काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प्रतिवादी रणबहादुर कटवाल रहेको भ्रष्टाचार मुद्दामा विशेष अदालतको फैसला चित्त नबुझेपछि सर्वोच्च अदालतमा पुनरावेदन गरेको छ।
रणबहादुरले नक्कली बिल बनाई सरकारी रकम हानिनोक्सानी गरेको भन्दै भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १७ बमोजिम कसुर गरेको भन्दै ४ लाख ९८ हजार ९९५ रूपैयाँ बिगो कायम गरी मुद्दा दायर गरेकोमा विशेष अदालतले सफाइ दिएपछि आयोगले सर्वोच्च पुगेको हो ।
उनले सवारी चालकको रूपमा आफ्नै श्रीमतीको नामबाट काल्पनिक कागजात तयार गरी रकम भुक्तानी लिने एवं श्रीमतीलाई कम्प्युटर अपरेटर पदमा नक्कली करार सम्झौता बनाई एक लाख १२ हजार रूपैयाँ लिने प्रयत्न गरेकोले कारबाही गरिनुपर्ने भन्दै आयोगले मुद्दा दायर गरेको थियो ।
सो मुद्दामा विशेष अदालतले आयोगको दाबी नपुग्ने भन्दै कटुवाललाई २०८० फागुन २७ गतेको फैसलाबाट आंशिक सफाइ दिएको थियो ।
तर, उक्त फैसला चित्त नबुझेपछि आयोगले बुधबार सर्वोच्च अदालतमा पुनरावेदन दिएको आयोगका प्रवक्ता नरहरि घिमिरे जानकारी दिनु भयो ।






