काठमाडाैं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछानेलाई बयानका लागि पोखराबाट काठमाडौंमा ल्याइएको छ । कालीमाटीस्थित स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारी संस्थाको रकम अपचलनबारे बयान लिन उहाँलाई बुद्ध एयरको उडानमार्फत बिहीबार साँझ काठमाडौं ल्याइएको हो । आज (शुक्रबार) जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंमा रविको बयान हुने बताइएको छ । उहाँविरुद्ध काठमाडौं जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी भएको थियो । कास्की हिरासतमा ३९ दिन र दुई दिन रुपन्देही प्रहरीको हिरासतमा बस्नुभएका उहाँलाई ४१ दिनपछि बयानका लागि काठमाडौं झिकाइएको हो ।
काठमाडौं प्रहरी प्रमुख, एसएसपी वसन्त रजौरेले सहकारीको रकम अपचलन गरेर ठगी गरेको मुद्दामा सरकारी वकिल कार्यालयमा बयान लिइनेछ । बयान सकिएपछि रविलाई पुनः कास्की नै पठाइने एसएसपी रजौरेले बताउनुभयो । कास्कीमा चारवटा मुद्दा खेपिरहनु भएका रवि जोडिएको गोर्खा मिडियामा स्वर्णलक्ष्मीबाट दुई करोड २८ लाख ९८ हजार ४८० रुपैयाँ पेस्कीबापत गएको देखिन्छ । स्वर्णलक्ष्मीबाट गोर्खा मिडिया नेटवर्कका तत्कालीन अध्यक्ष गितेन्द्रबाबु (जिबी) राई र प्रबन्ध निर्देशक रविको संयुक्त नाममा दुईपटक ऋण लिएको देखिन्छ ।
उहाँहरूको संयुक्त नाममा २०७८ भदौ ७ गते ‘फर हृवाट एभर लोन’बापत ४६ लाख ९८ हजार ऋण लिएकोमा अझै १४ लाख ७६ हजार ३६७ रुपैयाँ चुक्ता गर्न बाँकी छ ।
त्यस्तै, २०७८ पुस १ गते ईको सेभेन सोएट भ्यान खरिदका लागि जिबी र रविकै संयुक्त नाममा ४६ लाख ८८ हजार ऋण लिएको पाइएको छ । त्यसमध्ये पनि २९ लाख ५८ हजार ४३३ रुपैयाँ तिर्न बाँकी रहेको प्रहरी अनुसन्धानबाट खुलेको छ । गोर्खा मिडिया नेटवर्कका पूर्व–उपाध्यक्षसमेत रहनुभएका छविले स्वर्णलक्ष्मीबाट एक करोड १८ लाख २८ हजार ११० रुपैयाँ पेस्कीबापत लिएको देखिन्छ ।
जिल्ला प्रहरी परिसर काठमाडौंले गोर्खा मिडियाका तत्कालीन उपाध्यक्ष छविलाल जोशी बञ्जाडेलाई यसअघि नै कास्कीबाट झिकाएर सरकारी वकिल कार्यालय काठमाडौंमा बयान सकाएर उतै पठाइसकेको छ । सहकारीका कोषाध्यक्ष कुमार रम्तेललाई पनि बयान लिएर कास्की पठाइसकिएको छ ।
स्वर्णलक्ष्मी सहकारीको रकम अपचलनमा संलग्न आरोपमा दुईजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा काठमाडौं महानगरपालिका–६ घर भएका कमल लामा र काठमाडौं महानगरपालिका–३१ घर भएकी सुनिता नेवा हुनुहुन्छ । कारागार कार्यालय कास्कीमा थुनामा रहेका कुमार रम्तेललाई पनि काठमाडौंमा ल्याएर बयान लिइएको छ ।
ओखलढुंगा घर भएका रम्तेल स्वर्णलक्ष्मी सहकारीका पनि कोषाध्यक्ष हुनुहुन्छ । स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष जिबी राई हुनुहुन्छ । रकम अपचलनबारे अनुसन्धान गर्न ६४५ जना बचतकर्ताले प्रहरीमा जाहेरी दिएका छन् । स्वर्णलक्ष्मीबाट एक अर्ब ११ करोड निक्षेप अपचलन भएको प्रहरीको प्रारम्भिक अनुसन्धान निष्कर्ष छ । २७ हजार निक्षेपकर्ताले सो सहकारीमा दुई अर्ब ६५ करोड ९५ लाख जम्मा गरेको सहकारीको रेकर्डमा भेटिएको छ ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आन्तरिक टर्मिनलबाट रविलाई सोझै जिल्ला प्रहरी कार्यालय परिसर भद्रकाली लगिएको थियो । सुरक्षालाई मध्यनजर राख्दै जिल्ला प्रहरी परिसर क्षेत्र वरपर बाक्लो सुरक्षाकर्मी परिचालन गरिएको थियो । लामिछानेलाई पछिल्लोपटक ९ मंसिरमा १५ दिन म्याद थप भएको छ । रविलाई अनुसन्धानका लागि ल्याइएको काठमाडौं तेस्रो जिल्ला हो । कास्कीबाट उहाँलाई रुपन्देही लगेर फेरि फिर्ता गरिएको थियो । काठमाडौंपछि चितवन लैजाने सेड्युल छ ।
समर्थकको विमानस्थलबाहिर नाराबाजी
रास्वपाका सभापति रवि लामिछानेका समर्थकहरूले बिहीबार त्रिभुवन विमानस्थलबाहिर नाराबाजी गरेका थिए । रविलाई पोखराबाट काठमाडौं ल्याउन लागिएका बेला विमानस्थलबाहिर भेला भएका रविका समर्थकहरूले नाराबाजी गरेका हुन् । उनीहरूले ‘नडराऊ रवि दाइ, जनता तिम्रो साथमा छ,’ ‘राजनीतिक प्रतिशोध बन्द गर’लगायत नारा लगाएका थिए ।







देशका अधिकांश जिल्लामा वर्षा, सतर्कता