झापा । दुहुनो गाई चोरेर काटेको आरोपमा झापा प्रहरीले पाँच जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा झापा बाह्रदशी गाउँपालिका ४ का ४० वर्षीय बुदना आलम र अन्य चारजना छन् ।
प्रहरीका अनुसार दिलवर हुसैन, कुरेसा खातुन , मोहिदा खातुन र रोशी खातुन पक्राउ परेका छन् । प्रहरीले उनीहरू चारजनाको थप परिचय खुलाएको छैन । मंगलबार उनीहरूले कनकाई नगरपालिका ३ टप्पुका पूर्णप्रसाद फुयाँलको गोठमा बाँधेको लीलाप्रसाद सिलवालको दुहुनो गाई चोरी काटेको आरोप छ ।
उनीहरूले स्थानीय लीला संग्रौलाको घरमा लगेर गाई काटेका थिए । ज्याला मजदुरी गर्ने उनीहरू संग्रौलाको घरमा डेरा लिएर बस्दै आएका थिए । घटनाको अनुसन्धान भइरहेको झापा प्रहरीले जनाएको छ ।
सोमबार साँझ गोठमा बाँधेको गाई मंगलबार बिहान दुहुन जाँदा गोठमा थिएन । खोजी गर्ने क्रममा मंगलबार दिउँसो १ बजे संग्रौलाको घरमा काटेर मारेको अवस्थामा फेला परेको थियो । तत्कालै इलाका प्रहरी कार्यालय सुरुङ्गामा घटनाको जानकारी गराइएको थियोे ।
घटना सार्वजनिक हुनासाथ सुरुङ्गा क्षेत्रको स्थिति तनावग्रस्त भएको थियोे । गौहत्याको विरोधमा उत्रिएका धार्मिक व्यक्ति तथा स्थानीयले प्रदर्शन गरेका थिए । प्रदर्शनका क्रममा दुईजना प्रहरी र केही प्रदर्शनकारी घाइते भएका छन् ।
प्रदर्शनकारी र प्रहरीबीच पटकपटक झडप भएको थियो । आन्दोलनकारीहरुको ढुंगा लागेर इलाका प्रहरी कार्यालय बिर्तामोडका प्रहरी सहायक निरीक्षक र सशस्त्र प्रहरीका हवल्दार घाइते भएका छन् । प्रहरीले लाठीचार्ज गर्दा गोलोक गोबर्धन गौशाला सतासीधामका संरक्षक नन्दकिशोर भारद्वाजसहित छजना भन्दा बढी घाइते भएका छन् ।
तीनवटा सवारी साधनमा तोडफोड भएको थियो । स्थिति नियन्त्रणमा लिन प्रहरीले सात सेल अश्रुग्यास प्रहार गरेको थियोे । प्रहरीले दमन गरेको भन्दै प्रदर्शनकारीले प्रशासनका विरुद्ध चर्का नाराबाजी गरेका थिए । प्रहरीले पाँचजनालाई पक्राउ गरेको जानकारी गराएपछि अहिले स्थिति शान्त बनेको छ ।
मंगलबार सुरुङ्गामा भएको गौहत्यामा संलग्नलाई कानुनी कारबाही गर्न राष्ट्रिय प्रजातन्त्र पार्टीले माग गरेको छ । सो पार्टीका झापा अध्यक्ष केशवप्रसाद ओझाले बुधबार विज्ञप्ति निकालेर घटना निन्दनीय,घृणित र संविधान विरुद्धको हर्कत भन्नुभएको छ ।
विज्ञप्तिमा गौहत्यामा संलग्नलाई कारबाही गर्न माग गरिएको छ । अध्यक्ष ओझाले गौहत्याको विरोधमा प्रदर्शनमा उत्रिएका स्थानीय र धर्मगुरुप्रति प्रहरीले गरेको दमनको निन्दा र भर्त्सना गर्नुभएको छ ।








Video News Post
Breaking News with Advertisements
Breaking news with related posts