काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले अहिलेको सत्ता समीकरण र सरकारलाई कसैले हल्लाउन नसक्ने दाबी गर्नुभएको छ । काठमाडौंको दरबारमार्गमा शुक्रबार भएको एमालेको जनजागरण सभालाई सम्बोधन गर्दै नेकपा एमाले अध्यक्षसमेत रहनुभएका प्रधानमन्त्री ओलीले वर्तमान सरकार देश र जनताको पहरेदारको रूपमा रहेको जिकिरसमेत गर्नुभयो । प्रधानमन्त्री ओलीले भन्नुभयो, ‘एमालेलाई कसैले हल्लाउन सक्दैन । अहिलेको समीकरणलाई कसैले हल्लाउन सक्दैन । सरकारलाई कसैले हल्लाउन सक्दैन । यो सरकार कमिसनखोरीका लागि होइन । मेरिटोक्रेसीको नाममा आफ्ना कार्यकर्ता भर्नका लागि होइन । जनताको विकासको चाहना पूरा गर्ने र स्थायित्व दिने गरी बनेको हो ।’
नेकपा एमाले र नेपाली कांग्रेस प्रतिस्पर्धी पार्टी भए पनि अहिले मुलुकका लागि एक ठाउँमा उभिएको जिकिर गर्दै प्रधानमन्त्री ओलीले भन्नुभयो, ‘एमाले र कांग्रेस प्रतिस्पर्धी पार्टी हुन् । तर, कांग्रेस र एमाले किन एक ठाउँमा छन् ? किनभने अहिले हामीबीचको प्रतिस्पर्धाभन्दा एकता चाहिन्छ । अराजकताको स्थिति ल्याउन खोजिएको छ । समाजलाई भाँड्न खोजिएको छ । त्यसैले हामी मिलेका छौँ । नेपाली जनताले ल्याएको लोकतन्त्र र सार्वभौम जनताको हैसियतविरुद्ध षड्यन्त्र भइरहेको छ ।’ प्रधानमन्त्री ओलीले २०८४ को मंसिरसम्म कांग्रेससँगको सत्ता समीकरण शानदार ढंगले चल्ने दाबी गर्दै भन्नुभयो, ‘आज मंसिर ७ गते एमाले सरकारमा पनि छ । सरकार बन्दैन भन्थे- बन्यो । विश्वासको मत पाउँदैन भन्थे-पायो । एक महिना, दशैँ, तिहार, कात्तिक महिना कट्दैन भन्थे- कट्यो । अब फेरि फागुनको कुरा गर्लान् । म भन्न चाहन्छु, ०८४ सालको मंसिरको चुनावसम्म अहिलेको समीकरण रहन्छ । सबैले कान खोलेर सुने हुन्छ । २०८३ असारसम्म म प्रधानमन्त्री रहन्छु । म प्रधानमन्त्री छोडेर देउवाजीलाई जिम्मा लगाउँछु । मैले अब १८ महिना चलाउँछु । त्यसपछि देउवाले १८ महिना चलाउनुहुन्छ, भ्रममा नपर्नुस् ।’
‘चीन भ्रमण अत्यन्तै सफल हुनेछ’
प्रधानमन्त्री ओलीले मंसिर १७ गतेबाट हुने चीन भ्रमण अत्यन्तै सफल हुने दाबीसमेत गुर्नभएको छ । चीन भ्रमण अत्यन्तै सफल बनाउने गरी तयारी भएको जानकारी दिँदै प्रधानमन्त्री ओलीले भन्नुभयो, ‘प्रधानमन्त्रीको हैसियतमा यही मंसिर १७ गतेबाट चीनको भ्रमणमा जाँदै छु । चीन भ्रमण अत्यन्तै सफल हुन्छ । चीनबाट फर्किएपछि कसरी सफल भयो ?, थाहा पाउनुहुने छ । म पनि भन्नेछु । त्यत्तिकै चीन घुमेर आउन होइन, देशको भलाइका लागि जान लागको हुँ । विदेश सम्बन्ध र भ्रमणलाई उदाहरणीय बनाउने पक्षमा लागेको छु ।’ छिमेकीसँग सुदृढ सम्बन्ध बनाउन चाहेको भन्दै ओलीले कता पहिले जाने भन्ने कतै नलेखिएको स्पष्ट पार्दै भन्नुभयो, ‘हामी भौगोलिक अखण्डताको रक्षा गर्दै, राष्ट्रिय हित गर्दै छिमेक सम्बन्धलाई सुदृढ बनाउन चाहन्छौँ । तर, पहिले कता जानुपर्ने कता गयो भन्ने हल्ला छ । कता जानुपर्ने ? धर्मशास्त्र, कानुन, संयुक्त राष्ट्रसंघको बडापत्रमा कहाँ लेखिएको छ, पहिले कहाँ जानुपर्ने भनेर ? यो सबै वाहियात हो । सबै छिमेकीसँग पारस्परिक सम्बन्धका आधारमा समान व्यवहार गर्छौं । कोही शत्रु छैन । वैरभाव राख्दैनौँ ।’
अर्थतन्त्र खलबल्याउन कम्बोडियामा लगानीको अफवाह फैलाइएको टिप्पणी
