्रति सुरुचिले जुन दृष्टिकोण राखिन् त्यसले मातृत्वलाई कलङ्कित गरेको देखिन्छ । त्यसैले मानिस सुरुचिका बसमा होइन सुनीतिको मार्गमा चल्नुपर्दछ । सुरुचिले बसमा पारेमा मानिसले आफ्नोपन र आफूलाई नै बिर्सन्छ भन्ने सन्दर्भलाई श्रीमद्भागवत महाभपुराणको ध्रुवचरित्रले देखाएको छ ।
सुरुचिको व्यवहार
आमाको व्यवहार छोराप्रति सहज तरिकाले व्यक्त हुनुपर्दछ । आफ्ना छोराको भविष्यमा आमा सदा चिन्तित रहनु पनि अनिवार्य हुन्छ । राजा उत्तानपाद वा आफ्ना पिताको काखमा बस्न गएका ध्रुवलाई सम्बोधन गर्दै सुरुचि भन्छिन् :
नवत्स नृपतेर्धिष्ण्यं भवानारोढुमर्हति
न गृहितो मयायत्त्वं कुक्षावपि नृपात्मज ।।
हे बालक ! तिमी राजसिंहासनमा बस्ने अधिकारी होइनौँ । तिमी पनि राजाका नै छोरा हौ । राजाका छोरा भएर के भयो ? तिमीले मेरो कोखबाट जन्म लिएका छैनौ । यो उक्ति सुरुचिको हो । सुरुचि आफैँमा मानिसलाई बसमा पार्ने तत्त्व हो । उनले ध्रुवलाई यही तरिकाबाट सम्बोधन गरिन् । उत्तानपाद त्यहीँ थिए तर उनी केही पनि बोलेनन् । उनी आफैँमा सुरुचिको बसमा रहेको प्रमाािणत भएको छ । राजगद्दीमा बस्ने अधिकार आफैँमा जेठो छोरोलाई हुन्छ । सुनीति उत्तानपादकी जेठी रानी हुन् । राजाले सुनीतिलाई त्यो रूपमा हेरेनन् । कान्छी श्रीमतीका कारणले त्यागिदिएका छन् । सुरुचि ध्रुवलाई सम्बोधन गर्दै भन्छिन् :
बालोद्रसि बत नात्मानमन्यस्त्रीगर्भसम्भृताम्
नूनं वेद भवान् यस्य दुर्लर्भेद्रर्थेमनोरथः ।।
तिमीले अहिले केही बुझेका छैनौ । तिमीले मभन्दा अन्य स्त्रीको गर्भबाट जन्म लियौ । त्यसैले तिम्रो महŒवाकाङ्क्षा बढेको हो । यी भनाइले पाँच वर्षको बालकमा के प्रभाव पर्यो त्यसको लेखाजोखा आजको समाजसित छैन । आमाको माया पाउने उमेरमा पाएको विमाताका कठोर वचनले दिएको पीडा आजको समाजमा हुर्केका बालबालिकासित छैन । सुरुचिको भनाइ यत्तिमा रोकिँदैन । उनले आफूलाई ईश्वरभन्दा पनि माथि राखेर हेरेकी छिन् । उनी आफू नारायणभन्दा माथि रहेको तर्कलाई यसरी भन्छिन्
तपसाद्रद्रराध्यपुरुषं तस्यैवानुग्रहेण मे
गर्भे त्वं साधयात्मानं यदीच्छसि नृपासनम् ।।
यदि तिमीलाई सिंहासनमा बस्ने इच्छा छ भने तपस्या गरेर परमपुरुष (ईश्वर) नारायणलाई प्राप्त गर । नारायणको दर्शनपछि उनीसित मेरो कोखबाट जन्म लिने वरदान माग । मेरो कोखबाट जन्मलिएर मात्र यो सिंहासनका अधिकारी हुन सक्छौ । यी आफ्नो झड्केलो सुनीतिको छोरोप्रति सुरुचिका उक्ति हुन् । यही हो सुरुचिको मान्यता पनि । आफू र आफ्नाबाहेक अरूलाई नमान्ने मान्यता नै सुरुचिको स्वरूप हो । जो आजका मानिसमा खचाखच भरिएर रहेको छ । आजका मानिससित नै सुरुचिको व्यवहार देखिएको छ । यही व्यवहारका कारण आजका मानिसले आफूलाई केन्द्रमा राखेका छन् ।
सुनीतिको प्रत्युत्तर
