काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल) को फ्रेन्चाइज टोली जनकपुर बोल्ट्सले पहिलो विदेशी खेलाडीका रूपमा न्युजिल्याण्डका अलराउन्डर जिमी निशमलाई अनुबन्ध गरेको छ । जनकपुरले सामाजिक सञ्जालमार्फत् ३४ वर्षीय निशमलाई भित्र्याएको जानकारी दियो । निशमले न्युजिल्याण्डका लागि ७९ टी-२० अन्तर्राष्ट्रिय खेलमा ९४४ रन प्रहार गर्नुभएको छ । यसैगरी उहाँको नाममा ३९ विकेट पनि छ । जनकपुरको मार्की खेलाडीमा राष्ट्रिय किक्रेट टोलीका विकेट किपर तथा ब्याटर आसिफ शेख हुनुहुन्छ । यसैगरी टोलीले पुबुदु दासानायकेलाई प्रशिक्षणको जिम्मेवारी सुम्पिएको छ ।
यस्तै, इंग्लिस क्रिकेटर सेफ अलि जेबलाई नेपाल प्रिमियर लिगको पहिलो संस्करणका लागि सुदूरपश्चिम रोयल्सबाट अनुबन्ध गरिएको छ । २६ वर्षीय बायाँ हाते अलराउन्डरसँग काउन्टी क्रिकेटको भरपूर अनुभव छ । गत महिना सम्पन्न इंग्ल्याण्डको टी-२० घरेलु प्रतियोगितामा नर्थान्ट्सबाट खेल्नुभएका सेफले काउन्टीको दोस्रो श्रेणीमा पनि नियमित खेल्दै आउनुभएको छ । सन् २०१५ मा १६ वर्षको उमेरमा पहिलो श्रेणी क्रिकेटमा डेब्यु गरेपछि उहाँले इंग्ल्याण्डका लागि उमेर समूह क्रिकेट पनि खेल्नुभएको थियो । टी-२० करिअरमा १४० भन्दा माथिको स्ट्राइक रेटमा १२ सय रन जोड्नुभएका उहाँले पार्टटाइम बलिङ गर्दै ३३ को औसतमा १२ विकेट लिनुभएको छ । रोयल्सले यसअघि पहिलो विदेशी खेलाडीका रूपमा स्कटल्याण्डका अलराउन्डर ब्रान्डन मक्मलेनलाई अनुबन्ध गरिसकेको छ । त्यस्तै अस्ट्रेलियाका विश्वकप विजेता पूर्वक्रिकेटर ब्राड हज प्रमुख मेन्टरमा हुनुहुन्छ । दीपेन्द्र सिंह ऐरी मार्की खेलाडी रहेको सुदूरपश्चिम रोयल्सको मुख्य प्रशिक्षकमा जगत् टमाटा हुनुहुन्छ ।
नेपाल क्रिकेट संघ (क्यान) को आयोजनामा एनपिएल मंसिर १५ देखि पुस ६ गतेसम्म हुँदैछ । प्रतियोगितामा आठ फ्रेन्चाइज टोलीको सहभागिता रहनेछ । लिगमा जनकपुर बोल्ट्ससहित लुम्बिनी लायन्स, काठमाडौं गुर्खाज, चितवन राइनोज, सुदूरपश्चिम रोयल्स, विराटनगर किंग्स, कर्णाली याक्स र पोखरा एभेन्जर्सले प्रतिस्पर्धा गर्नेछन् ।
ल्यांग चितवन राइनोजमा
दक्षिण अफ्रिकाका अनुभवी तीव्रगतिका बलर मरस्यंट डी ल्यांगलाई चितवन राइनोजले अनुबन्ध गरेको छ । १४५ किलोमिटर प्रतिघण्टा बलिङ गर्न सक्ने ३४ वर्षीय ल्यांगलाई मंसिर १५ बाट हुन गइरहेको नेपाल प्रिमियर लिग (एनपिएल) का लागि चितवनले अनुबन्ध गरेको हो ।
