काठमाडौं । नेकपा एमालेका पोलिटब्युरो सदस्य एवम् पूर्वमन्त्री पार्वत गुरुङले दोलखाको समग्र विकास एमालेबाहेक अरुले गर्न नसक्ने बताउनुभएको छ ।
नेकपा एमाले दोलखा–काठमाडौं सम्पर्क मञ्चको छैठौं पूर्ण बैठकलाई बुधबार सम्बोधन गर्नुहुँदै उहाँले दोलखाली जनताले अपेक्षा गरेअनुरुपको विकास गर्न नेकपा एमाले मात्रै सक्षम रहेकाले अन्य पार्टीबाट सम्भव नरहेको बताउनुभएको हो ।
अहिलेसम्म जिल्लामा जेजति विकासका काम भएका छन् ती सबैको नेतृत्व नेकपा एमालेबाटै हुँदै आएको चर्चा गर्नुहुँदै उहाँले आगामी दिनमा पनि एमालेकै नेतृत्वले दोलखालाई समृद्ध बनाउने विश्वास व्यक्त गर्नुभयो । ‘दोलखामा अहिलेसम्म जति विकास भएको छ त्यो सबै एमालेको नेतृत्वबाट सम्भव भएको हो,’ पूर्वमन्त्री गुरुङले भन्नुभयो, ‘दोलखालाई समृद्ध बनाउन अझै धेरै काम गर्नुपर्ने छ । त्यसका लागि जिल्लाबाट सङ्घ र प्रदेशमा एमालेको प्रतिनिधित्व र सबै पालिका तथा वडाहरूमा एमालेको नेतृत्व अनिवार्य छ । त्यसका लागि सन्निकट रहेको गौरीशंकर गाउँपालिकाको उपाध्यक्ष पदको निर्वाचन एमालेले जित्नु जरुरी छ ।’
नेकपा माओवादीका नेताहरू स्थानीय, प्रदेश र संघको नेतृत्वमा पुग्दा विकास गरेजस्तो देखाएर व्यापक कमिसन खाएको आरोप पूर्वमन्त्री गुरुङको छ । विकासका नाममा कमिसनको जालो फिजाउने पार्टी र त्यसको नेतृत्वबाट दोलखाली जनतामा समृद्धि नआउने उहाँले बताउनुभयो । ‘दोलखामा माओवादीले विकासको नाममा कमिसनको व्यापक चलखेल गरेको छ । त्यस्तो पार्टीबाट दोलखाली जनता सुरक्षित छैनन्,’ उहाँले प्रश्न गर्दै भन्नुभयो, ‘२०६४ सालमा माओवादीले जितेको थियो जिल्लाको विकास कति गर्यो, के–के गर्यो रु हामीले देखेकै छौँ, जनताले हेरेकै छन् ।’
दोलखामा स्थापित सबै राजनीतिक दल भन्दा स्वाभिमानी र नैतिक बल उच्च भएको पार्टी एमाले मात्रै भएको बताउनुहुँदै उहाँले दोलखामा अपुग विकास एमालेकै नेतृत्वले गर्ने र विकास एउटा निरन्तर प्रक्रिया भएको बताउनुभयो । विकासको काममा एमाले कयौँ गुणा अगाडि रहेका कारण मंसिर १६ गते गौरीशंकर गाउँपालिकालगायत स्थानीय तहहरूमामा हुने निर्वाचन एमालेले नै जित्नुपर्ने तर्क उहाँको थियो । एमाले प्रचारमा भन्दा काममा विश्वास गर्ने पार्टी भएको तर्क उहाँले गर्नुभयो ।
यस्तै, उहाँले नयाँ पार्टीले केही गर्छ भन्ने भ्रम समेत चिरिएको पछिल्लो अवस्थामा एमाले रोज्नुको विकल्प नरहेको बताउनुभयो । लोकतन्त्र र गणतन्त्र ल्याउनु नै गलत भयो भन्ने भाष्य सृजना गरेर सामाजिक सञ्जालको सहारामा नेता बनेकाहरूको असली हविगत दिनप्रतिदिन उजागर हुँदै गएकाले मूलधारका पार्टीबाटै मुलुकको विकास र समृद्धि सम्भव रहेको स्पष्ट गर्नुभयो । ‘नेता जनताले बनाउने हो र जनताले बनाएका नेता नै लामो समयसम्म टिक्न सक्छन्,’ नेता गुरुङले भन्नुभयो, ‘सामाजिक सुञ्जालले बनाएको नेता अब टिक्दैनन् । लामो समय टिक्दैनन् । त्यो देखिइसकियो ।’
यस्तै, उहाँले एमाले पार्टी बलियो रहेकै कारण अहिले चौतर्फी रुपमा प्रहार भइरहेको र पार्टीमाथि भइरहेको आक्रमणविरुद्ध आगामी मंसिर ७ गते काठमाडौंमा जागरण सभा आयोजना गर्न लागिएको जानकारी पनि बैठकलाई दिनुभयो । मुलुकमा बढ्दो अराजकता र अस्थिरताविरुद्ध लोकतन्त्र, शान्ति, राष्ट्रिय एकता, सामाजिक सद्भाव, सुशासन, समृद्धि र विकासका लागि विधिको शासन र कानुनी राज्यका पक्षम जनमत निर्माण गर्न सो जागरण सभा गर्न लागिएको उहाँले बताउनुभयो ।
एमाले कमजोर पार्दा मात्रै आफू अघि जान सकिन्छ भन्ने सोचबाट अन्य राजनीतिक पार्टी र विभिन्न शक्तिहरू लागि परेको अवस्थामा पार्टीले सो सभा आयोजना गर्न लागेको उहाँको भनाइ थियो ।
मञ्चका अध्यक्ष उमेश खड्काको नेतृत्वमा सम्पन्न बैठकमा नेताहरू सरस्वती बस्नेत, श्याम कुमार बस्नेत, सुरोजंग पाण्डे, राम प्रसाद रिमाल, राम पाण्डे, सरोजमोहन लामा, अमृत खड्का, महाराज गुरुङ, डिल्ली बराइली, तीर्थ खड्का, गणेश शिबाकोटीलगायत सहभागी हुनुहुन्थ्यो । बैठकले मञ्चका अघिल्ला गतिविधिहरूको समीक्षा गर्दै मंसिर १६ गते गौरीशंकर गाउँपालिकामा हुने उपनिर्वाचनमा सशक्त भूमिका निर्वाह गर्न विभिन्न निर्णय गरेको मञ्चका सचिव नारद खड्काले जानकारी दिनुभयो ।







This is breaking news.
Video News Post
Breaking News with Advertisements
Breaking news with related posts