राजविराज । आम जनता पार्टीका अध्यक्ष प्रभु साहले मधेश केन्द्रीत दुई दलका अध्यक्षको आलोचना गर्नुभएको छ ।
साहले जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवलाई ‘डराएको मुसो’ र जनमत पार्टीका अध्यक्ष डा. सिके राउतलाई ‘छेपारो’ को संज्ञा दिनुभएको छ ।
आइतबार बिहान राजविराजमा आयोजित पत्रकार सम्मेलनमा प्रतिनिधि सभा सदस्य समेत रहेका साहले भन्नुभयो, ‘अहिले जसपा नेपाल अध्यक्ष पानीमा काँपेर बसेको मुसा जस्तै अवस्थामा छन् । उनी सत्ता पक्ष कि प्रतिपक्ष अहिले चिन्नै गाह्रो भएको छ ।’
उहाँले रङ्ग फेर्ने छेपारोको संज्ञा जनमतका अध्यक्ष राउतलाई दिनुभयो । ‘रबी लामिछाने पक्राउ पर्दा विरोध गर्ने सिके राउत सत्ता पक्षमा गएर हस्ताक्षर गरे’ उहाँले भन्नुभयो। यद्यपि यो दुई पार्टीमा देश बनाउने, सङ्घीयताका लागि लड्ने राम्रा नेताहरू पनि रहेको उहाँले बताउनु भयो ।
अध्यक्ष साहले आफ्नो पार्टीको मधेश प्रदेश समितिले भ्रष्टाचारविरुद्धको जनजागरण अभियान शुरु गरेको बताउनु भयो । भ्रष्टाचार के हो ? यसलाई हटाउन जनताको भूमिका कस्तो हुनुपर्छ ? जस्ता विषयमा जनजागरण ल्याउन अभियान शुरु गरिएको उहाँले बताउनु भयो ।
‘भ्रष्टाचार गर्नेलाई जनताको निगरानी छैन’ उहाँले भन्नुभयो, ‘भ्रष्टाचारविरुद्ध जबसम्म जनताका चेतना आउँदैन, तबसम्म यो नियन्त्रण हुँदैन ।’
आफ्नो अभियानलाई रोक्न सरकार लागिपरेको आरोप उहाँले लगाउनु भयो । ‘राजविराज आउने क्रममा शनिबार ठाउँठाउँमा रोकेर प्रहरीले अनावश्यक दुःख दिएका छन्’ उहाँले भनुभयो, ‘माथिल्लो आदेश भन्दै प्रहरीले यसरी दुःख दिएको पाएको उहाँले बताउनु भयो ।






