भोजपुर । दुर्गम क्षेत्रका नागरिकलाई बिभिन्न किसिमका स्वास्थ्य सेवा दिने उद्धेश्यका साथ भोजपुरको पश्चिम टेम्केमैयुङ गाउँपालिकाको केन्द्र अन्नपूर्णमा संचालन भएको चार दिने स्वास्थ्य शिविरमा एक हजार पाँच सय बढीले स्वास्थ्य सेवा पाएका छन् ।
कादुरी एशोसिएसन ब्रिटिस गोर्खा नेपालको आयोजनामा संचालित शिविरमा जनरल मेडिसिन, आँखा, दाँत, कान, इसिजी सेवा, अल्ट्रा साउण्ड टेष्ट, स्त्रीरोग, ल्याव परिक्षण लगायतका सेवा प्रवाह भएको थियो । शिबिरमा कुल एक हजार पाँच सय बढीले सेवा लिएको गाउँपालिका अध्यक्ष सरोज बस्नेतले बताउनुभयो ।
गाउँपालिका अध्यक्ष बस्नेतले भन्नुभयो, “टेम्केमैयुङ गाउँपालिका र अन्य छिमेकी क्षेत्रका नागरिकलाई स्वास्थ्य सेवा उपलब्ध गराउने उद्धेश्यले शिविरको आयोजना गरिएको थियो, यो शिविरले नागरिकलाई राम्रो सेवा दिएको छ ।”
आफ्नै पालिका भित्र बिशेषज्ञ स्वास्थ्यकर्मीहरुबाट धेरै किसिमका स्वास्थ्य सेवाहरु पाएकोमा स्थानीय नागरिकहरुमा पनि उत्साह देखिएको थियो । आयोजक कादुरीका प्रोजेक्ट म्यानेजर राजन राईले शिविरले ग्रामीण क्षेत्रका नागरिकलाई स्वास्थ्य सेवा दिन पाउँदा खुशी लागेको बताउनुभयो । उहाँले ग्रामीण क्षेत्रमा संचालन हुने शिविरले स्थानीय समुदायलाई ठूलो लाभ पुग्ने बताउनुभयो । शिविरको बेलायतका राजदुतले समेत अवलोकन गर्नु भएको थियो ।






