सर्लाही । सर्लाहीको ईश्वरपुर क्षेत्रमा पछिल्लो समय खाद्य उद्योगहरू धामाधम खुल्दै गरेका छन् । उद्योगहरूको मागलाई लक्षित गरी नेपाल विद्युत प्राधिकरण लालबन्दी वितरण केन्द्रले इन्डस्ट्रियल फिडरको निर्माण सम्पन्न गरेको छ । लामो समयदेखि इन्डस्ट्रियल फिडरको माग गर्दै आएका ईश्वरपुर क्षेत्रका व्यवसायीले अहिले ठूलो राहतको महसुस गरेका छन् ।
पहिले हरिपुर फिडरबाट घरायसी र औद्योगिक प्रयोजनका लागि एउटै लाइनबाट विद्युत प्रसारण हुने गर्दा एक ठाउँमा समस्या हुँदा सम्पूर्ण क्षेत्रमा विद्युत आपूर्ति अवरुद्ध हुने गर्थ्याे । मर्मतका लागि लामो समयसम्म विद्युत कटौती गर्नुपर्ने र भोल्टेजको समस्या झेल्नुपर्ने अवस्था थियो । तर, अब इन्डस्ट्रियल फिडर निर्माणसँगै उद्योगहरूले पर्याप्त र नियमित विद्युत आपूर्ति पाएका छन् ।
एक पटक विद्युत कटौती हुँदा उत्पादनमा रहेको खाद्य सामग्री जस्तै चिउरा र भुजा बिग्रने समस्या भइरहन्थ्यो। मिल सञ्चालकहरूका अनुसार उत्पादनको क्रममा तयार भएको धान र चामलसमेत खेर जाने समस्या सामान्यजस्तै भएको थियो । तर, नयाँ फिडर सञ्चालनमा आएपछि यस्तो समस्या समाधान भएको छ ।
गौरी संकर एग्रो प्रोडक्सनका सञ्चालक अभिषेक गुप्ताले विद्युत नियमित हुँदा महसुल कम आउने र कामको तालिका बनाउँदा सजिलो भएको बताउनुभयाे । यस्तै, न्यू बैदेही खाद्य उद्योगका सञ्चालक झपेन्द्र साहले नियमित आपूर्तिले कामदार र प्रशासन दुबैलाई सहज भएको बताउनुभयाे ।
नेपाल विद्युत प्राधिकरण लालबन्दी वितरण केन्द्रका प्रमुख त्रिभुवन कुमार यादवले अब उद्योगीको मागअनुसार विद्युत आपूर्ति सहज हुने र क्षेत्रका विद्युतसम्बन्धी समस्याको अन्त्य भएको बताउनुभयाे । यादवकाअनुसार, छिट्टै फिडरको औपचारिक उद्घाटन गर्ने योजना रहेको छ ।
यस फिडरअन्तर्गत लगभग ५ मेगावाट विद्युत् लोड प्रदान गर्न सकिने र हाल २ मेगावाट विद्युत् मात्र उद्योगले खपत गरेको, विद्युत् प्राधिकरणको लालवन्दी वितरण केन्द्रले जानकारी दिएको छ ।
यस इन्डस्ट्रियल फिडरको क्षेत्रमा ३० को हारा हारिमा साना तथा ठुला उद्याेगले विद्युत् मिटर जडान गरि प्रति दिन २ मेगावाट विद्युत् खपत भैरहेको नेपाल विद्युत प्राधिकरण लालबन्दी वितरण केन्द्रका प्रमुख त्रिभुवन कुमार यादवले बताउनु भयो ।
यस कदमले ईश्वरपुर क्षेत्रको औद्योगिक विकासलाई थप गति दिने विश्वास गरिएको छ ।






