काठमाडौं । नेपाली कांग्रेस र उसका भ्रातृ एवं शुभेच्छुक संस्थाले देशभर विभिन्न कार्यक्रम आयोजना मंगलबार राष्ट्रिय एकता तथा मेलमिलाप दिवस मनाएका छन् । नेपाली कांग्रेसका संस्थापक एवं प्रथम जननिर्वाचित प्रधानमन्त्री बिपी कोइराला आफूमाथि आठवटा मृत्युदण्डका मुद्दा अदालतमा चलिरहेका बेला राष्ट्रियताका लागि जीवन अर्पण गर्न तयार भएर राष्ट्रिय एकता तथा मेलमिलापको नीति लिई स्वदेश फर्कनुभएको सम्झनामा हरेक वर्ष पुस १६ गते नेपाली कांग्रेस र यसका भ्रातृ एवं शुभेच्छुक संस्थाले मेलमिलाप दिवस मनाउँदै आएका छन् । कांग्रेसका लागि औपचारिकता पूरा गर्न भए पनि राष्ट्रिय मेलमिलाप र एकता दिवस मनाउनु परम्परा बनेको छ ।
विसं २०३३ पुस १६ गते नेपाली कांग्रेसका संस्थापक नेतासमेत रहनुभएका कोइरालाको नेतृत्वमा सर्वोच्च नेता गणेशमान सिंह, नेत्री शैलजा आचार्य, खुमबहादुर खड्का, रामबाबु प्रसाईं, नीलाम्बर पन्थीलगायत नेता कार्यकर्ता राष्ट्रिय एकता तथा मेलमिलापको नीति लिई करिब आठ वर्ष लामो निर्वासित जीवन त्याग गरी स्वदेश फर्किएका थिए । भारत निर्वासनमा रहँदा सिक्किम भारतमा विलय भएको घटना नजिकबाट हेरेका कोइराला सहितका नेताले राष्ट्रियता एकता तथा मेलमिलापको नीति लिई स्वदेश फर्किए ।
विसं २०१७ पुस १ गतेको तत्कालीन राजा महेन्द्रको शाही ‘कू’ पछि प्रथम जननिर्वाचित प्रधानमन्त्री कोइरालालाई करिब तीन महिना सिंहदरबारमा बन्दी बनाइएको थियो । आठ वर्षपछि विसं २०२५ मा उपचारका लागि बिपीलाई रिहा गरिएको थियो । रिहापछि उपचारका लागि भारत पुगेका कोइरालाले त्यहाँ निरंकुश पञ्चायती व्यवस्थाविरुद्ध राजनीतिक क्रियाकलाप सुरु गरेका थिए । त्यसबेला भारतले सिक्किमलाई गाभेको, भारतबाट पाकिस्तान अलग्गिएको र एसियाका अन्य देशमा पनि विखण्डन सुरु भएको देखेर राष्ट्रियता कमजोर हुन नदिन राष्ट्रिय मेलमिलाप तथा एकताको नीति लिई ४९ वर्षअघि कोइराला सहितका नेताहरू नेपाल फर्किएका थिए ।
आठ वर्ष लामो निर्वासित जीवनपछि स्वदेश फर्किंदा बिपी कोइरालाले नेतृत्वको गरेको नेपाली कांग्रेससँग अहिलेको जस्तो केन्द्रदेखि वडासम्म सत्तामा थिएन । कोइराला लगायतका नेताहरूमाथि मृत्युदण्डका मात्रै आठ मुद्दा थिए । साढे नौ लाख क्रियाशील सदस्य मात्र नभई सत्ता, शक्ति रहेको नेपाली कांग्रेस अहिले आन्तरिक खिचातानी र स्वार्थको टकरावमा रुमल्लिएको छ । राष्ट्रिय एकता र मेलमिलापको प्रतिपादक नेपाली कांग्रेसमा अहिले सत्ता, शक्ति र व्यक्तिगत स्वार्थको लडाइँ छ ।