उत्तानपादको काखबाट अपमानित भएका ध्रुव वनमा आमाको आश्रममा जान्छन् । उनीमात्र पाँच वर्षका थिए । मान, अपमान उनमा थियो वा थिएन तर अपमानको घुट्को उनले पिएका थिए । अपमान नसहेर आमाको काखमा रोएर आफ्ना कुरा राख्ने ध्रुवलाई जुन किसिमको सल्लाह आमाले दिइन् त्यो आजको समयका लागि उपयोगी नहुन सक्छ । तर, उनले आमा हुनुको धर्मलाई बडो सहजताका साथ निर्वाह गरेकी छिन् । एक असल माताका रूपमा । उनी आफ्नो छोरालाई सल्लाह दिँदै भन्छिन् :
सत्यं सुरुच्याभिहितं भवान्मे यद् दुर्गभायाउदरे गृहीतः
स्तन्येन वृद्धश्च विलज्जते यां भार्येतिवावोढुमिडस्पतिर्माम् ।।
छोरा ! सुरुचिले जे भनिन् त्यो सत्य हो किनकि तिम्रा बुबा मलाई रानी त के नोकर स्वीकार गर्न पनि लज्जाबोध गर्दछन् । तिमीले मजस्ती मन्दभाग्य (भाग्य नभएकी) आमाको कोखबाट जन्म लियौ । मेरो दूध पिएर हुर्कियौं । यो अवस्थामा तिमीलाई कसरी पिताको राज्य प्राप्त हुन्छ । तिमी आफैँ सोच र विचार गर । यो कस्तो अभिव्यक्ति हो एउटी माताको । जब शासनमा सुरुचिले प्रभुत्व जमाउँछ सुनीतिको तिरस्कार हुन्छ । यो सत्य हो । यही सत्यलाई सुनीतिले आफ्नो छोरालाई बताइन् । यदि सुरुचिलाई जित्ने हो भने तिमी नारायणको खोजमा लाग्नु अनिवार्य छ भन्दै उनी भन्छिन् :
आतिष्ठतत्तातविम्त्सरस्त्वमुक्तं समात्रापियदव्यलीकम्
आराधयाधोक्षजपादपद्मं यदीच्छसेद्रध्यासनमुत्तमो यथा ।।
छोरा ! सुरुचिले तेरी सौतेनी आमा भएर पनि सही कुरा भनेकी हुन् । यदि राजकुमार उत्तम (सुरुचिको छोरा) समान राजगद्दीमा बस्ने विचार राखेको हो भने सौतेनी आमाको भनाइलाई सही ठहर गरेर नारायणको उपासनामा तुरुन्त लाग । अन्यथा तिमीलाई त्यो पद र प्रतिष्ठा प्राप्त हुनेछैन ।
कस्तो संस्कार ?
लालयेत् पञ्चवर्षाणि (पाँचवर्षसम्म छोरालाई माया गर) यही नीतिको उक्ति हो । सुनीतिले पाँच वर्षको उमेरमा नै आफ्नो छोरा ध्रुवलाई ईश्वरको खोजमा पठाइन् । यो कस्तो संस्कार होला ? वनमा तपस्यामा रत रहेर ईश्वरलाई भेटेर आउन उनले धेरै उदाहरण दिएकी छिन् । उनी भन्छिन् :
यदं जितात्मश्वसनाभिवन्द्यम् तथामनुर्वो भगवान् पितामहो
यमेकमत्या पुरुदक्षिणैर्मखैःइष्ट्वाभिपेदे दुरवापमन्यतो ।।
बाबु ! तिम्रा हजुरबुबा स्वायम्भुव मनुले विभिन्न यज्ञको माध्यमबाट नारायणको उपासना गरेका थिए । उक्त उपासनाले गर्दा आज उनलाई यो पद प्राप्त छ । आज तिम्रा हजुरबुबालाई लौकिक र अलौकिक सुख प्राप्त भएको छ । ईश्वरको उपासनालाई बडो गम्भीरतापूर्वक सुनीतिले लिएकी छिन् । यस अवस्थामा आफ्नो पाँच वर्षको छोरालाई नारायणको खोजमा पठाउनु कठोर हृदय नै मान्न सकिन्छ ।
हामी सुनीतिले जस्तै सन्तानलाई नारायणको खोजमा पठाउन सक्दैनौँ । सुरुचिले गरेको जस्तो अभद्र टिप्पणी पनि सहन सक्दैनौँ । कसैले हाम्रा छोराछोरीप्रति टिप्पणी गरेमा प्रतिकारमा उत्रन्छौँ सन्तानका लागि । यही स्वाभाविक संसारमा बाँचेको छ हाम्रो समाज । सुरुचिको बसमा छ आजको पुस्ता । सुनीतिको नीतिमा छैन ।
