काठमाडौं । त्रिशूली नदी र त्यसका सहायक खोलाहरूमा निर्माणाधीन तथा निर्माण हुने जलविद्युत् आयोजनाबाट उत्पादित विद्युत् राष्ट्रिय प्रणालीमा प्रवाह गर्न सुरु गरिएको चिलिमे–त्रिशूली २२० केभी प्रसारण लाइनको निर्माण सम्पन्न भएको छ । रसुवाको आमाछोदिङमो गाउँपालिका थम्बुचेतस्थित चिलिमे हब सबस्टेसनदेखि नुवाकोटको किस्पाङ गाउँपालिकाको पहिरेबेंंसीस्थित त्रिशूली थ्री बी हब सबस्टेसनसम्मको २८ किलोमिटर प्रसारण लाइन निर्माण सम्पन्न भएको नेपाल विद्युत् प्राधिकारणले जनाएको छ ।
दशैँ र तिहारको सार्वजनिक बिदामा समेत कर्मचारी, निर्माण व्यवसायी अहोरात्र खटी प्रसारण लाइन निर्माण सम्पन्न गरिएको प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बताउनुभयो । प्राधिकरणको सहायक कम्पनी चिलिमे जलविद्युत्को अगुवाइमा निर्माण भएका १११ मेगावाटको रसुवागढी र ४२.५ मेगावाटको साञ्जेनसहित रसुवामा निर्माणाधीन तथा निर्माण हुने जलविद्युत् आयोजनाको विद्युत् प्रवाहका लागि प्रसारण लाइन पूर्वाधार तयार भएको उहाँले बताउनुभयो । रसुवागढी र साञ्जेन आयोजना निर्माण सम्पन्न भई विद्युत् उत्पादनको चरणमा छन् । कार्यकारी निर्देशक घिसिङले भन्नुभयो, ‘भौगोलिकरूपमा अत्यन्तै जोखिमयुक्त र कठिन हिमाली क्षेत्रमा टावर बनाउनुपर्ने, भीरैभीर रहेको र सडक पनि नभएकाले ढुंगा, गिट्टी, बालुवा, टावरका सामान, पानी, मानिस या खच्चडबाट बोकाएर लैजानुपर्ने, बाढीपहिरो, वन क्षेत्रको जग्गा प्रयोगको समस्या, स्थानीय अवरोध, कोरोना, निर्माणस्थल हिमाली र पहाडी क्षेत्रमा पर्ने भएकाले लाइन निर्माणमा मौसमको पनि प्रतिकूल प्रभावजस्ता कारणले समस्यामा परेको आयोजना निरन्तरको प्रयासपछि निर्माण सम्पन्न हुनु ठूलो उपलब्धि हो ।
उत्तरतर्फको छिमेकी देश चीनसँगको विद्युत् व्यापारका लागि चिलिमे-केरुङ अन्तरदेशीय प्रसारण लाइन निर्माण गर्न लागिएको छ, चिलिमे–त्रिशूली प्रसारण लाइनले नै चीनलाई जोड्नेछ ।’ चिलिमे-त्रिशूली २२० केभी प्रसारण लाइन आयोजनाअन्तर्गत नै २२०/१३२/३३ केभीका चिलिमे हब र त्रिशूली थ्री बी हब सबस्टेसन निर्माण सम्पन्न भइसकेका छन् । त्रिशूली थ्री बी हब सबस्टेसनमा आएको विद्युत् काठमाडौंको मातातीर्थसम्मको त्रिशूली–काठमाडौं २२० केभी प्रसारण लाइन हुँदै राष्ट्रिय प्रणालीमा समाहित हुनेछ । साञ्जेन र रसुवागढी जलविद्युत् आयोजनाहरूबाट उत्पादित विद्युत् चिलिमे हब सबस्टेसनमा जोडी चिलिमे-त्रिशूली प्रसारण लाइन हुँदै राष्ट्रिय प्रणालीमा समाहित हुनेछ ।
२८ किलोमिटर लामो प्रसारण लाइनका लागि ७६ टावर निर्माण गरिएका छन् । प्रसारण लाइन समुद्री सतहबाट ६८० देखि २६०० मिटरसम्म पर्ने भूभागमा निर्माण गरिएको छ । ३३ टावर पहुँच सडक नै नभएका ठाउँमा निर्माण गर्नुपर्ने अवस्था थियो । उक्त स्थानसम्म पुग्न छुट्टै पहुँच सडक निर्माण गरिएको छ ।
आयोजनाले लाइन निर्माणका लागि २० किलोमिटरभन्दा बढी पहुँच सडक निर्माण गरेको प्राधिकरणको उच्च भोल्टेज ग्रिड विभागका निर्देशक थर्कबहादुर थापाले बताउनुभयो । उहाँले खच्चड र मानिसबाट निर्माण सामग्री र उपकरण ढुवानी गरी नौवटा हेलिकोप्टरबाट निर्माण सामग्री ढुवानी गरी दुईवटा टावर निर्माण गरिएको उल्लेख गर्नुभयो ।
उत्तरगया गाउँपालिका-१ तिरुबाट सोही वडाको सिरुचेतसम्म एक हजार दुई सय ३५ मिटर लम्बाइमा तार तानिएको छ । मैलुङ खोलामाथि पर्ने उक्त खण्ड (मैलुङ क्रसिङ)मा ड्रोनको प्रयोग गरी तार तानिएको थियो ।
