काठमाडौं । नेपाल समाजवादी पार्टी (नयाँ शक्ति)का संयोजक बाबुराम भट्टराईले लामो संघर्ष र बलिदानको उपलब्धिका रूपमा प्राप्त नेपालको संविधानको संरक्षण र लोकतन्त्रको सुदृढीकरणका लागि परिवर्तनकारी शक्तिबीच साझा धारणा र एउटै बुझाइ आवश्यक रहेको बताउनुभएको छ । शनिबार राजधानीमा आयोजित प्रमुख सञ्चार माध्यमका सम्पादकका साथै पत्रकारहरूसँगको छलफलमा उहाँले संघीयता र गणतन्त्र सहितको उपलब्धिलाई संरक्षण र सम्बद्र्धन गर्दै लैजानुपर्ने आजको आवश्यकता भएको स्पष्ट पार्नुभयो । पूर्वप्रधानमन्त्री भट्टराईले भन्नुभयोे, ‘मुलुकमा राजनीतिक परिवर्तनका लागि विभिन्न कालखण्डमा भएका आन्दोलनमा दुःख, कष्ट भोगेका राजनीतिक नेतृत्वले जनताका एजेण्डाका आधारमा विकास र समृद्धिमा फड्को मार्न नसक्दा नयाँ शक्तिको उदय भयो तर उनीहरू पनि व्यवस्थित हुन सकिरहेको देखिन्न ।’
लोकतन्त्रका लागि योगदान पुर्याएका पुराना शक्तिलाई सुधार्ने तथा नयाँ शक्तिलाई व्यवस्थित तुल्याएर आम सहमतिका आधारमा अघि बढ्नुपर्ने आवश्यकता रहेको बताउँदै संयोजक भट्टराईले लोकतान्त्रिक गणतन्त्रभित्रै नयाँ शक्ति निर्माण गर्न सकिने तर्क गर्नुभयोे । संयोजक भट्टराईले भन्नुभयोे, ‘वैकल्पिक नयाँ शक्ति अग्रगामी सोचसहितको हुनुपर्छ, पुराना वादबाट अब मुलुक चल्दैन । संघीयतालाई पनि परिष्कृत गर्दै लैजानुपर्छ ।’ भट्टराईले काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहबारे सन्देहपूर्ण धारणा राख्नुभयो । बालेनले आगामी २०८४ सालको निर्वाचन अगाडि पार्टी खोल्न सक्ने टीकाटिप्पणी हुने गरे पनि बालेनको लोकप्रियताका बीच आफूले उहाँको वास्तविकता बुझ्न नसकेको भट्टराईको धारणा छ ।
‘बालेन के हुन् ? भन्ने मैले बुझेको छैन । एकखालको रहस्यमय पात्र जस्तो देखिन्छ’, भट्टराईले भन्नुभयो, ‘उनी हेर्दा पलपुर पनि देखिन्छन् । ट्रकहरूमा पनि बालेनको फोटो देखिन्छ । सामाजिक सञ्जाल हेर्दा पनि लोकप्रियता देखिन्छ । तर, उनको वास्तविकता स्पष्ट नभएको यस्तो पृष्ठभूमिमा हाम्रो जस्तो जटिल भूराजनीतिक संरचनामा बढो खतरनाक हुन सक्छन् ।’
यद्यपि, देशका लागि अग्रगामी सोचसहितको वैकल्पिक शक्तिचाहिँ चाहिने उहाँको भनाइ छ । अग्रगामी सोच राख्ने शक्तिहरूसँग विगतदेखि नै आफू सकारात्मक रहेको उल्लेख गर्दै भट्टराईले आफ्नो चाहना अबको चुनावमा त्यस्ता शक्तिहरूसँग तालमेल वा मोर्चाबन्दी गर्ने रहेको बताउनुभयो । भट्टराईले ०८४ पछि एमाले र कांग्रेसको निर्णायक बन्ने हैसियत घट्ने पनि विश्लेषण गर्नुभयोे । उनीहरूलाई चुनौती वैकल्पिक शक्तिले नै दिने उहाँको जिकिर थियो । तर, वैकल्पिक शक्ति अहिले नै यो हुनसक्छ भनेर भन्नसक्ने अवस्था नरहेको उल्लेख गर्दै भट्टराईले भन्नुभयोे, ‘यो स्पेस अहिले खाली नै छ । ‘अन्नोन’ कुनै पात्र आउन पनि सक्छ ।’ यस्तै, भट्टराईले भ्रष्टाचार अहिलेको प्रमुख चुनौती रहेको उल्लेख गर्दै यसको नियन्त्रणका लागि लोकपाल वा बलियो अरू कुनै आयोग निर्माण गर्नुपर्ने बताउनुभयो । तर, त्यस्ता आयोगमा भ्रष्ट प्रवृत्तिकै मान्छे आएमा समस्याको समाधान नहुने उहाँको भनाइ थियो । यस्तै, भट्टराईले अहिलेको प्रणालीबाट कसैको पनि बहुमत आउन नसक्ने उल्लेख गर्दै प्रत्यक्ष कार्यकारीको पक्षमा समेत वकालत गर्नुभयो ।







Breaking news with related posts