रूपन्देही । आइपिओ निष्कासनको तयारी गरेको सिद्धार्थ केबलकार लिमिटेडले हकप्रद सेयर निष्कासनको पनि तयारी गरेको छ । त्यसका लागि कम्पनीले मंसिर १४ गते विशेष साधारणसभा आहृवान गरेको छ । कात्तिक २८ मा बसेको सञ्चालक समितिको बैठकले हकप्रद सेयर निष्कासन, प्रबन्धपत्रमा केही नियमावलीका केही बँुदामा संशोधनलगायतका विषयमा निर्णय लिन विशेष साधारणसभा आहृवान गरेको हो । सिद्धार्थ केबलकारले कम्पनीका सेयरधनीलाई एक सेयर बराबर १.१२५ को अनुपातमा हकप्रद सेयर निष्कासनको तयारी गरेको हो ।
हकप्रद सेयर निष्कासनपछि कम्पनीको चुक्ता पुँजी एक अर्ब २७ करोड ५० लाख पुग्नेछ । कम्पनीलाई एक अर्ब ५० करोडको बनाइँदैछ । बाँकी २२ करोड ५० लाखका लागि प्रचलित कानुनअनुसार सार्वजनिक सेयर (आइपिओ) निष्कासन गरिने कम्पनीका प्रबन्ध सञ्चालक प्रभुलाल अधिकारीले बताउनुभयो । बुटवल उपमहानगरपालिका १ बाट पाल्पाको तिनाउ गाउँपालिकाको नुवाकोटलाई जोड्ने यो केबलकारको बटम स्टेसन र टप स्टेसनमा पूर्वाधार निर्माण भइरहेको छ ।
नुवाकोटको ऐतिहासिकतालाई उजागर गर्दै उत्कृष्ट पर्यटकीय गन्तव्यका रूपमा चिनाउने गरी काम गरिएको कम्पनी सञ्चालक समितिका अध्यक्ष इञ्जिनियर राजेन्द्रसिंह गुरुङले जानकारी गराउनुभयो । निर्माणकै क्रममा रहेको केबलकार गत दशैँबाट अनौपचारिक सञ्चालनमा आएको हो । जसमा हालसम्म ७५ हजारभन्दा बढी पर्यटकले यात्रा गरी नुवाकोट अवलोकन गरेका छन् ।
केबलकारको दूरी दुई किलोमिटरको रहेको छ । जसमा २५ गोण्डुला रहेका छन् । एउटा गोण्डुलामा आठ यात्रु क्षमता रहेको छ । बटम स्टेसनबाट टप स्टेसनमा पुग्न नौ मिनेटको समय लाग्ने कम्पनीले जनाएको छ ।
कम्पनी सञ्चालक समितिको बैठकले मंसिर १ गतेदेखि लागू हुने गरी केबलकारको एकतर्फी र दुर्ईतर्फी भाडा निर्धारण गरेको छ । जसमा एकजनाको दुर्ईतर्फी भाडा सात सय र एकतर्फी चार सय रुपैयाँ निर्धारण गरिएको छ । २०८१ चैतसम्म विशेष छुटसहित तीन सय ५० रुपैयाँमा दुईतर्फी यात्रा गर्न सकिनेछ । त्यसैगरी नेपालबाहेक सार्क राष्ट्रबाट आउने पर्यटकका लागि एक हजार र अन्य देशका पर्यटकका लागि १५ डलर लाग्नेछ । त्यसमा पनि सार्क राष्ट्रकालाई यो अवधिका लागि एकजना पर्यटकको दुर्ईतर्फी भाडा पाँच सय ५० र सार्कबाहेकका राष्ट्रबाट आएका पर्यटकका लागि सात डलर कायम गरिएको कम्पनीले जनाएको छ ।







देशका अधिकांश जिल्लामा वर्षा, सतर्कता