सुनीतिले आफूलाई कमजोर ठानिन् । उनले आफूलाई पतिबाट परित्यक्त मानिन् । आफ्नो छोराका माध्यमबाट आफूलाई उच्च स्थानमा राख्ने उनको परिकल्पना हो । यो परिकल्पना सुनीतिमा चल्ने सबैका लागि हो । आमा सन्तानका लागि सबैभन्दा उच्च स्थानमा रहेको पद हो । त्यसैले पनि मातृऋणलाई जीवनको सबैभन्दा ठूलो ऋण मानिएको छ । हुन त आजको समाज विकसित छ । लगभग तीन वर्ष पुग्दा नपुग्दै आफ्ना छोराछोरीलाई विद्यालयमा पठाउने परम्परा विकसित भएको छ । हामी आज त्यो संस्कारमा हुर्केका छौँ । आमाको माया, ममता, स्नेह र बुबाले हान्ने मीठो झापडलाई आजको यो पुस्ताले भोगेको छैन । आमाको काखमा दिशापिसाब गर्ने उमेरमा आज ऊ विद्यालयमा पुगेको छ । विद्यालयका शिक्षिकाले दिशापिसाब गराउने र खुवाउने जिम्मा पाएका हुन्छन् । विद्यालय गएर आएपछि ऊ सुत्छ । आमाबुबा स्वतन्त्र रूपमा आफ्नो पेशामा समर्पित हुन्छ्न् । आजको पुस्तालाई धन, घर र भौतिक सुविधाको चाङ चाहिएको छ संस्कार होइन ।
आज हामी दुई र हाम्रा दुईको युगमा बाँचेका छौँ । आमाबुबाले दिने माया, स्नेहमा संस्कार छैन । आजका बालबालिकालाई रुनबाट जोगाउने एउटामात्र आधार प्रविधि बनेको छ । हो प्रविधि आजका बालबालिकालाई आवश्यक छ ? आजका छोराछोरीलाई आमाबुबा, हजुरआमा हजुरबुबाबाट हामीले टाढा पुर्याएका छौँ । हुन त विद्यालयीय शिक्षा पाएपछि विदेशका गल्लीमा भौँतारिन पठाउने र आफू पनि घुम्न जाने अभिलाषा बोकेका हामीलाई यो नै सर्वोत्तम उपाय सावित भएको छ । हामी संस्कारमा चुकेका छौँ । विद्यालयले दिने शिक्षा सबै होइन । अझ निजी विद्यालयको शिक्षा त धनअनुसारको शिक्षा हो । धनले कहिल्यै पनि मानिसलाई शिक्षा दिन सक्दैन । धनले मानिसलाई कहिल्यै पनि गतिलो मार्गमा डोर्याउँदैन यो सत्य हो तर धन आजको आवश्यकता पक्कै हो । आजका मानिसका लागि पनि । यही धनमा अडेको छ आजको मानिसको प्राण पनि तर आफूले पितामाताबाट पाएको संस्कार आजको पुस्तालाई हस्तान्तरण गर्नु अनिवार्य छ ।
हामी सुनीतिले जस्तै सन्तानलाई नारायणको खोजमा पठाउन सक्दैनौँ । सुरुचिले गरेको जस्तो अभद्र टिप्पणी पनि सहन सक्दैनौँ । कसैले हाम्रा छोराछोरीप्रति टिप्पणी गरेमा प्रतिकारमा उत्रन्छौँ सन्तानका लागि । यो स्वाभाविक पनि हो । यही स्वाभाविक संसारमा बाँचेको छ हाम्रो समाज । सुरुचिको बसमा छ आजको पुस्ता । सुनीतिको नीतिमा छैन आजको जमात । सुरुचिले उत्तानपादलाई जसरी कुशल शासकका रूपमा रहन दिइनन् त्यही अवस्था आजका मानुषसित देखिएको छ । आफ्ना बाबुनानीलाई संस्कार, परम्परा, गाउँ र आफन्तसित परिचय गराएर समाजमा बाँच्न सक्ने बनाउन आवश्यक छ । आवश्यक छ आजको विश्वसित लड्न सक्ने बनाउन । सुरुचिलाई त्यागौँ र सुनीतिलाई अपनाउन थालौँ भन्दै ।







देशका अधिकांश जिल्लामा वर्षा, सतर्कता