काठमाडौं । पूर्वसभामुख दमननाथ ढुंगानाको पशुपतिनाथस्थित आर्यघाटमा राजकीय सम्मानसाथ अन्त्येष्टि गरिएको छ । त्यस अवसरमा नेपाली सेनाको एक टुकडीले दिवंगत ढुंगानाको सम्मानमा सलामी अर्पण गरेको थियो । ढुंगानाको पार्थिव शरीरमा उहाँका छोराहरूले दागबत्ती दिनुभयो । पूर्वसभामुख ढुंगानाको सम्मानमा १७ तोपको सलामीसमेत दिइएको थियो । कलेजोसँग सम्बन्धित समस्याका कारण केही समयदेखि उपचाररत पूर्वसभामुख ढुंगानाको पुरानो बानेश्वरस्थित फ्रन्टलाइन अस्पतालमा ८३ वर्षको उमेरमा आइतबार दिउँसो निधन भएको थियो ।
पूर्वसभामुख ढुंगानाप्रति श्रद्धाञ्जली अर्पण गर्न सभामुख देवराज घिमिरे, राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहाल, प्रधानन्यायाधीश प्रकाशमानसिंह राउत, उपसभामुख इन्दिरा राना, पूर्वप्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, उपप्रधानमन्त्री, मन्त्री गण, विभिन्न राजनीतिक दलका नेता तथा कार्यकर्ता, सांसद तथा विभिन्न पेसा व्यवसायमा आबद्ध व्यक्ति तथा सर्वसाधारण आर्यघाट पुगेका थिए ।
अस्पतालमा निधन हुनासाथ ढुंगानाको पार्थिव शरीर त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालस्थित शवगृहमा राखिएकामा सोमबार बिहान ज्ञानेश्वरस्थित सानो गौचरणमा ल्याई उहाँप्रति श्रद्धाञ्जली अर्पण गरिएको थियो । प्रधानमन्त्री, सभामुख, नेपाली कांग्रेसका सभापतिसहित विभिन्न राजनीतिक दलका नेता सानो गौचरण पुगेर उहाँप्रति श्रद्धाञ्जली प्रकट गरे । नेपाल सरकारले सोमबार उहाँकोे राजकीय सम्मानका साथ अन्त्येष्टि गर्ने निर्णय गरेको थियो । उहाँको योगदानको सम्मान गर्दै सरकारले सोमबार सार्वजनिक बिदासमेत दिएको थियो । विसं २०४८ मा काठमाडौं निर्वाचन क्षेत्र नं २ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएपछि उहाँ प्रतिनिधि सभाको सभामुख बन्नुभएको थियो । नेपालको संसदीय व्यवस्था र प्रजातान्त्रिक मूल्य मान्यतालाई संस्थागत गर्न उहाँको योगदान छ । विसं २०४७ को संविधान निर्माणका लागि गठित आयोगको सदस्यसमेत रहेका ढुंगानाले मुलुकमा अहिले देखिएको राजनीतिक अस्थिरताको अन्त्य गर्दै संघीयतालाई सबल बनाउन वर्तमान संविधान संशोधनका लागि कानुनका ज्ञाता र राजनीतिक व्यक्तित्वसँग छलफल चलाउँदै आउनुभएको थियो ।
संसदीय प्रणाली सुदृढ बनाउन ढुंगानाको भूमिका महत्वपूर्ण : प्रधानमन्त्री
प्रधानमन्त्री केपी शर्मा शर्मा ओलीले पूर्वसभामुख दमननाथ ढुंगानाले नेपालमा संसदीय प्रणाली सुदृढ बनाउन महत्वपूर्ण भूमिका निर्वाह गरेको बताउनुभएको छ । ढुंगानालाई श्रद्धाञ्जली व्यक्त गर्दै प्रधानमन्त्री ओलीले उक्त कुरा बताउनुभएको हो । पूर्वसभामुख ढुंगानाको आदर्शबाट आफू प्रेरित भइरहने प्रधानमन्त्री ओलीको भनाइ थियो । सोमबार काठमाडौंको नयाँ गौचरणमा राखिएको ढुंगानाको पार्थिव शरीरमा अन्तिम श्रद्धाञ्जली अर्पण गर्ने क्रममा प्रधानमन्त्री ओलीले सञ्चारकर्मीमाझ सो कुरा बताउनुभएको हो । ढुंगानालाई संसदीय प्रणालीलाई सुदृढ बनाउने उन्नत र व्यवस्थित सोच भएको व्यक्तित्वको रूपमा पनि ओलीले चित्रण गर्नुभएको थियो । जनप्रतिनिधिहरूको संस्था संसद्लाई कसरी सुदृढ गर्ने ? भन्ने कुरामा ढुंगानासँग उन्नत र व्यवस्थित सोच रहेको ओलीको भनाइ थियो । ‘संसद्लाई जीवन्त र बलियो कसरी बनाउने ? संसदीय प्रणालीलाई जनप्रतिनिधिहरूको संस्था संसद्लाई कसरी सुदृढ गर्ने ? भन्ने कुरामा उहाँसँग एउटा उन्नत र व्यवस्थित सोच थियो,’ ओलीले भन्नुभयोे, ‘त्यही सोचले नेपालको संसदीय प्रणालीलाई सुदृढ बनाउन महत्वपूर्ण योगदान रहेको छ । उहाँ अत्यन्त मृदुभाषी व्यक्तित्व, सबैका प्रिय हुनुहुन्थ्यो । हामी उहाँका आदर्शहरूबाट प्रेरित रहनेछौँ । उहाँले देखाउनुभएको बाटो लोकतन्त्रको पक्षमा दुढतापूर्वक उभिन्छौँ ।’