प्रसारण लाइनअन्तर्गत चिलिमे-मैलुङ खण्ड २० किलोमिटर डबल सर्किट र मैलुङ-त्रिशूली थ्री बी हबसम्म आठ किलोमिटर चार (मल्टी) सर्किट लाइन निर्माण गरिएको छ । कोरियन कम्पनीहरूको अगुवाइमा निर्माणाधीन २१६ मेगावाटको माथिल्लो त्रिशूली-१ जलविद्युत् आयोजनाको विद्युत् जोड्न मल्टी सर्किट लाइन बनाउन लागिएको हो । माथिल्लो त्रिशूली-१ ले मल्टी सर्किट लाइन बनाउँदा भएको खर्चको ६० प्रतिशत रकम बेहोर्नेछ । अनुमानित लागत तीन अर्ब ६२ करोड ८९ लाख अमेरिकी डलर रहेको चिलिमे-त्रिशूली आयोजनामा नेपाल सरकार तथा प्राधिकरणको लगानी र जर्मन विकास बंैक (केएफडब्लु)को अनुदान रहेको छ । युरोपेली युनियनले स्थापना गरेको युरोपेली लगानी बंैक (इआइबी)को आयोजनामा सहुलियतपूर्ण ऋण रहेको छ ।
प्रसारण लाइन र सबस्टेसन निर्माणका लागि चिनियाँ कम्पनी पिङगाओ ग्रुप अफ कम्पनिजसँग २०७४ को कात्तिकमा ठेक्का सम्झौता भई २०७४ को पुसमा कार्यान्वयनमा आएको थियो ।
बाढीले क्षतिग्रस्त काबेलीको पुनर्निर्माण
इलामको माईखोलामा आएको बाढीले क्षति पुर्याएको काबेली करिडोर १३२ केभी डबल सर्किट प्रसारण लाइनको पुनर्निर्माण सकिएको छ । असोज १२ गते माईखोलामा आएको बाढीले काबेली करिडोर प्रसारण लाइनअन्तर्गत इलामको माई नगरपालिका १ र ७ स्थित धोद्रेबेंसीमा चारवटा टावरमा क्षति पुर्याएको थियो । प्राधिकरण र काबेली करिडोर प्रसारण लाइनमा विद्युत् जोडिएका निजी क्षेत्रका २० जलविद्युत् आयोजनाले संयुक्तरूपमा पुनर्निर्माण तथा पुनस्र्थापना गरी सोमबारदेखि प्रसारण लाइन सञ्चालनमा ल्याएका हुन् । काम सुरु गरेको १९ दिनमा काम सम्पन्न गरी प्रसारण लाइन सञ्चालनमा ल्याइएको निजी क्षेत्रका तर्फबाट पुनर्निर्माणमा खटिनुभएका ऊर्जा उद्यमी मोहन कार्कीले बताउनुभयो । प्रसारण लाइन सञ्चालनसँगै ताप्लेजुङ, पाँचथर र इलाममा सञ्चालनमा रहेका आयोजनाले विद्युत् उत्पादन सुरु गरेका छन् । आयोजनाबाट १२ असोजबाट विद्युत् उत्पादन बन्द भएको थियो ।
प्राधिकरण र निजी क्षेत्रले संयुक्तरूपमा नमुनाका रूपमा पुनर्निर्माण अघि बढाएका थिए । प्राधिकरणले प्रसारण लाइनका पार्टपूर्जालगायतका सामग्री उपलब्ध गराएको छ । निजी क्षेत्रका जलविद्युत् आयोजनाले श्रम लागतलगायतका खर्च बेहोरहेका छन् । जसका लागि प्रत्येक आयोजनाले निश्चित रकम योगदान गरेका छन् । निजी क्षेत्रले कार्कीको नेतृत्वमा टोली खटाएका थिए । काबेली करिडोर प्रसारण लाइनअन्तर्गत इलामको गोदकबाट झापाको दमकसम्मको खण्डको धोद्रेबेंसीमा ५०, ५१, ५२ र ५३ नम्बर टावरमा माईखोलाको बाढीले क्षति पु¥याएको थियो । त्यस स्थानबाट प्रसारण लाइनलाई माईखोला पार गराएको थियो । उक्त स्थानमा प्रसारण लाइनको स्पान साढे सात सय मिटर रहेको छ । चार टावरमध्ये बाढीले ५१ र ५२ नम्बर टावरमा पूर्णरूपमा क्षति पु¥याएको थियो । त्यहाँ अर्को नयाँ टावर बनाइएको हो ।
५० र ५३ नम्बर टावरमा आंशिक क्षति पुगेको थियो । ५० नम्बर टावरको टुप्पोको संरचनामा क्षति पुगेको थियो । ५३ नम्बर टावरको क्रस आर्म र टुप्पोको संरचनामा क्षति पुगेको थियो । दुवै टावरको मर्मत गरिएको थियो । प्रसारण लाइन पुनर्निर्माणमा उक्त स्थानका वडाका जनप्रतिनिधिहरूबाट पूर्णरूपमा सहयोग प्राप्त भएको प्राधिकरणले जनाएको छ ।

बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
राजनीतिक नेतृत्व अभिभावक बन्ने कि
नेपाली राजनीति र वाराणसीका पण्डा