अग्निदो गरदश्चैव
आगो लाउने घरमा वनमा र खानामा पानमा विष दिनेलाई पनि आतंककारी या आततायी भनिन्छ । यसरी हेर्दा नेपालका राजनीतिक दललाई नेपाली जनताले छोराका रहरले छोरो पाएका बाबुआमाले भन्दा बढी माया गरेर साथ दिए । किनभने जनता नै देशका बाबुआमा हुन् । देशको काम गर्ने सक्षम युवक भनेका राजनीतिक दल हुन् । जसरी प्रत्येक घरको लक्कुजवान छोराछोरी गति छाडा भए भने घरका बाबुआमा, दाजुभाइ, दिदी-बहिनी र वल्लोपल्लो घरका छिमेकीले पनि दुःख पाउँछन् ठीक त्यसैगरी नेपाली राजनीतिक दलले गति लिन र राम्रो काम गर्न नसक्ता नेपाली जनताले त रक्तका आँसु बगाउनु परेकै छ । नेपालका निकटतम् छिमेकी देश चीन र भारतले पनि सुखको सास फेर्न पाएका छैनन् ।
सधैं कुनै न कुनै प्रकारको खिचातानी, अभाव र मागमनितोका लागि कुन देश पहिला भ्रमण गर्ने त्यो पनि आफू खुशी होइन बोलाई देलान् र भिक्षाको झोली थापौँला भनेर प्रत्येक यो देशको प्रधानमन्त्री प्रधानमन्त्री बनेको भोलिपल्टदेखि मनमा तिलजौ पकाउन थाल्छ । देशका युवक मुलुक छाडेर दिनको १५०० सयका दरले विदेशिन्छन् र दिनको ५ या ६ जाना बाक्सामा बन्द भएर मुलुकमा फर्कन्छन् । हिजो मुग्लान जान्थे अनेकौं प्रकारका हन्नर खप्नुपर्दथ्यो त्यो बेला पारिवारिक शासनलाई देष दिएर यिनै राजनीतिक दलका त्यो बेलाका नेताले जनतालाई स्वतन्त्रता, स्वाधीनता र सुख सम्पन्नताको स्वप्न देखाएर संगठन गठन गरेर स्वतन्त्रता त लाभ भयो त्यो पनि भाइका शासनले थिचेको, दबाएको र शोषण गरेको अवस्थाबाट ।
कहिले राजाले राज्य एकीकरणका नाममा लुटे कहिले राणाले कुनै न कुनै अप्डिक लाएर लुटे लुट्न त लुटेकै हुन् । लुटको उद्देश्य जे होस् । राम्रो उद्देश्य राखेर बल प्रयोग गर्नु पनि बल प्रयोग नै हो । नराम्रा उद्देश्यमा बल प्रयोगलाई त दुनियाँले बल प्रयोग भन्ने मानेकै छ ।
परचक्रीले यो देशमा भाषिक, सामाजिक सांस्कृतिक र परिधानीय उपनिवेश कायम गरे पनि राजनीतिक उपनिवेश कायम गर्न सकेन कहिल्यै पनि । जनताको बहादुरीले बेलायत विजयी भयो रसियन एकदलीय साम्राज्य खडा गर्न र बेलायती वर्चस्व विश्वमा स्थापना गर्न वर्माका धावामा पनि नेपाली बहादुर लड्न पुग्यो । आजको युक्रेन रसिया युद्धमा पनि पुग्नुपरेकै छ भने आजका राजनीतिक दलका ठूला हुँ भन्नेले जेठका पाहाले घोक्रो फुलाए झैँ फुलाउनाको अर्थ के ? ती गरिबका घरमा घरको जेठो छोराको लास फर्कँदा आगो लागेको हुँदैन र ? जानीजानीकन लुकेर गएर युद्धका मैदानमा बन्दुक र बम समाउनु भनेको खानपानमा विष हालेर खुवाउनुभन्दा कुन अर्थमा फरक छ ? अतः आजको हाम्रो राज्यसञ्चालन संत्रपाणिर्धृनापहा यन्त्र नै आततायी हो भनेर किन नभन्ने ?