कांग्रेसका हरेक नेताहरूको आ-आफ्नो गुट-उपगुट छ । सान, सौक, गाडी, घोडा मात्र होइन, नेताका अघिपछि स्वार्थ समूहरूको लामै लस्कर रहेको कांग्रेसभित्र अहिले एकता र भाइचारा शून्य छ । कांग्रेसभित्र हाबी हुँदै गएको गुटगत विवाद र विभाजनले पटक-पटक लोकतान्त्रिक शासन व्यवस्था नै अप्ठेरोमा पुगेको छ । नेपाली कांग्रेसभित्र अहिले विवाद र झगडाको लागि कुनै विषय नै चाहिँदैन । पार्टीको विधानमै नभएको वरीयतादेखि वडा सदस्यको टिकट वितरण जस्ता झिनामसिना मुद्दाले समेत कांग्रेसभित्र ठूलै झगडा हुने गरेको छ । पार्टीभित्र आफ्नै गुटका नेता एक-अर्काविरुद्ध प्रयोग हुने त होइन ? भन्ने आशंका र भय कांग्रेस नेताहरूमा देखिएको छ । पार्टीको आगामी १५औँ महाधिवेशनको मिति तय भएको छैन । तर, कांग्रेसभित्र आगामी पार्टी नेतृत्वको लागि साम, दाम दण्ड, भेद सुरु भइसकेको छ । विधानको विद्यमान व्यवस्थाले शेरबहादुर देउवा आगामी महाधिवेशनमा सभापतिको प्रत्यासी बन्न नपाउने भएपछि आगामी नेतृत्वका लागि आधा दर्जन नेताहरू लालायित देखिएका छन् । गुट विवादले १४औँ महाधिवेशन भएको तीन वर्षमा केन्द्रदेखि गाउँसम्मको कार्यसमिति र निकायलाई पूर्णता दिन कांग्रेस असफल भएको छ । तल्ला तहको विवाद समाधान गर्दै पार्टी संगठनलाई परिचालन गर्न उसले सयदिने अभियान सञ्चालन गरेको छ । तर, गुट विवादले अझै कतिपय जिल्लामा कार्यक्रम सुरु हुन सकेका छैनन् । बाहिरबाट शान्त देखिने मुलुकको पुरानो र सबैभन्दा ठूलो दल कांग्रेस आफैँ भित्रको एकता र मेलमिलापमा विगतदेखि नै च्युत हुँदै आएको छ । तर, हरेक नेताहरू सार्वजनिक कार्यक्रममा राष्ट्रिय एकता र मेलमिलापको दुहाई दिन छाडेका छैनन् ।
देशभर राष्ट्रिय मेलमिलाप आवश्यक छ : सभापति देउवा
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले देशैभर राष्ट्रिय मेलमिलाप आवश्यक रहेको र कांग्रेसले नै त्यसको अग्रसरता लिनुपर्ने बताउनुभएको छ । राष्ट्रिय मेलमिलाप दिवस तथा कांग्रेसले चलाएको १०० दिने विशेष अभियान कार्यक्रमअन्तर्गत मंगलबार काठमाडौंमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै सभापति देउवाले भन्नुभयो, ‘कांग्रेसका लागि मात्र होइन, देशभरका लागि राष्ट्रिय मेलमिलाप आवश्यक छ । कांग्रेसले अग्रसरता लिनुपर्छ । २०३३ सालमा बिपी कोइराला र गणेशमान सिंह राष्ट्रिय मेलमिलापको नीति लिएर फर्कनुभएको थियो । यद्यपि, नेपालमा राजाले मारिदिन्छन् कि के हुन्छ, हत्या हुन्छ कि भन्ने अवस्थामा पनि उहाँहरू आउनुभएको थियो । गणेशमान सिंहको नेतृत्वमा काठमाडौंमा भएको आन्दोलनले राजाले घुँडा नै टेके ।’ सभापति देउवाले गणतान्त्रिक व्यवस्था स्थायी भएकाले यसलाई सुदृढ गर्दै जानुपर्ने बताउनुभयो ।
