बझाङ । चिसो बढेसँगै बझाङका भेडापालक जाडो छल्न बेशीं झर्न थालेका छन् । उच्च हिमाली क्षेत्रमा चिसो अत्याधिक बढन थालेपछि भेडीगोठहरू बेशींतर्फ झार्न थालिएको हो । बझाङको बुंगल नगरपालिका सहित साइपाल गाउँपालिका ,सुर्मा गाउँपालिका,छबीसपाथीभेरा गाउँपालिका , र तल्कोट गाँउपालिकाका भेडापालकहरू चरनका लागि वर्षायाममा लेकतिर जाने र हिउँदमा बेशीं झर्ने गर्दछन् ।
चार हजार मिटर भन्दा अग्ला पाटनहरूमा भेडा चराउनु यस क्षेत्रका भेडापालकहरूको दैनिकी भएपनि चिसो बढेसँगै मंसिरमै बेशींतिर झर्न थालेका हुन् । बुङ्गल नगरपालिका–१ कचालीका धन बहादुर बोहराले आफ्ना १ सय धन्दा बढी भेडा ल्याएर जाडो छल्न बेशी झरेको बताउनुभयो । भेडा चराउने हिमाली पाटनहरूमा चिसो बढन थालेपछि उहाँसँगै गएका अन्य भेडापालकहरू पनि बेशीं झरेको उहाँको भनाई छ । सोही गाउँका मानबिर बोहरा, लगायत बुंगल नगरपालिका २ बमौरका गोपाल धामी, बिर्ख धामी, जित बहादुर धामी लगायतका भेडापालकहरूले ६ महिना धौलाढुङ्गा, चुफी, जलजला र रेलागाडका पाटनहरूमा भेडा चराएरै बिताउनुभएको थियो । उहाँहरू ५ सय बढी भेडाबाख्रा लगेर जेठको पहिलो साता भेडा चराउन पाटनतिर गएका थिए ।
वर्षौदेखि ती पाटनहरूमा भेडा चराउने गरेका उहाँहरुले यसवर्ष चिसो निक्कै बढेको बताउनुभयो । चिसो बढेसँगै भेडा मर्न थालेपछि यसपाली छिट्टै भेडालाई बेशीं झारिएको हो । चिसो बढेसँगै भेडाले बेशींतिर झर्ने सङ्केत गर्ने गरेको अर्का भेडापालक जैलाल बोहराले बतानुभयो । उहाँले भन्नुभयो, भेडाहरु ‘गर्मी बढेपछि बेशीबाट लेकतिर जान खोज्छन् भने लेकमा जाडो बढेपछि बेशींंतर्फ झर्छन्। उच्च हिमाली क्षेत्रमा बस्न रुचाउने भेडाले धेरै चिसो पनि सहँदैनन् र बढी गर्मी पनि मन पराउँदैनन्। सोही अनुसार हामीहरूले पनि गोठ सार्नुपर्छ।’ कार्तिक देखि फागुन लाग्दासम्म उच्च क्षेत्रमा अत्यधिक चिसो हुने भएकाले बेशींतिर झर्ने गरेको उहाँको भनाई छ ।
छबीसपाथीभेरा गाँउपालिका —६ मजखोरीका महेश बोहरा र प्रकाश मण्डेल पनि ३ सय भेडाको बथानसहित आफ्नै गाँउ मजखोरी झरेका छन् । टकरमाली, रिखैन, मटामेला, खार, जामनाडाडा लगायतका क्षेत्रमा महिनौं बिताएका बोहरा जाडो बढेसँगै भेडी गोठ लिएर औल सार्नुभएको हो। उहाँले भन्नुभयो, ‘जाडोयाममा केही समय लेकाली क्षेत्रमा टम्म हिउँ पर्छ । भेडापालकहरू घुमन्ते शैलीमा हिमाली क्षेत्रमा हिँउ पर्न थालेसँगै बेशीं झर्ने र गर्मी बढेसँगै हिमाली भेग तिर जाने गर्दछन् ।’
फागुन अन्तिमसम्म बेशींमै रहने र गर्मी बढेसँगै चैत महिनामा लेकतिर जाने बोहराको भनाई छ। चर्को गर्मी र ज्यादै चिसो सहन नसक्ने भेडालाई अहिले जाडो बाट बचाउनकै लागि बेशीं झार्न थालिएको उहाँले बताउनुभयो । भेडापालक किसानहरूलाई हिउँदको समयमा भने निकै सास्ती हुने गरेको छ।
प्छिल्लो समय हिमाली क्षेत्रका वासिन्दाको आयआर्जनको मुख्य स्रोत भेडा व्यवसाय हो । बर्खाभर पाटनमा चराएका भेडा–च्यांग्रा सबै सिजनमा बिक्रि गरिने भएपनि प्रायःदशैको समयमा भेडाको मुल्य बढी पाइने भएकाले बिक्रीका लागि पोखरा लगाएतका सहरहरुकमा लगिने गरिएको छ । यस वर्ष दसैंमा मात्रै बझाङबाट १ हजार ४ सयभन्दा बढी भेडा–च्यांग्रा बिक्रीका लागि पोखरा लगिएको भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रले जनाएको छ । उहाँको भेडा–च्यांग्राको मूल्य न्यूनतम २५ हजारदेखि अधिकतम ५० हजारसम्म हुने गरेको भेडा पालकहरुले बताएका छन् ।
पछिल्लाे समय चरन क्षेत्रको अभावले विस्तारै भेडा पालन व्यवसाय संकटमा संकटमा पर्ने चिन्ता भेडापालकको छ । चरनका लागि लेकाली क्षेत्र खुला हुने भए पनि बेशीं झर्दा सामुदायिक वन उपभोक्ता समूहले चरन सुविधा उपलब्ध नगराउँदा हिउँदमा समस्या भोग्नुपरेको उहाँहरूले गुनासो गरेका छन्। व्यवसायी सामुदायिक वनको नाममा स्थानीयले अनावश्यक दुःख दिन थालेपछि परम्परादेखि गर्दै आएको व्यवसाय संकटमा पर्न थालेको छ। पहिले देखि भेडा चर्ने, हिँड्ने र बास बस्ने ठाउँमा स्थानीयले वन संरक्षण गर्ने भन्दै चरिचरन गर्न नदिएपछि बेशींं झर्दा भेडा चराउन समस्या भइरहेको छ । वनमा भेडा चराए वाफत सामुदायिक वनलाई शुल्क तिर्नुपर्छ। विरानो ठाउँमा भेडाबाख्रा चराउँदा राति बास बसेको ठाउँमा ढुंगा हान्ने, मदिरा खाएर समूह आएर दुःख दिने गर्छन्। केही वर्ष अघिसम्म यहाँका अधिकांश मानिसको मुख्य पेसा नै भेडापालन थियो । अहिले यो पेशाप्रतिको आकर्षण घट्दै गएको छ ।






