काठमाडौं । नेक्सजेन म्यानेजमेन्ट सोलुसन्सले सेयरधनीलाई पाँच प्रतिशत नगद लाभांश वितरण गर्ने भएको छ । शनिबार बसेको कम्पनीको सातौँ वार्षिक साधारणसभाले आर्थिक वर्ष २०८०/८१ को वित्तीय विवरण पारित गर्दै लाभांश घोषणा गरेको हो ।
साथै कम्पनीको नाम परिवर्तन गरी नेक्सजेन म्यानेजमेन्ट एण्ड इक्विटी सोलुसन्स प्रालि राख्ने निर्णय भएको पनि अध्यक्ष रमेशकुमार भट्टराईले बताउनुभयो । कम्पनीले भविष्यमा नियमक निकायको स्वीकृति लिएर पोर्टफोलियो म्यानेजमेन्ट तथा प्राइभेट इक्विटी र भेन्चर क्यापिटलको कामसमेत गर्ने योजना बनाएको छ ।
जसका लागि पुँजी वृद्धि र समान प्रकृतिका कम्पनी मर्जर गर्ने निर्णयसमेत गरेको छ । सभाले आगामी चार वर्षका लागि देवेन्द्रप्रताप शाह, रमेशकुमार भट्टराई, बलराम विष्ट, अजयकुमार मिश्र र शिवराज (माधव) दवाडीलाई सञ्चालकमा निर्विरोध मनोनयन गरेको छ ।
सञ्चालकहरूले नै अध्यक्षमा देवेन्द्रप्रताप शाह र रमेशकुमार भट्टराईलाई प्रबन्ध सञ्चालकमा मनोनयन गर्ने घोषणा गरेको थियो ।