बिपीको मेलमिलापको केन्द्र राजा नभई जनता : महामन्त्री शर्मा
नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले आफ्नो पार्टीका संस्थापक सभापति बिपी कोइरालाले अघि सारेको मेलमिलापको नीतिको केन्द्रमा राजा नभई जनता भएको दाबी गर्नुभएको छ । राष्ट्रिय एकता तथा मेलमिलाप दिवसको अवसरमा मंगलबार महामन्त्री शर्माले भन्नुभयो, ‘बिपीले त्यतिबेला गर्नुभएको तत्कालीन शक्तिको सन्तुलन हो, त्यो बेला पनि बिपीको मेलमिलापको केन्द्रमा जनता थिए, राजा थिएनन् । बिपी पछाडि जिपी कोइरालाले आएर जब २०६२ बेलामा माओवादीसँग १२ बुँदे समझदारी गर्नुभयो । त्यो बेला पनि माओवादी होइन, केन्द्रमा जनता नै थिए ।’
सरकारको नीतिगत नेतृत्व कांग्रेसले गरिरहेको छ : नेता सिटौला
नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले जनताका समस्या समाधान गरी बलियो नेपाल निर्माण गर्न आवश्यक रहेको बताउनुभएको छ । मंगलबार काठमाडौंमा राष्ट्रिय मेलमिलाप दिवस एवं सयदिने विशेष अभियान कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले जनताको आर्थिक प्रगति अहिलेको आवश्यकता भएको बताउनुभयो । कांग्रेस र नेकपा एमाले मिलेर संयुक्त सरकार बनाएको र प्रधानमन्त्रीमा केपी शर्मा ओली रहे पनि सरकारको नीतिगत नेतृत्व नेपाली कांग्रेसले गरिरहेको दाबी गर्दै सिटौलाले भन्नुभयो, ‘सरकारको नेतृत्व एमाले अध्यक्ष ओलीजीले गरे पनि नीतिगत नेतृत्व नेपाली कांग्रेस पार्टीले गरिरहेको छ । नेपालको अस्तित्वको रक्षाका लागि, नेपाली जनताको आर्थिक समृद्धि र प्रगतिको लागि नेपाली कांग्रेस सबै राजनीतिक दलहरूलाई एकाकार गरेर राष्ट्रिय मेलमिलाप निर्माण गरी अघि बढ्छ ।’
कांग्रेसमा दृढतापूर्वक उभिने नेताको अभाव रहेको टिप्पणी
नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले प्रधानमन्त्री बन्न दृढतापूर्वक उभिनेको पार्टीमा अभाव देखेको टिप्पणी गर्नुभएको छ । नेपाली कांग्रेसमा प्रधानमन्त्री बन्न पार्टीमा दृढतापूर्वक उभिनेको अभाव देखापरेको टिप्पणी गर्दै महामन्त्री शर्माले भन्नुभयो, ‘सभापतिजी विस्तारै रिटायर्ड हुने क्रममा हुनुहुन्छ, विधानअनुसार अब उहाँ महाधिवेशनमा प्रतिस्पर्धा गर्न पाउनु हुन्न, पाँचपटक त प्रधानमन्त्रीको भारी बोकिसक्नु भयो । अब उहाँलाई कतिपटक प्रधानमन्त्रीको भारी बोकाउने, अरूले बोक्न अघि सर्नुस् भनेर मैले भनेको छु । तर, उहाँलाई काँध थाप्छु भन्नेहरू अलि नसुरिएको जस्तो बुझ्छु ।’

बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
राजनीतिक नेतृत्व अभिभावक बन्ने कि
नेपाली राजनीति र वाराणसीका पण्डा