काठमाडौं । सहकारी ठगी प्रकरणमा गत कात्तिक २ गते पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई थप १० दिन हिरासतमा राख्न जिल्ला अदालत कास्कीले अनुमति दिएको छ।
तिहार बिदा सकिएपछि लामिछानेलाई म्याद थपका लागि जिल्ला अदालत कास्कीमा उपस्थित गराइएको थियो । अदालतले तिहार बिदाको ५ दिन उधारो हिरासतसहित जोडेर कात्तिक २३ गतेसम्मका लागि प्रहरीलाई अनुसन्धानको अनुमति दिएको हो ।
जिल्ला अदालत कास्कीका सूचना अधिकारी सुरज अधिकारीले बताएअनुसार अब रविलाई कात्तिक १५ देखि लागु हुने गरी १० दिनको म्याद थपिएको छ ।
जिल्ला प्रहरी कार्यालयले जिल्ला सरकारी वकिलको कार्यालयमार्फत रविविरुद्ध अनुसन्धानका लागि थप २५ दिन समय मागेको थियो । जसमा तिहार बिदाको ५ दिन काट्दा अदालतले दिएमा रविले अझै २० दिन अर्थात् मंसिर १० गतेसम्म हिरासतमा बस्नुपर्ने हुन्थ्यो। अदालतले १० दिनको मात्रै अनुमति दिएको हो ।






