काठमाडौं । भारत नयाँदिल्लीबाट काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अवतरण गरेको भारतीय निजी वायुसेवा कम्पनी भिस्टारा एयरवेजको जहाजमा बम राखेको हल्ला फैलिएको छ ।
भारतीय उड्डयन प्राधिकरणले नै नेपालकाे नागरिक उड्डयन प्राधिकरणलाई उक्त जानकारी दिएपछि मंगलबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा केहीबेर तनावको स्थिति सिर्जना भएको हाे।
एक सय ५७ यात्रु लिएर दिल्लीबाट काठमाडौँ आएको जहाजमा बम राखिएको खबर भारतीय प्राधिकरणले नै दिएपछि सेनाको बम डिस्पोजन टोली विमानस्थल पुगेको थियो।
४ बजेर २७ मिनेटमा विमानस्थलमा अवतरण भएको जहाजमा बम नभेटिए पनि सेनाको टोलीले थप खोजी जारी राखेको छ। अहिले दिल्लीबाट आएका सबै यात्रु सुरक्षित रुपमा ओर्लिसकेका छन् भने बम राखेको सूचना कसले दियो भन्नेबारे थप जानकारी प्राप्त भएको छैन।
सेना स्रोतका अनुसार बम राखेको सूचना पाएपछि डिस्पोजल टोलीले विमानस्थल पुगेर जहाजको तलासी गरेको थियो। यसअघि पनि संसारका विभिन्न विमानस्थलमा भारतीय विमानमा बम रहेको हल्ला फैल्याएर आतंकको अवस्था सिर्जना भएको थियो।






