धरान । नेपालका लागि टाटा मोटर्सको आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङले कोशी प्रदेशस्थित इटहरीमा टाटाका एस इभी फ्ल्याटबेड र सिएलभी विद्युतीय गाडी सार्वजनिक गरेको छ । दशैँ-तिहार विशेष छुट अफरसहित सुलभ मूल्यमा ग्राहकको खुसियालीको सारथिका रूपमा नयाँ मोडेल ल्याइएको कम्पनीले जनाएको छ ।
एस इभी फ्ल्याटबेडको २१ लाख ९९ हजार र टाटाकै सिएलभी विद्युतीय गाडीको २२ लाख ७९ हजार रुपैयाँ रहेको छ । कम्पनीले पहिलो एक हप्ताभित्र बुकिङ गर्ने ग्राहकलाई उल्लेखित गाडीमा ५० हजारसम्मको विशेष नगद छुट व्यवस्थासमेत गरेको छ ।
साथै एक वर्षका लागि निःशुल्क बिमा सुविधा, तीनपटकसम्म गाडी निःशुल्क सर्भिसिङ, एक वर्षका लागि सवारी कर, आकर्षक एक्सचेञ्ज बोनस, गाडी नामसारी गर्दा लाग्ने खर्चसमेत कम्पनीले बेहोर्नेछ । उक्त कार्यक्रममा नेपाल मदिरा व्यवसायी महासंघका कोशी प्रदेशका सचिव लालबहादुर कार्की, उद्योग वाणिज्य संघ, इटहरीका महासचिव पिताम्बर पोखरेल, नेपाल वितरक महासंघ कोशी प्रदेश महासचिव राजेश खनाल, सिप्रदीका च्यानल पार्टनरलगायतको उपस्थिति रहेको थियो ।
सो अवसरमा सिप्रदी ट्रेडिङका सहायक महाप्रबन्धक दिवसबाबु सुवेदीले विद्युतीय गाडीका फाइदा र सञ्चालनका हिसाबले अत्यन्तै किफायती, सहज र सुविधायुक्त हुनुका साथै सुरक्षाका दृष्टिकोणले समेत टाटाका गाडी सुरक्षित रहेको बताउनुभएको थियो ।






