काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले तीन वटा वामपन्थी राजनीतिक दलका नेताहरुसँग राजनीतिक ध्रुवीकरणका लागि वार्ता गरेको बताउनुभएको छ ।
शनिवार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले तीन वामपन्थी दलका नेताहरुसँग आज बिहानमात्रै संवाद भएको र संवाद सकारात्मक रहेको उल्लेख गर्नुभयो । उहाँले वामपन्थी नेताहरु केही माओवादी आन्दोलनसँग पनि केन्द्रित रहेको र केही त्यो भन्दा बाहिरका वामपन्थी समाजवादी धारासँग सम्बन्धित रहेको उल्लेख गर्नुभयो ।
यद्यपि नेताहरुको नाम भने खुलाउन चाहनुभएन । वामपन्थी नेताहरुले सबै एकतावद्ध भएर अघि बढ्नुको विकल्प नरहेको कुरा गरेको उल्लेख गर्नुभयो । उहाँले संघीय लोकतान्त्रिक गणतन्त्रको संविधानलाई ठिक ढंगले कार्यान्वयन गर्न सबै वामपन्थी एकतावद्ध हुनुपर्ने बताउनु भयो । नेपालको राजनीतिक आन्दोलनको इतिहासमा शिक्षकहरुको भुमिका महत्वपूर्ण भएको बताउनु भयो ।
उहाँले भन्नुभयो, ‘आज बिहान मात्रै एकताको सन्दर्भमा, राजनीतिक ध्रुविकरणकै सन्दर्भमा तीन वटा वामपन्थी पार्टीका नेताहरुसँग मेरो संवाद भएको थियो । बढो सकारात्मक संवाद भएको छ । ति हिजोको माओवादी धारासँग सम्बन्धित पनि हुनुहुन्थ्यो । त्यो भन्दा बाहिरका वामपन्थी समाजवादी धारासँग सम्बन्धित पनि हुनुहुन्थ्यो । उहाँहरु सबैको एउटै कुरा थियो, अब एकतावद्ध भएर अघि बढ्नुको विकल्प नेपालको अगाडि, नेपालको वामपन्थी आन्दोलनको अगाडि, नेपालको लोकतान्त्रिक आन्दोलनको आवश्यकताको अगाडि वा संघीय लोकतान्त्रिक गणतन्त्रको संविधानलाई ठिक ढंगले कार्यान्वयन गर्ने, त्यसलाई परिमार्जन गर्नको निम्ति पनि एकताको विकल्प छैन भन्नेकुरामा हाम्रो सैद्धान्तिक सहमति भएको थियो । बिहानमात्रै तीन वटा राजनीतिक दलसँग एकताको कुरा हुनु सकारात्मक र अहिले दुई शिक्षक संगठन एकतावद्ध हुने घोषणा गर्नु यो संयोग मात्रै मलाई लाग्दैन । यो अहिले देशको लोकतान्त्रिक आन्दोलनको आवश्यकता हो । यो संविधानलाई टिक ढंगले कार्यान्वयन गर्ने आवश्यकताको पनि अभिव्यक्ति हो । त्यसकारण नेपालको राजनीतिक आन्दोलनको इतिहासमा शिक्षकहरुले नै देशभर शहर, गाउँ, टोल जताततै राजनीतिक जागरण पैदा गर्नुपर्छ ।’
अध्यक्ष दाहालले आगामी हिउँदे अधिवेशनमा शिक्षा विधेयक आवश्यक संशोधन र परिमार्जनसहित पारित हुने प्रतिवद्धता जनाउनु भयो । उहाँले शिक्षकहरुको माग पूरा गरेर मात्रै विधेयक पारित गर्ने बताउनु भयो । शान्ति प्रक्रियाका बाँकी कामहरु अन्तिम चरणमा पुगेको बताउनु भयो ।






