काठमाडौं । १५औँ राष्ट्रिय हर्टिकल्चर सम्मेलन सोमबारदेखि काठमाडौंमा सुरु भएको छ । नेपाल हर्टिकल्चर सोसाइटी र राष्ट्रिय आलु तरकारी तथा मसलाबाली विकास केन्द्रको संयुक्त आयोजनामा सुरु भएको सम्मेलन उद्घाटन गर्दै कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले नेपालमै गुणस्तरीय बिउ उत्पादन गरी वितरण प्रभावकारी बनाउन सबै निकायको भूमिका महत्वपूर्ण हुने बताउनुभयो ।
सबै कृषिजन्य बाली उत्पादनको आधारभूत स्रोत बिउ नै भएकाले गुणस्तरीय बिउ उत्पादनलाई पहिलो प्राथमिकतामा राख्नुपर्ने पनि उहाँले बताउनुभयो । आलु तथा मसलाबाली क्षेत्रको विकासका लागि सरकारी तथा गैरसरकारी निकायका साथै निजी क्षेत्रको भूमिका पनि उत्तिकै महत्वपूर्ण हुने मन्त्री अधिकारीको भनाइ थियो ।
नेपालका रैथाने बिउबिजन संरक्षण अपरिहार्य रहेकोमा जोड दिँदै उहाँले मन्त्रालयबाट हालसालै बिउबिजन नियमावली संशोधन गर्ने कार्य सम्पन्न गरिएको जानकारी दिनुभयो । पछिल्लो समय सरकारीस्तरका बिउ उत्पादन गर्ने फार्महरूको जग्गा अतिक्रमण भएका कारण विदेशी बिउको बढ्दो आयात रोक्न मन्त्रालय निजी क्षेत्रको सहकार्यमा रणनीतिक हिसाबले अघि बढेको पनि उहाँले बताउनुभयो ।
दुई दिनसम्म चल्ने सम्मेलनमा सम्बन्धित सरकारी संस्था, विज्ञ, तरकारी बिउ उत्पादक र कृषकको सहभागिता रहेको छ । सम्मेलनमा आलु, मसलाबाली तथा तरकारीको बिउ उत्पादन, जातीय विकास, बजारीकरण, मूल्य शृंखला, जलवायु परिवर्तन, जैविक विविधता, बिउसम्बन्धी कानुनबारेमा छलफल हुने आयोजकले जनाएको छ ।






