काठमाडौं । पछिल्लो समय देशको अर्थतन्त्र निरन्तररूपमा सुधार हुँदै गएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्षको दुई महिना भदौ समान्तसम्मको तथ्यांकअनुसार चालु खाता ४९ अर्ब ६९ करोडले बचतमा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा चालु खाता २३ अर्ब ९७ करोडले बचतमा रहेको थियो । अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा १८ करोड १३ लाखले बचतमा रहेको चालु खाता समीक्षा अवधिमा ३७ करोड एक लाखले बचतमा रहेको छ । त्यस्तै शोधनान्तर स्थिति एक खर्ब एक अर्ब ७७ करोडले बचतमा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर स्थिति ५५ अर्ब १० करोडले बचतमा थियो । अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा ४१ करोड ७० लाखले बचतमा रहेको शोधनान्तर समीक्षा अवधिमा ७५ करोड ७९ लाखले बचतमा रहेको छ ।
२०८१ असार मसान्तमा २० खर्ब ४१ अर्ब १० करोड बराबर रहेको कुल विदेशी विनिमय सञ्चिति २०८१ भदौमा ५.५ प्रतिशतले वृद्धि भई २१ खर्ब ५२ अर्ब ५३ करोड पुगेको छ । अमेरिकी डलरमा यस्तो सञ्चिति २०८१ असारमा १५ अर्ब २७ करोड रहेकोमा २०८१ भदौमा ५.० प्रतिशतले वृद्धि भई १६ अर्ब चार करोड पुगेको छ । कुल विदेशी विनिमय सञ्चितिमध्ये नेपाल राष्ट्र बैंकमा रहेको सञ्चिति २०८१ असारमा १८ खर्ब ४८ अर्ब ५५ करोड रहेकोमा २०८१ भदौमा ४.४ प्रतिशतले वृद्धि भई १९ खर्ब २८ अर्ब ९९ करोड पुगेको छ । आर्थिक वर्ष २०८१/८२ को दुर्ई महिनाको आयातलाई आधार मान्दा बंैकिङ क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चिति १६.८ महिनाको वस्तु आयात र १३.७ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहने केन्द्रीय बैंकले जनाएको छ ।
मूल्यवृद्धि नियन्त्रणमा
२०८१ भदौमा वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति ३.८५ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही महिनामा यस्तो मुद्रास्फीति ८.१९ प्रतिशत थियो । समीक्षा महिनामा खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति ५.०३ र गैर-खाद्य तथा सेवा समूहको मुद्रास्फीति ३.१९ प्रतिशत रहेको छ । अघिल्लो वर्ष सोही अवधिमा यी समूहको मुद्रास्फीति क्रमशः ९.७७ र ७.१९ प्रतिशतले वृद्धि भएको थियो ।
समीक्षा महिनामा ग्रामीण क्षेत्रको वार्षिक बिन्दुगत उपभोक्ता मूल्य सूचकांक ४.०४ प्रतिशतले बढेको छ भने शहरी क्षेत्रको वार्षिक बिन्दुगत उपभोक्ता मूल्य सूचकांक ३.७८ प्रतिशतले बढेको छ । प्रदेशगतरूपमा समीक्षा महिनामा कोशी प्रदेशको वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति ४.६६, मधेश ३.८२, बागमती ३.२९, गण्डकी ३.५०, लुम्बिनी ३.५३, कर्णाली ३.५६ र सुदूरपश्चिम प्रदेशको ५.९० प्रतिशत रहेको छ । समीक्षा महिनामा काठमाडौं उपत्यकाको वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति ३.४९, तराई ४.०९, पहाड ३.६१ र हिमालको ४.१९ प्रतिशत रहेको छ । २०८० भदौमा उक्त क्षेत्रहरूको यस्तो मुद्रास्फीति क्रमशः ९.८३, ७.०३, ८.०९ र ११.३२ प्रतिशत थियो ।
रेमिट्यान्स १५.२ प्रतिशतले वृद्धि
समीक्षा अवधिमा विप्रेषण आप्रवाह १५.२ प्रतिशतले वृद्धि भई दुई खर्ब ६३ अर्ब १४ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह १८.७ प्रतिशतले बढेको थियो । अमेरिकी डलरमा विप्रेषण आप्रवाह एक अर्ब ९६ करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह एक अर्ब ७३ करोड थियो । समीक्षा अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति लिने नेपालीको संख्या ७६ हजार चार सय ८५ र पुनः श्रम स्वीकृति लिनेको संख्या ४० हजार पाँच सय ८३ रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या क्रमशः ७४ हजार चार सय ५५ र ३२ हजार चार रहेको थियो ।






