काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जिल्ला प्रशासन कार्यालय महोत्तरीका दुई नायब सुब्बाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
जिल्ला प्रशासन कार्यालय महोत्तरीका मुद्दा फाँटमा कार्यरत नायब सुब्बाद्वय अशोककुमार यादव र दिनेशप्रसाद साहविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ ।
सेवाग्राहीसँग घुस लिएको आरोपमा पक्राउ परेका उनीहरूविरुद्ध सोमबार विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जनाएको छ ।
आयोगका प्रवक्ता नरहरि घिमिरेका अनुसार यादवले सवारी ज्यान कसुर मुद्दामा मृतकको नजिकको हकदार (पीडित पक्ष)ले पाउनुपर्ने किरिया खर्च तथा क्षतिपूर्ति बापतको रकम उपलब्ध गराउन सहजीकरण गरिदिने भन्दै सेवाग्राहीसँग घुस मागेका थिए ।
उक्त सूचनापछि आयोगको कार्यालय, बर्दिबासबाट खटिएको टोलीले यादवलाई सेवाग्राहीबाट लिएको २० हजार रुपैयाँ घुससहित पक्राउ गरेको थियो ।
उनीहरू दुवै जनाविरुद्ध २० हजार रुपैयाँ बिगो कायम गरी कैद र बिगो बमोजिम जरिवानाको मागदाबी आयोगले गरेको छ ।







Video News Post
Breaking News with Advertisements
Breaking news with related posts