काठमाडौं । टिकटकले सञ्चार तथा सूचना प्रविधि मन्त्रालयसँगको साझेदारीमा डिजिटल सेफ्टी समिट नेपालको आयोजना गरेको छ । कार्यक्रमले अनलाइन सुरक्षा र डिजिटल साक्षरता प्रवद्र्धन गर्न सरकारी अधिकारी, शिक्षाविद्, डिजिटल अधिकार विज्ञ, बालबालिकाको सुरक्षासम्बन्धी अधिवक्ता र उद्योगी व्यवसायीलगायत विभिन्न सरोकारवालालाई एकै ठाउँमा भेला गराएको थियो ।
शिखर सम्मेलनमा टिकटक क्रियटर सुवास घिमिरे, सञ्चार मन्त्रालयका प्रवक्ता गजेन्द्र ठाकुर, डिजिटल सेफ्टी एक्स्पर्ट सन्तोष सिग्देललगायतका प्यानलिस्टसहित ‘नेभिगेटिङ रिस्क, प्रोटेक्टिङ युजर्सः ए कोलाबोरेटिभ अप्रोच टु डिजिटल सेफ्टी अर्थात् जोखिमको अनुगमन, प्रयोगकर्ताको सुरक्षाः डिजिटल सुरक्षाका लागि एक साझा दृष्टिकोण नामक प्यानल छलफल भएका थिए । कार्यक्रममा टिकटकका फ्यामिली पेयरिङ जस्ता टुल्स र नेपाली प्रयोगकर्ताको सुरक्षामा जोड दिइएको थियो ।
दक्षिण एसियाका लागि टिकटकका सार्वजनिक नीति तथा सरकार सम्बन्ध प्रमुख फिरदौस मोत्ताकिनले भन्नुभयो, ‘टिकटकमा हामी हाम्रा प्रयोगकर्ता, विशेषगरी बालबालिका र युवाको अनलाइन सुरक्षा र भलाइ सुनिश्चित गर्न प्रतिबद्ध छौँ । यो शिखर सम्मेलनले नेपालमा सुरक्षित अनलाइन वातावरण सिर्जना गर्ने दिशामा एक महत्वपूर्ण कदम चाल्नेमा हामी विश्वस्त छौँ । हामी हाम्रा पहलमार्फत् डिजिटल साक्षरता र अनलाइन सुरक्षा प्रवद्र्धन गर्न समर्पित छौँ र हामी यो लक्ष्य हासिल गर्न नेपाल सरकारसँगको सहकार्यलाई निरन्तरता दिन तत्पर छौँ ।’
सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका प्रवक्ता गजेन्द्र ठाकुरले सुरक्षित अनलाइन इकोसिस्टम सिर्जना गर्न मन्त्रालय प्रतिबद्ध रहेको बताउनुभयो । उहाँले भन्नुभयो, ‘यो शिखर सम्मेलन नेपालका युवाका लागि सुरक्षित र समावेशी डिजिटल वातावरण सुरक्षित गर्ने हाम्रो मिसनमा एउटा महत्वपूर्ण कदम हो । बालबालिकालाई अनलाइन सुरक्षा प्रदान गर्ने र डिजिटलरूपमा जिम्मेवार समाज प्रवद्र्धन गर्ने नवीनतम उपाय लागू गर्ने प्रयासमा सरकार अडिग छ ।’ सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले डिजिटल सुरक्षामा सरकार प्रतिबद्ध रहेको बताउनुभयो । सम्मेलनमार्फत् नेपालमा टिकटकको सार्वजनिक नीति कार्यक्रम विस्तार गर्ने, नेपालमा बलियो, सुरक्षित डिजिटल इकोसिस्टमको बाटो बनाउने प्रतिबद्धता गरिएको छ । नेपाली समुदायका लागि सुरक्षित डिजिटल भविष्य सिर्जना गर्ने नयाँ समर्पणसाथ डिजिटल सेफ्टी समिट नेपाल सम्पन्न भएको आयोजकले जनाएको छ । टिकटक र सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले नेपालभर डिजिटल साक्षरता पहल विस्तार गर्ने पुनः प्रतिबद्धता जनाएका छन् ।







Video News Post
Breaking News with Advertisements
Breaking news with related posts