बागलुङ । चारैतिर अग्ला पहाड । कतै खोँच त कतै समथर जमिन । बस्तीनजिकै जंगल । जुन ठाउँ बागलुङ तमानखोला गाउँपालिका-६ मा पर्ने नर्जाखानी गाउँ हो । नर्जाखानी जिल्लाकै सबैभन्दा उच्च स्थानमा रहेको बस्ती हो । जिल्ला सदरमुकामदेखि नर्जाखानी पुग्न कैयौँ भीर, पहरा र जंगार पार गर्नुपर्छ । गाउँमा धेरै सम्भावना हुँदाहुँदै पनि विकासले गति लिन नसक्दा अहिले पनि नर्जाखानी दुर्गम गाउँकै रूपमा चिनिनु परेको छ । बस्तीदेखि जंगलसम्म जताततै तामाखानी छन् । तर, उत्खनन हुन नसक्दा नर्जाखानीवासी टुकी मुनिको अँध्यारो बन्नु परेको छ ।
बारीका काल्ना, घरका करेसादेखि जंगलका बीचमा पनि तामाखानी छन् । वर्षौँ अगाडि तामा निकालिएको ठाउँमा अहिले डोबहरू भेटिन्छन् । ठूला-ठूला सुरुङ र खाडलमा झाडी उम्रिएको देखिन्छ । तमानखोला गाउँपालिकामा रहेका धेरै गाउँको नाम पछाडि खानी जोडिएको छ । तमानखोलाभरि खानीखानी हुँदा पनि अहिलेसम्म कुनै पनि स्थानमा उत्खनन थालिएको छैन । नर्जाखानीसहित तमानखोलामा बोङ्गाखानी, खुङ्खानी, बोङ्खानीलगायत धेरै गाउँहरू छन् । जति पनि गाउँको नामको पछाडि खानी जोडिएको छ, ती सबै ठाउँमा सयौँ वर्ष अगाडि तामा निकालिएका डोब भेटिन्छन् ।
गाउँमा सयौँको संख्यामा रहेका डोबहरूमा बेला-बेलामा स्थानीयले स-साना तामाका धाउहरू फेला पार्ने गर्छन् । बारीमा भेटिने तामाखानी उत्खनन गर्नका लागि स्थानीयले मागसमेत गर्दै आएका छन् । स्थानीयका अनुसार यस क्षेत्रमा करिब १२० वर्ष अगाडिसम्म तामा निकालिएको पाइन्छ । अन्य गाउँको तुलनामा नर्जाखानीमा धेरै खानी रहेको पाइन्छ । नर्जाखानीका ९५ वर्षीय लालबहादुर छन्त्यालले आफ्नो बाउबाजेका पालासम्म यहाँ खानीबाट तामा निकालेको बताउनुभयो । भीर पहारबाट निकालेको तामा बेचेर अघिल्लो पुस्ताले जीविकोपार्जन गरेको उहाँको भनाइ छ ।
‘पहिले-पहिले पहिरोले बारीका काल्ना भत्किँदा पनि तामाका धाउ भेटिन्थे, अहिले पनि तामा जस्ता देखिने वस्तुहरू धेरै नै भेटिने गर्छन्, यहाँ त जता गयो त्यतै खानीको डोबहरू भेटिन्छन्, ठूला-ठूला खाडलहरू पनि देखिन्छ,’ छन्त्यालले गाउँ नजिकको भीरलाई देखाउँदै भन्नुभयो, ‘ती पारिका भीर पहरा जहाँसुकै खानी छन्, खानीका गणना हुनै सकेका छैनन्, हाम्रा बाउबाजेले उतिबेलाको जमानामा निकै दुःख गरेर तामा निकाल्नु भएको रैछ ।’
दशकौँ अगाडि त्यस क्षेत्रका स्थानीय तामाखानीबाटै आत्मनिर्भर भए पनि अहिले पूर्णरूपमा खानी बन्द छन् । पुराना पाका स्थानीयका अनुसार छन्त्याल जातिले तामा उत्खनन गरेर निकाल्ने, दलित जातिले त्यसको धाउ निर्माण गर्ने र थकाली जातिले खाना व्यवस्थापन गर्ने प्रचलन थियो । तामा निकालेको ठाउँबाहेक नर्जाखानी क्षेत्रमा तत्कालीन समयका नागरिकले बसोबास गरेको ठाउँहरूको भग्नावशेष लगायतका वस्तु भेटिने गरेको तमानखोला गाउँपालिका–६ का अध्यक्ष चित्रहादुर छन्त्यालले जानकारी दिनुभयो । तत्कालीन सरकारले अत्याधिक कर बढाएपछि स्थानीयले तिर्न नसक्दा तामा निकाल्न