६.७ फिट उचाइ हुनुभएका दायाँ हाते ब्याट्सम्यान तथा बलर विश्व फ्रेन्चाइजी क्रिकेटमा प्रभावकारी खेलाडी मानिनुहुन्छ । उहाँले यस फम्र्याटका १५१ टी-२० खेल खेल्नुभएको छ । ग्ल्यामोर्गन, समरसेट र ग्लुसेस्टरसायरजस्ता टोलीबाट काउन्टी क्रिकेट खेलेको उहाँसँग अनुभव छ ।
त्यसैगरी, मुम्बई इण्डियन्स, कोलकाता नाइट राइडर्स, इस्लामाबाद युनाइटेड, गुयाना अमेजन वारियर्स, ट्रेन्ट रकेट्स, डम्बुला गेन्ट्सलगायत विश्वस्तरीय फ्रेन्चाइज टोलीको समेत उहाँले प्रतिनिधित्व गरिसक्नुभएको छ । सन् २०११ मा श्रीलंकाविरुद्धको टेस्टमा डेब्यु गर्नुभएको थियो । उक्त डेब्यु खेलमै उहाँले सात विकेट लिनुभएको थियो ।
उहाँलाई सीमित ओभरको क्रिकेटका कारण बढी सम्झिने गरिन्छ । सन् २०१२ मा न्युजिल्याण्डविरुद्ध उहाँले टी–२० आईमा डेब्यु गर्नुभएको थियो । तेस्रो तथा खेलको अन्तिम ओभरमा उहाँले सात रन बनाउँदै दक्षिण अफ्रिकालाई शृंखला जिताउनुभएको थियो । सन् २०१७ देखि उहाँ ग्लेमोर्गनबाट काउन्टी क्रिकेट खेल्दै आउनुभएको छ ।
नन्दन लुम्बिनीको मुख्य प्रशिक्षकमा नियुक्त
लुम्बिनी लायन्सले आगामी नेपाल प्रिमियर लिगका लागि नन्दन फाडनिसलाई मुख्य प्रशिक्षकका रूपमा नियुक्त गरेको छ । गोवा क्रिकेट संघमा खेलाडीहरूलाई प्रशिक्षण गर्नुभएका फाडनिसले योभन्दा अगाडि नेपालको राष्ट्रिय क्रिकेट टिमलाई पनि प्रशिक्षण गरिसक्नुभएको छ । यसबारे बोल्दै हेड कोच नन्दन फाडनिसले भन्नुभयो, ‘लुम्बिनी लायन्स क्लबमा हेड कोचका रूपमा समावेश हुन पाउँदा म अत्यन्तै उत्साहित छु । रोहित पौडेलको कुशल नेतृत्वमा लुम्बिनी लायन्सले उत्कृष्ट प्रदर्शन गर्दै विजय हासिल गर्नेछ भन्ने कुरामा म विश्वस्त छु ।’
त्यस्तै क्लबका मालिक ईश्वर जिसीले भन्नुभयो, ‘नन्दन फाडनिसलाई हेड कोचका रूपमा नियुक्त गर्न पाउँदा हामी अत्यन्तै उत्साहित छौँ । उहाँले नेपाल र भारत दुवैको क्रिकेट र क्रिकेटरहरूलाई राम्रोसँग नियाल्नुभएको हुँदा क्लबको आगामी रणनीति तय गर्न निकै सहज हुनेछ । त्यस्तै भारतको राष्ट्रिय क्रिकेट एकेडेमीमा पनि प्रशिक्षण गरेको उहाँको अनुभवले हाम्रा खेलाडीहरूलाई विजय हासिल गर्न राम्रो मार्गदर्शन प्राप्त हुनेमा हामी विश्वस्त छौँ ।’ फाडनिसको उपस्थितिले लुम्बिनी लायन्सले लिगमा उत्कृष्ट प्रदर्शन गर्ने विश्वास क्लबले लिएको छ ।







This is breaking news.
Video News Post
Breaking News with Advertisements
Breaking news with related posts