डडेल्धुरा । सुदूरपश्चिमको प्रसिद्ध उग्रतारा मेला (देहिजाँत) भोलि शनिवारका दिन लागिरहेको छ ।
स्वयं प्राकट्य शक्ति स्वरुपा प्रसिद्ध भगवती देवी श्री उग्रताराको मन्दिरमा कार्तिक शुक्ल पक्ष पूर्णिमाका दिन वर्षेनी लाग्ने मेलामा डडेल्धुरा लगायत सुदूरपश्चिमका पहाडी तथा तराई क्षेत्रमा बसोबास गर्ने सर्बसाधारण श्रद्धालु भक्तजनहरुको ठूलो भिड लाग्ने गरेको छ ।
डडेल्धुरा लगायत सुदूरपश्चिमका सिमाबर्ती जिल्लाका सर्बसाधारणका लागि पर्वको रुपमा मनाईने उग्रतारा मेला हेर्न लाखौं दर्शनार्थीहरु आउने गरेका छन् ।
डडेल्धुरा जिल्लाको सदरमुकामबाट हालको अमरगढी नगरपालिका वडा नं. ८, डडेल्धुरा–बैतडी राजमार्गसँगै अग्लो रमणिय डाँडामा अवस्थित प्राचीन प्रसिद्ध श्री उग्रतारा माताको देवीस्थानका बारेमा बिभिन्न किंबदन्तीहरु रहपनि परापूर्वकालमा नजिकै बसोबास रहेको लटाउली गाउँका साँकी परिवारको किसानले हलो जोत्दै गर्दा हलोको फालीमा देवीको शीला अडकिएपछि निरन्तर रगतको धारा बगेको र रोक्न प्रयास गर्दा देवीले दर्शन दिएको भन्ने भनाइ रहेको छ ।
आकस्मिक रुपमा प्रकट भएकी देवीले आफ्नो रुपको बारेमा किसानलाई ज्ञात गराएको र बग्दै गएको रगतलाई स्थानीय किसानले आफूले खान ल्याएको भोजनबाट साम्य पारेको भन्ने लोकश्रुति रहिआएको छ । तत्कालिन अवस्थामा स्थानीयको सरसल्लाह बमोजिम प्रकट भएको तिथि मितिका आधारमा कार्तिक शुक्ल पूर्णिमाका दिन हरेक वर्ष देवीको भव्य पूजाअर्चना गरिने परम्परा बमोजिम त्यस दिन देखि मेलाको रुपमा स्थापित हुदै आएको संस्कृतिबिदको भनाई छ ।
मेलाको अघिल्लो रात मन्दिरमा आउने चार देउराहरुले भंण्डारघर तथा भगवती खलामा रतेडि मनाएर मेलाका दिन ब्रह्म मुहुर्तमा चारै देउराको संगम गराई भित्र्याउने र देवीको प्रसादको रुपमा टीका तिलकप्रसाद दिने प्रचलन रहेको छ ।






