काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसदहरुविरुद्ध अदालतको काम कारबाहीमा अवरोध गरेको भन्दै जिल्ला प्रहरी परिसर काठमाडौँमा निवेदन परेको छ ।
युवराज सफलले नेपाल सरकार ,नेपाल प्रहरी र अदालतको काम कारबाहीमा अवरोध गर्ने रास्वपा सांसदहरुलाई मुलुकी अपराध संहिता ,२०७४ को दफा (५) को उपदफा (४) बमोजिम ३ बर्ष जेल सजाय र ३० हजार जरिवानाको माग गर्दै जिल्ला प्रहरी परिसरमा जाहेरी पेश गर्नुभएको हो ।
जाहेरीमा सफलले संसदीय छानबिन समितिले कारवाही गर्न सिफारिस गरेपछि प्रहरीले अदालतको आदेशमा गरेको कारवाहीप्रति अवरोध सिर्जना गर्न आन्दोलन गरिरहेको र कार्यकर्तालाई अनिवार्य उपस्थितिको लागि उर्दी समेत जारी गरेकोले सो कार्य मुलुकी अपराध संहिताविपरित भएको उल्लेख छ ।
सफलले उपसभापति अर्याल, अर्का उपसभापति डा. स्वर्णिम वाग्ले, नेता विराजभक्त श्रेष्ठ, संसदीय दलका प्रमुख सचेतक सन्तोष परियार, पूर्वशिक्षामन्त्री सुमना श्रेष्ठ, डा।तोशिमा कार्की, हरि ढकाल, गणेश पराजुली, मनिष झासहितलाई पक्राउ गरेर कारबाही गर्न माग गर्नुभएको छ ।






