काठमाडौं । नेपाल वायुसेवा निगमले अन्तर्राष्ट्रिय भाडादरमा छुट दिएको छ ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयबाट विशेष निर्देशन भए बमोजिम राष्ट्रिय ध्वजावाहकले अन्तर्राष्ट्रिय गन्तव्यको भाडा दरमा छुट उपलब्ध गराएको निगमका प्रवक्ता रमेश पौडेलले जानकारी दिनुभयो ।
उहाँले भन्नुभयो, “दिल्ली, मुम्बई र वैङ्गलोर गन्तव्यको भाडादरमा रु दुई हजार पाँच सय सम्म र दोहा, दुवई, दमाम, क्वालालम्पुर, हङकङ, बैङ्कक र नारिताका लागि बजार भाडादरमा रु पाँच हजारसम्म छुट उपलब्ध गराइएको छ ।”
निगमले बिहीबार विज्ञप्ति जारी गरी दिल्ली, मुम्बई र बैंगलोर सेक्टरको लागि बजार भाडादरमा दुई हजार पाँच सय रुपैयाँसम्म छुट दिने जनाएको छ। त्यस्तै, दोहा, दुबई, दमाम, क्वालालम्पुर, हङकङ, वैंकक र नारिता सेक्टरको लागि बजार भाडादरमा पाँच हजार रुपैयाँसम्म छुट दिने निगमले जनाएको छ ।
उक्त छुट जहाजको सिट उपलब्धता अनुसार पहिलो आउनेलाई पहिलो प्राथमिकताको आधारमा उपलब्ध हुनेछ । सो को लागि यात्रु स्वयं परिचय पत्रसहित उपस्थित हुनुपर्नेछ ।
नेपाल वायुसेवा निगमको सामाजिक उत्तरदायित्व अन्तर्गत २०२४ नोभेम्बर १ देखि २२ तारिख सम्मको अवधिमा सम्बद्ध परिवारलाई थोरै भए पनि राहत पुगोस् भनि डाक्टरको रिपोर्ट र नेपाल क्यान्सर रिलिफ सोसाइटिको सिफारिसमा निगमको काठमाडौं–दिल्ली– काठमाडौं सेक्टरको हवाई भाडादरमा ३७ जना अर्बुदरोग भएका बिरामीलाई १०० प्रतिशत छुटमा, ३३ जना निज बिरामीहरूका कुरुवाहरूलाई ५० प्रतिशत छुटमा टिकट उपलब्ध गराइएको छ ।
बुधबार संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री पाण्डेले अन्तर्राष्ट्रिय उडान भर्ने हवाई कम्पनीहरुलाई २४ घण्टाभित्र हवाई भाडादर उपलब्ध गराउन निर्देशन दिनुभएको थियो ।
मन्त्रालयमा एयरलाईन्स कम्पनीका प्रतिनिधिहरुसँग छलफल गर्दै मन्त्री पाण्डेले बिहीवार दिउँसो ४ बजेभित्र भाडादर उपलब्ध गराउन निर्देशन दिनुभएको थियो । एयरलाइसका प्रतिनिधि र क्यानबीच भएको पाँच बुँदे सम्झौता झारो टार्ने काम गर्दै अचाक्ली भाडा लिएको भन्दै मन्त्री पाण्डेले नेपाल वायुसेवा निगम र हिमालय एयरलाइन्सलाई सचेत समेत गराउनु भएको थियो ।







Video News Post
Breaking News with Advertisements
Breaking news with related posts