संसद् विपक्षको भन्ने ढुंगानाले स्थापित गर्नुभयो : देउवा
नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले पूर्वसभामुख दमननाथ ढुंगानाले सरकार बहुमतको र संसद् विपक्षीको भन्नेकुरा स्थापित गराएको बताउनुभएको छ । सोमबार सानो गौचरणमा पूर्वसभामुख ढुगानाको पार्थिव शरीरमा अन्तिम श्रद्धाञ्जली दिन पुग्नुभएका सभापति देउवाले उक्त कुरा बताउनुभएको हो । नेपाली कांग्रेसबाट सभामुख बनेको र निष्पक्ष रूपमा काम गरेको देउवाले स्मरण गर्नुभयो । ढुंगाना सभामुख रहेको बेला कांग्रेस पार्टीलाई अप्ठ्यारो बनाएको महसुस त्यो बेलामा गरे पनि अहिले आएर होइन भन्ने कुरा भान भएको देउवाको भनाइ छ । ‘दमननाथजी वास्तवमै राम्रो मान्छे हो । उहाँको डेथ भयो । हाम्रो पार्टीबाट सभामुखमा छिर्नुभएको हो । उहाँले निष्पक्ष रूपमा काम गर्नुभयो । पार्टीलाई त वास्तवमा अप्ठ्यारोमै पारेको जस्तो लाग्थ्यो तर थाहा पाउन दिनुभएन वास्तवमा । सभामुखको काम नै त्यही हो । प्रतिपक्षको सदन र सरकार बहुमतको भन्ने कुरा उहाँले स्थापित गराउनुभयो,’ देउवाले भन्नुभयोे, ‘उहाँ नेपालमा सरकार बहुमतको, विपक्षीको संसद् भन्ने कुरा स्थापित गराउन सफल हुनुभयो । हाम्रो पार्टीलाई अप्ठ्यारो पार्नुभयो भन्ने महसुस गरेका थियौँ, तर वास्तवमा त्यो होइन रहेछ ।’
ढुंगानालाई नेपाली जनताले लोकतान्त्रिक व्यक्तित्वको रूपमा सम्झिनेछन् : प्रचण्ड
नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले दमननाथ ढुंगानाले शान्ति सम्झौता र संविधान सभाको वातावरण बनाउन अविस्मरणीय योगदान गरेको बताउनुभएको छ । सोमबार पूर्वसभामुख ढुंगानालाई अन्तिम श्रद्धाञ्जली दिन सानो गौचरण पुगेका दाहालले यस्तो बताउनुभएको हो । ढुंगानालाई नेपालको लोकतान्त्रिक आन्दोलनको एउटा ऐतिहासिक व्यक्तित्वको रूपमा नेपाली जनताले सधैँ सम्झिरहने दाहालले बताउनुभयो । ‘उहाँ र पद्मरत्न तुलाधर दुईजना व्यक्तित्वले शान्ति सम्झौताको वातावरण र संविधान सभाको वातावरण बनाउन र देशलाई लोकतान्त्रिक गणतन्त्रमा ल्याउन खेलेको भूमिका अविस्मरणीय ठान्छु,’ प्रचण्डले भन्नुभयोे, ‘शान्ति सम्झौताको तयारीको क्रममा उहाँसँग विशेष सम्बन्ध भयो । नेपाली जनताले लोकतान्त्रिक व्यक्तित्वको रूपमा उहाँको योगदानलाई लिनेछन् ।’ माओवादी शान्ति प्रक्रियामा आउने क्रममा ढुंगाना र पद्मरत्न तुलाधरले वातावरण बनाएको दाहालले स्मरण गर्नुभयो ।
संसद्लाई बलियो बनाउन ढुंगानाको भूमिका अविस्मरणीय : सभामुख
सभामुख देवराज घिमिरेले पूर्वसभामुख दमननाथ ढुंगानाले संसद्लाई बलियो बनाउन महत्वपूर्ण भूमिका निर्वाह गरेको बताउनुभएको छ । सोमबार पूर्वसभामुख ढुंगानाप्रति अन्तिम श्रद्धाञ्जली व्यक्त गर्न सानो गौचरण पुगेका सभामुख घिमिरेले उक्त कुरा बताउनुभएको हो । संसद्लाई कसरी बलियो बनाउने भन्नेबारे महत्वपूर्ण योगदान दिएको बताउँदै घिमिरेले संसद्लाई कसरी बलियो बनाउने भन्ने प्रेरणाको स्रोतको रूपमा ढुंगानालाई आफूले लिएको बताउनुभयो । ढुंगानालाई प्रजातन्त्र आइसकेपछि संसदीय मूल्य, मान्यतालाई प्रभावकारी ढंगबाट कार्यान्वयन गर्न अगुवाइ गर्ने व्यक्तिका रूपमा आफूले चिनेको सभामुख घिमिरेको भनाइ थियो । ढुंगानालाई संसद् सञ्चालन र संसद्को भूमिकाको बारेमा सिक्नुपर्ने एउटा अगुवाको रूपमा आफूले सम्झिने सभामुख घिमिरेले बताउनुभयो ।

बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
राजनीतिक नेतृत्व अभिभावक बन्ने कि
नेपाली राजनीति र वाराणसीका पण्डा