छोडेको उहाँको भनाइ छ । राणा शासनका तत्कालीन प्रधानमन्त्री चन्द्र शमशेरको पालादेखि यस क्षेत्रमा तामाखानी बन्द भएको अध्यक्ष छन्त्याल बताउनुहुन्छ । ‘हामी सानो हुँदा बुबाले तामाको धाउ निकाल्नुभएको थियो, त्यसमा पूरै तामा थियो, अहिले कसैले पनि निकालेका छैनन्, तत्कालीन सरकारले स्थानीयले निकालेको तामाभन्दा बढी मूल्यको कर बुझाउन भनेपछि हाम्रा बाउ बाजेले तामा निकाल्न छाडेको बुढापाकाहरूले भन्नुहुन्छ, ठ्याक्क एकिन मिति त भएन, तर सय वर्षभन्दा बढी भएको हाम्रो अनुमान छ,’ अध्यक्ष छन्त्यालले भन्नुभयो, ‘त्यस बेलाको समयमा अहिलेको जस्तो प्रविधि थिएन, धेरै समय लगाएर तामा निकाल्ने काम गर्ने रहेछन्, कर धेरै तिर्न सरकारले हृवीप जारी गरेपछि छोडेको थिए रे, हामीहरूले अब नयाँ तरिकाले उत्खनन गर्नुपर्छ ।’
स्थानीय तुलबहादुर छन्त्यालले चारैतिर खानीहरू भएको हुँदा गाउँको नाम नै नर्जाखानी भनिएको उहाँको भनाइ छ । उहाँले छन्त्याल जातिलाई ‘अनपढ वैज्ञानिक’ भन्ने गरिएकाले उनीहरूले माटो सुँघेर तामाखानी पत्ता लगाउने गरेको बताउनुभयो । गाउँभरी तामाखानी भए पनि राज्यको ध्यान जान नसक्दा उत्खनन हुन नसकेको बताउनुभयो । छन्त्यालले आफ्ना पुर्खाहरूले खाली खानीमा मात्रै काम गर्ने गरेको हुँदा खेती गर्नसमेत नजानेको उहाँको भनाइ छ । प्रत्येक ठाउँमा तामाहरू भेटिने र यसको परिणाम कस्तो छ भन्ने विषयमा परीक्षण गर्न जरुरी रहेको छन्त्याल बताउनुहुन्छ । उहाँले भन्नुभयो, ‘हाम्रा पुर्खालाई ‘अनपढ वैज्ञानिक’ भन्ने गरिन्छ, उति बेला अहिलेको जस्तो प्रविधिको विकास भएको थिएन, र पनि खानी पत्ता लगाए, उनीहरूले माटो सुँघेर खानीहरू पत्ता लगाउँथे र उत्खनन गर्ने गर्थे, बुढापाकाले भने अनुसार हाम्रा पुर्खा बराजुहरूले खेतीपाती गर्न जान्दैनथे रे, उनीहरूलाई खानीमा गर्ने कामबाहेक अरू आउँदैनथ्यो भन्छन्, उनीहरूको आहार जंगलका पशुपंक्षी हुन्थे रे, गाउँमा बारी खनजोत गर्दा पनि स्थानीयले तामा भेट्टाउने गर्थे, कतिले त भेटाएको तामाबाट गाग्री, ताउलो लगायतका भाँडाकुँडा पनि बनाएका छन् ।’
नर्जाखानीसँगै तमानखोला गाउँपालिका-५ को खुङ्खानीमा पनि धेरै खानी रहेका छन् । यस गाउँ पनि खानी खन्नेहरूकै गाउँका रूपमा लिन्छ । छन्त्याल जातिले बढी खानी खन्ने काम गर्ने गरेको स्थानीयको बुझाइ छ । तमानखोलाको धेरै ठाउँमा छन्त्याल समुदायकै बाहुल्यता रहेको छ । खुङ्खानी वरपर खानी नै खानी भएको हुँदा यस ठाउँलाई खुबैखानी भन्ने गरिकोमा अहिले त्यसको अपभ्रंश भएर खुङ्खानी भन्न थालिएको स्थानीय बुद्धीबहादुर छन्त्यालले बताउनुभयो । खानीलाई व्यवस्थित तरिकाले निकाल्न सके विकास निर्माणमा ठूलो टेवा पुग्ने उहाँ बताउनुहुन्छ । ‘पछिल्लो समय खानी उत्खननका लागि धेरै प्रविधिको विकास भएको छ, नयाँ-नयाँ यन्त्र उपकरणहरू आविष्कार भएका छन्, उति बेलाको हाम्रा पुर्खाहरूले वन जंगलमा पाइने बाँस र एउटा निगालोकै भरमा त्यति ठूला-ठूला पहरा काटेर तामा निकाल्नुभएको रैछ, अहिले राज्यले चाहृयो भने खानी उत्खनन गर्न धेरै समस्या छैन’ उहाँले भन्नुभयो, ‘त्यस बेला छन्त्याल जातिहरू भीर-पहरामा गएर खानी उत्खनन गर्नुहुन्थ्यो रे, उहाँहरूले एउटा निगालोमा आगो बालेर सुरुङभित्र पसेर घण्टौँपछि तामा निकाल्नुभएको कुरा अहिले सुनिन्छ ।’
