एजेन्सी । पाकिस्तान तहरीक-ए-इन्साफ (पीटीआई)का कार्यकर्ताहरूले जेलमा रहनुभएका पाकिस्तानी पूर्वप्रधानमन्त्री इमरान खानलाई रिहा गर्न माग गरिरहेका छन् । सोमबार नै पीटीआई कार्यकर्ताको जुलुस इस्लामावादको सीमामा प्रवेश गरेको थियो । आन्दोलनकारीलाई रोक्न सुरक्षा व्यवस्था कडा बनाइएको छ । प्रदर्शनकारीहरूको लक्ष्य इस्लामावादको डी-चोक पुग्नु हो ।
इस्लामावाद प्रशासनले पाकिस्तानको संविधानको धारा २४५ अन्तर्गत कानून र व्यवस्था बहाल गर्न सेना बोलाएको छ । इस्लामावादका उपायुक्त इरफान मेमनले बीबीसी संवाददाता शहजाद मलिकलाई यस कुराको पुष्टि गर्नुभएको छ । यसैवर्षको जनवरीमा इस्लामावादको एक अदालतले तोशाखाना मुद्दामा इमरान खानलाई १४ वर्षको जेल सजाय सुनाएको थियो । यसबाहेक २० लाख पाकिस्तानी रुपैयाँ जरिवाना पनि लगाइएको छ ।
इमरानले यो विरोधलाई ‘फाइनल कल’ नाम दिनुभएको छ । प्रदर्शन रोक्नका लागि चार हजार भन्दा धेरै इमरान समर्थकलाई गिरफ्तार गरिएको छ । जसमा केही सांसद पनि रहेका छन् । यसैबीच, पाकिस्तानमा चलिरहेको आन्दोलनलाई विश्वभर रहेका पिटिआइ समर्थकले समर्थन गरेका छन् । विश्वका ६० भन्दा बढी देशमा इमरान खानको रिहाइका लागि आन्दोलन भएको छ । पिटीआइले आफ्नो सामाजिक सञ्जालको प्लेटफर्ममा क्यानडा, अमेरिका र ब्रिटेनमा भएको प्रदर्शनहरूको तस्वीर साझा गरेको छ ।
इमरानको पार्टी पाकिस्तान तहरीक (ए इंसाफ (पिटिआइ) र समर्थकले मुख्य रूपमा तीनवटा माग राखेका छन् । पहिलो माग इमरान खान र पिटीआइका सबै कार्यकर्ताको चाँडो रिहाइ साथै २०२४ मा भएको चुनावलाई स्वीकार्नुपर्ने र पाकिस्तानी संसद्मा अदालतको अधिकार कम गर्नका लागि प्रस्ताव गरिएको विधेयक फिर्ता लिनु पर्नेलगायत छन् ।
इमरान खानले खुद विरोध प्रदर्शनको अपिल गर्नुभएको छ । उहाँले पिटिआई कार्यकर्तालाई २४ नोभेम्बरको विरोध प्रदर्शनमा सहभागी हुन या पार्टी छोड्न भन्नुभएको थियो । योसँगै हजारौं समर्थकसँगै जनताहरूसमेत सडकमा देखिएका छन् ।
साम्प्रदायिक झडपमा कम्तीमा ८८ जनाको मृत्यु
पाकिस्तानको उत्तरपश्चिमी खैबर पख्तुनख्वा प्रान्तको कुर्रम जिल्लामा भएको साम्प्रदायिक झडपमा ज्यान गुमाउनेको संख्या कम्तीमा ८८ जना पुगेको अस्पताल प्रशासनले जनाएको छ । गत बिहीबार पाराचिनार क्षेत्रमा शिया मुसलमान यात्रुहरू बोकेको गाडीमा आक्रमण गर्दा भएको हिंसामा ठूलो हताहत भएको थियो । आक्रमणले सिया र सुन्नी समुदायबीच साम्प्रदायिक हिंसाको लहर निम्त्याएको छ भने पछिल्ला दिनहरूमा धेरै आक्रमणले मृतकको संख्या अझै बढ्दै गएको छ । हाल प्रान्तीय सरकारको प्रतिनिधिमण्डलले प्रभावित जिल्लाको स्थलगत भ्रमण गरी दुवै सम्प्रदायबीच सात दिनका लागि युद्धविराम गर्ने सहमति भएको छ ।







This is breaking news.
Video News Post
Breaking News with Advertisements
Breaking news with related posts