प्रधानमन्त्री ओलीले मुलुकको अर्थतन्त्र र मौद्रिक नीतिलाई खलबल्याउन कम्बोडियाको टेलिकममा आफ्नो लगानी रहेको अफवाह फैलाइएको भन्दै आपत्ति जनाउनुभएको छ । कम्बोडियाको टेलिकममा लगानी गरेको अफवाह फैलाउनुभन्दा तथ्यसहित बहस गर्न चुनौती दिँदै प्रधानमन्त्री ओलीले भन्नुभयो, ‘म विभिन्न पार्टीका नेता साथीहरूलाई भन्न चाहन्छु । के तपाईंहरू साँच्चै बहस गर्न सक्नुहुन्छ नेकपा एमालेसँग ? तथ्यसहित बहस गर्न सक्नुहुन्छ । भन्दिए त भयो नि, कम्बोडियामा ३२ हजार करोड, २१ हजार करोड डलर, स्विस बैंकमा यति हजार ? यस्ता फाल्तु कुराहरू गरेर केही छैन । देशको अर्थतन्त्र र मौद्रिक नीतिलाई खलबल्याउन र ध्वस्त बनाउनका लागि यस्ता कुराहरू भएका हुन् । हामीमाथि लगाएका आरोपहरू वास्तवमा खण्डन र चर्चा गर्न लायकका पनि छैनन् ।’
‘भ्रष्टाचार र ठगी सहृय छैन’
प्रधानमन्त्री ओलीले कुनै पनि किसिमको भ्रष्टाचार र ठगी सहृय नहुने चेतावनी दिनुभएको छ । आफू नेतृत्वको सरकार सरकारी ढिलासुस्ती, अकर्मण्यता र उल्झनलाई समाप्त पारेर अघि बढिरहेको जिकिर गर्नुभएका प्रधानमन्त्री ओलीले समाजमा अराजकता र भ्रम फैलाउनेहरूलाई नछोड्ने चेतावनी दिँदै भन्नुभयो, ‘हामी सुन्छौँ कहिले बैंकको ऋण तिर्नुपदैन भनेर कराएर हिँड्छ । बैंकको ऋण लिएपछि तिर्नु पर्दैन ? तिर्नुपर्दैन भनेर कराएर हिँड्छ किनभने देशको अर्थतन्त्र र मौद्रिक स्थितिलाई छ्यालब्याल, अस्तव्यस्त र ध्वस्त बनाउन । त्यसपछि अर्को अभियान चल्छ-उद्यमी, व्यवसायी र मारवाडीहरूलाई खेद भनेर अभियान चल्छ । केही उद्योग चलिरहेका छन् भने उद्योगको लाइन काट्ने ? अर्को प्रवृत्ति पनि छ, आफैँ सहकारी ठगी गर्ने अरूलाई मुख छाड्ने ? गाली गर्ने ? कुनै पनि प्रकारको भ्रष्टाचार र ठगी सहृय हुनेछैन । ढाँटवादलाई लोकप्रियतावाद भन्न मिल्दैन ।’
एमालेलाई समाप्त पार्न प्रपञ्च भइरहेका छन् : पोखरेल
नेकपा एमालेका महासचिव शंकर पोखरेलले पार्टीलाई समाप्त पार्नका लागि अनेक प्रपञ्च भइरहेको दाबी गर्नुभएको छ । तर, एमाले देश बनाउने अभियानमा रहेको सच्चाइलाई आम जनताले बुझ्नुपर्ने जिकिर गर्दै महासचिव पोखरेलले भन्नुभयो, ‘विकास र समृद्धिको अभियानमा होस् या सामाजिक सुरक्षासहितको लोक कल्याणकारी राज्य स्थापनामा एमालेले पहल गर्दै आएको छ । तर, हाम्रो पार्टीलाई समाप्त पार्नका लागि अनेक प्रकारका प्रपञ्चहरू भइरहेका छन् । पहिले महाकाली सन्धिका नाममा पार्टीलाई विभाजन गरियो,अहिले पनि यस्तै प्रपञ्चहरू जारी छ ।’ कम्बोडियाको टेलिकममा केपी ओलीको लगानी भनेर स्याल हुइँ्या मच्चाउने प्रयत्न भइरहेको टिप्पणी गर्दै महासचिव पोखरेलले भन्नुभयो, ‘हाम्रो अध्यक्षले भन्नुभएको छ, लगानी प्रमाणित गरून् त्यसमा थपेर त्यो लगानी त्यही व्यक्तिलाई प्रदान गर्छु । फेरि त्यही कुरा दोहोर्याएर अध्यक्ष ओलीलाई प्रहार भइरहेको छ । कम्बोडियामा आइक्यापको अधिवेशनमा सबै राजनीतिक दलका नेता सहभागी भए पनि एमाले र पार्टीका नेतालाई जोडेर बदनाम गर्ने काम भइरहेको छ ।’ महासचिव पोखरेलले मुलुकको संकट समाधानका लागि अहिलेको सरकार बनेको दाबीसमेत गर्नुभयो । अस्थिर सरकार हुँदा नेपालको विकास नभएको तर्क गर्दै पोखरेलले भन्नुभयो, ‘चीन र भारतमा लगातार स्थिर सरकार हुँदा उनीहरू विकास र समृद्धिको मार्गमा हिँडेका छन् । तर, हामीले एक दशकमा एक दर्जन बढी प्रधानमन्त्री बनाइसक्यौँ । यसैले हामी अस्थिरतामा रुमल्लिएका हौँ । मुलुकलाई निर्णायक राष्ट्रिय शक्तिको खाँचो छ । एमालेले मात्रै मुलुकलाई संकटबाट बाहिर निकाल्ने सामथ्र्य राख्दछ । विकास र समृद्धिको अगुवाइ गरेर देश बनाउने काम एमालेले गर्न सक्दछ ।’







This is breaking news.
Video News Post
Breaking News with Advertisements
Breaking news with related posts