तमानखोला गाउँपालिका-२ बोङ्खानीका जालप्रसाद छन्त्यालले पहिलेदेखि नै यस क्षेत्रमा जनजाति र दलित समुदायले तामाखानीमा काम गरेको बताउनुभयो । सामान्य घरेलु औजारको प्रयोग गरेर उतिबेला तामा निकाल्ने गरेको उहाँको भनाइ छ । खासगरी खानीभित्रै पसेर सीप भएका छन्त्याल जातिले तामाका धाउ निकाल्ने, विश्वकर्मा जातिले त्यसको प्रशोधन गर्ने र थकाली जातिले बजारीकरण गर्ने गरेको छन्त्याल बताउनुहुन्छ । अहिले आफ्नो घर वरपर अजंगका खानीका सुरुङहरू रहेको उहाँको भनाइ छ । बोङ्खानीमा पश्चिमबाट आएर छन्त्याल जातिहरूले खानी सञ्चालन गरेको उहाँले बताउनुभयो ।
छन्त्यालले भन्नुभयो, ‘तमानखोलामा जति पनि खानीहरूको नामबाट गाउँ बनेको छ, त्यहाँ धेरैजसो छन्त्याल समुदायको बाहुल्यता रहेको छ, छन्त्याल जाति र खानीको निकै घनिष्ट सम्बन्ध रहेको छ, पहिला–पहिला हाम्रा अग्रजहरूले खानीबाटै आफ्नो जीविका चलाएका रैछन्, अहिले आएर समय फेरियो, जुग जमाना फेरियो, त्यसले गर्दा खानीहरू पनि बन्द भए, पहिले उत्खनन भएका खानीका थुप्रै अवशेषहरू अझै पनि भेटिन्छन्, फेरि उत्खनन् गर्न थाल्ने हो भने यहाँका नागरिकको जीवनस्तर उकासिने थियो, आयआर्जनको माध्यम बढ्ने थियो भने रोजगार पनि सिर्जना हुने थियो ।’
तमानखोलासहित बागलुङको धेरै ठाउँको नाम खानीबाट बनेका छन् । बागलुङ नगरपालिका-९ तित्याङमा पनि तामाखानी छ । त्यहाँ पनि तामाको कच्चा पदार्थ निकाल्दा ठूलो सुरुङ निर्माण भएको छ । सिसाखानी, पाण्डवखानी, छापाखानी, लाम्मेलाखानी, राङ्खानी, भुङ्खानी, खोलाखानी, फलामखानीलगायत थुप्रै खानीका नाम छन् । जुन ठाउँमा विगतमा खानी रहेको जानकारहरू बताउँछन् । तमानखोलामा अझै बढी खानी रहेको हुँदा स्थानीयले उत्खनन गर्नका लागि माग गर्दै आइरहेका छन् । पहिले खानी रहेको स्थानमा हाल झाडी पलाएर पुरिएको छ ।
तमानखोला गाउँपालिकाका अध्यक्ष जोकलाल बुढा मगरले तमानखोलामा क्षेत्र खानीले घरिएको हुँदा उत्खनन्का लागि केन्द्र सरकारसँग सहकार्य गर्ने बताउनुभयो । गाउँपालिकाभित्रै धेरै खानी भए पनि के कति छन् भनेर यकिन गर्न नसकेको उहाँको भनाइ छ । वडा नम्बर ६ को नर्जाखानीमा रहेको तामाखानी उत्खननका लागि खानी विभागबाट समिति लिएर एउटा विज्ञ टोली अनुसन्धान गरिरहेको उहाँको भनाइ छ । तामाको परीक्षणका लागि नमुना प्रयोगशालामा पठाएको उहाँले बताउनुभयो । भारतका दुई जनासहित चार जनाको विज्ञ टोलीले नर्जाखानीमा अध्ययन गरिरहेको हुँदा अनुसन्धानपछि तामा निकाल्न सकिने सम्भावना बढी रहेको अध्यक्ष बुढा मगर बताउनुहुन्छ ।







Video News Post
Breaking News with Advertisements
Breaking news with related posts