शस्त्रपाणिर्धृनापहा
हातमा शस्त्रास्त्र लिएर मान्छे मार्ने, धम्क्याउने र मान्छेको धन अपहरण गर्ने, समाजमा प्रचलित नीतिनियम विपरीत गरेर व्यक्तिको या समूहको धनदौलत हरण गरी व्यक्ति या समूहले भोग गर्ने गरी लैजानेलाई पनि आततायी भन्छ शास्त्रले । बडामहाराजा पृथिवीनारायण शाहका पालादेखि नै यस प्रकारका काम नेपालमा हुँदै गरिँदै आएको सन्दर्भ सबैलाई थाह भएकै कुरो हो । कहिले राजाले राज्य एकीकरणका नाममा लुटे कहिले राणाले कुनै न कुनै अप्डिक लाएर लुटे लुट्न त लुटेकै हुन् । लुटको उद्देश्य जे होस् । राम्रो उद्देश्य राखेर बल प्रयोग गर्नु पनि बल प्रयोग नै हो । नराम्रा उद्देश्यमा बल प्रयोगलाई त दुनियाँले बल प्रयोग भन्ने मानेकै छ ।
यहाँसम्म कि कथित मानव अधिकारवादीले पनि यसलाई बल प्रयोग भनेर बेलाबेला यस्ता घटनामा विज्ञप्ति निकालेको राष्ट्रिय अन्तर्राष्ट्रिय तहका पत्रपत्रिकामा पढ्न पाइन्छ । आफ्नो समूह जम्मा गरेर शस्त्रास्त्र लिएर लुटोस् या संसद्मा बसेर ऐन कानुन बनाएर जनताका नाममा सरकार बनेर लुटोस् लुट त ती दुवै लुटै हुन् । जसरी सेना या प्रहरीले मान्छे मार्छन् त्यो पनि मारेकै हो र डाका लुटेराले मार्छन् त्यो पनि हत्या हिंसा नै हो । बाठाले संगठन बनाएर जनताको उन्मुक्ति र देशका नाममा हिंसा हत्या र आतंग मच्चाउँछ । माओवादीले गरेको हिंसा हत्या र आतंग होओस् या पञ्चायतकालका राज्यले वाम र काङलाई राज्य विप्लव मच्चाउने आतंककारीका नाममा गरेको हिंसा हत्या होस् सबै हिंसा हत्या र आतंकनै हुन् शास्त्रीय दृष्टिले ।
आतंक भन्नु, आततायी भन्नु, हत्यारा हिंस्रक भन्नु कुरो चाहिँ एकै हो । व्यवहार सञ्चालनको सजिलाका लागि मान्छेले चुनाव या अन्य कुनै विधिले सरकार नामको हिंस्रक जत्था बनाएर हिंसा आतंक र आतंककारी क्रियाकलापलाई वैधता प्रदान गरेको मात्रै हो । यी सबै प्रकारका त्रियाकलाप चाहे जसले जुनसुकै उद्देश्यले गरेको भए पनि यी सबै आततायी आचरणभित्रै पर्दछन् । हुन त राजनीति शास्त्रमा यस प्रकारका चिन्तनलाई अराजकतावादी चिन्तन भनेर परिभाषित गरिएको छ । हो, प्रत्येक व्यक्ति या सानो ठूलो समूहनिष्ठ चिन्तनका गर्भमा अराजकतावादी चिन्तनको झरिलो झिल्को भेटिन्छ नै ।
निर्मला पन्तलाई बलात्कार गरेर पछि मार्नु जुन तहको आतंक हो त्यही तहको आतंक हिजो मेडिकल कलेज खोल्ने अनुमतिपत्र दिएर छ सात अर्ब बरवाद गराउन सरकार नै लागेको थियो दुर्गा प्रसाईंका विरुद्ध । आज फेरि अराजक बने दुर्गा प्रसाईं भनेर अर्को वैध अराजक संगठनले नै उनलाई राजकीय वैधता प्रदान गर्न उपक्रम गर्दैछ । प्रचण्डले पाँच हजार नेपालीलाई मारेको जिम्मेवारी लिन्छुभन्दा कारबाही नहुने दुर्गा प्रसाईंले अर्को त्यस्तै अराजक ऐतिहासिक व्यक्तिहत्यामा संलग्न भएर राज्यको दण्ड भोगेर आएकालाई भ्रष्टभन्दा थुनिनु परेको त सबैले देखेकै छन् ।
क्षेत्रदाद्रपहर्ता च
बिर्ता दिने र अपहरण गरेर थात न वास गराउने पनि आततायी नै मानिन्छन् । यस दृष्टिले कमैयाहरूलाई मुक्तत भयौ भनेर आवश्यक वसोवासको व्यवस्था नगर्ने सरकार होस् या ग्रामणी होस् यी दुवै आततायी नै हुन् । खोलोपैरो लागेर उठीवास भएका, भूकम्पका कारणले थातवास गुमाएका सारालाई घर बनाउने ठाउँ र खर्च दिने भनेर घोषणा गरेर दशकौं दिन नसक्ने सरकार चाहिँ आततायी नमानिने कुनै शास्त्रीय चिन्तन भेटिँदैन । हिजो पञ्च र राजा मिलेर कांग्रेस र कम्युनिष्टलाई आततायी भनेका थिए भने आज तिनै कम्युनिष्ट मिलेर राजा चाहियो भनेर कुर्लनेलाई नै आततायी भनेर नारायणहिटीका अघिल्तिर मञ्च बनाएर घोषण गर्न भ्याए ।
सामान्यतया सरकारमा बसेका दल या समूह या व्यक्ति नै भए पनि सडक र सदन उसको या उसका समूहको मानिँदैन प्रजातान्त्रिक परिपाटि या पद्धतिमा । सरकारले संसद्मा निर्णय गर्न सक्छ र त्यसलाई क्रियान्वयन गरेर जनताका घरदैलामा पुग्दछ । प्रतिपक्षीलाई त्यो सुविधा उपलब्ध नहुने भएका कारणले सडक र सदनमा उनीहरूलाई सम्मान गरिएको हुन्छ । नेपालमा त ज्यानमाराले रामनामी ओढेर तप गरेको देखिन्छ मोहनचन्द्र अधिकारी र अहिलेका देशका सर्वोच्च कार्यकारिणी शक्तिमा रहेका व्यक्ति नै यसका जीवन्त उदाहरण हुन् । यसरी हेर्दा राजनीति भनेको एक प्रकारको वैध हत्या या आतंकको मार्ग हो भनेर पनि शास्त्रले भनेको देखिन्छ ।
हठमा नलागीकन वार्ताका माध्यमले वनका बन्दुक र ब्यारेकका बन्दुकलाई व्यवस्थित गर्न गिरिजाप्रसाद कोइरालाले देखाएको हिम्मत र सुझबुझको सबैले प्रशंसा गर्नुपर्छ । पञ्चायत र राजाले उनलाई जुन तहको आततायी भनेको थियो उनले भने माओवादी आततायीमा परिणत हुँदा पनि त्यो आग्रह देखाएनन् ।
नरकासुरले यौनाक्षत गरेर कारागारमा राखेका १६०० सय केटीलाई नरकासुर मारेर कृष्णले उद्धार गरेपछि ती केटीले भने अब हामी कहाँ जाऊँ ? हामीलाई कसैले बिहा गर्दैन । भनेपछि कृष्णले मैसँग आओ भनेर उद्धार गरेका थिए । भीष्मले अम्बालिकालाई यसरी नै ग्रहण गर्न नसक्दा शिखण्डी बनेर जन्मनुपरेको थियो आफ्नो बरवादीको बदलाका लागि । माओवादी पनि त कांग्रेस र एमाले अनि तराईका साम्प्रदायिक चिन्तनले जन्माएका जमिनदारका दलहरूका गलत क्रियाकलाप परिशोधनका लागि जन्मेको थियो तर प्रचण्ड र डा.बाबुरामका महत्वाकांक्षाले यसलाई विशुद्ध आतंककारी या आततायीमा परिणत गरेको थियो ।
त्यस बेला पनि हठमा नलागीकन वार्ताका माध्यमले वनका बन्दुक र ब्यारेकका बन्दुकलाई व्यवस्थित गर्न गिरिजाप्रसाद कोइरालाले देखाएको हिम्मत र सुझबुझको सबैले प्रशंसा गर्नुपर्छ । पञ्चायत र राजाले उनलाई जुन तहको आततायी भनेको थियो उनले भने माओवादी आततायीमा परिणत हुँदा पनि त्यो आग्रह देखाएनन् । श्रीलंकामा जसरी लिट्टे सखाप पारियो त्यो बाटो गिरिजाप्रसाद या कांग्रेसले नअपनाउनु भनेको प्रजातन्त्रमा कुनै पनि स्वर, आचरण, विरोध यदि हुन्छ कतै भने त्यो राज्यका क्रियाकलाप र आचरण चिन्तनबाट उत्पन्न भएको असन्तुष्टिको परिणाम हो भनेर मानेको सन्देश दिएको थियो तर आज उनकै उत्तराधिकारीले त्यो सन्देश बिर्सेर जसरी पनि आआफूले जित्नै पर्ने चिन्तन आमनिर्वाचनमा नचाहिँदो गठबन्धन गरेर पनि नपुगी आजको उपनिर्वाचनमा पनि गठबन्धन गरेर जनतालाई आततायी चरित्र प्रदर्शन गरिरहेका छन् । विचार, दर्शन र अर्थनीति समेत नमिल्ने राजनीतिक दलसँगको सहयात्राले आततायी व्यवहारकै प्रदर्शन गर्दछ ।
अग्निदो गरदश्चैव शस्त्रपार्णिधनापहा ।
क्षेत्रदारद्रपहर्ता च षडेते हृयाततायिनः ।।
वनमा या घरमा आगो लाएर आतंक सिर्जना गर्ने, खाने पिउने कुरामा विष हालेर मान्छेलाई बिरामी बनाउने या मार्ने जस्ता काम गर्ने । शस्त्रास्त्र हातमा लिएर निहत्ता, निःसहायलाई हप्काएर धम्क्याएर आफ्नो स्वार्थ पूरा गर्ने, कुनै पनि उपाय अवलम्बन गरेर अर्काको धन अपहरण गर्ने, राम्री लागी भनेर जुन प्रकारले आज सरकार सरकारी निकाय र रवि लामिछाने या अन्य यस्तै धन पिपासुले गरिरहेका तथ्य सार्वजानिक भएका छन् ती सबै आततायी क्रियाकलापमा सम्बद्ध रहेका देखिन्छन् । कमाउने खेती गर्ने ठाउँ दिएर अपहरण गर्ने जसरी विश्वविद्यालयका नाममा भएका बिघाका बिघा जमिन दाताकै नातिपनातिले भोटब्यांक बनाउन अपहरणका जाल बुनेर फाइदा उठाइरहेका छन् ।
मठमन्दिरका लागि राखिएका गुठीको पनि सरकारबाटै यसै प्रकारले नियम र कानुन बनाएर अपहरण गरिएको देखिन्छ । यस प्रकारले हेर्दा अनपहरणकारी या अआततायी क्रियाकलापको शासन व्यवस्था पनि शास्त्रमा व्यवस्था भएको देखिन्छ । राजा जनक, रन्तिदेव, राजा रघु, राजाबली सर्वात्मना योग्य र शान्तिकामी शासक थिए । अरू पनि यस्ता धेरैराजा पौरस्त्य इतिहासमा पाइन्छन् जो साधुवृत्तिका भएर पनि शासक थिए । अतः शासनसंयन्त्रमा पुग्दैमा अपकर्म गरिन्छ र गर्नुपर्छ भन्ने छैन । न्यूनश्रेणीको बुद्धि, व्यवहारभएका गिदीबोसेले मात्रै शक्तिमा पुगेपछि शक्तिको दुरुपयोग गर्दछ । राजा नहुष, स्वर्गको राजा इन्द्र विलासी र गिदीबोसेका उदाहरण हुन् भने आजका नेपाली शासक पनि त्यही कोटिका गिदीबोसे र अपकर्मी हुन् भन्ने कुरामा संशय नगरे हुन्छ ।






