मेघकृष्णाजिनधरा धारायज्ञोपवितिनः
मारुतापूरितगुहाः प्राधीता इव पर्वता ।।
मेघरूपी कालो मृगचर्म, वर्षाको धारारूप जनै लगाएका, वायुको समान् गुफामा ब्रहृमचारीहरू मानौं वेदको अध्ययन गरिरहेका छन् । यी माथिका हरफ भगवान् रामले वर्षा वर्णनका सन्दर्भमा लक्ष्मणलाई भनेका अभिव्यक्ति हुन् । यी अभिव्यक्तिमा वर्षाको वर्णनलाई कति गतिलो तरिकाले अभिव्यक्त गरिएको छ । यो अभिव्यक्तिमा वर्षाको जुन अवस्था देखाइएको छ त्यसले प्राणीको जीवनलाई सहज बनाउने र अन्नबालीका माध्यमबाट भरणपोषण गर्ने काम वर्षा ऋतुको मानिएको देखियो । वर्षा आफैंमा प्रकृतिमा आएको ऋतु परिर्वनको कारक मानिन्छ । हामीले मान्नेछ ऋतुमा एउटा ऋतु हो वर्षा । यही वर्षा ऋतुले मानिस र प्राणीमा उमंग भरेको हुन्छ ।
प्राणीका लागि जीवन यापनको साधन बनेको प्रकृति, त्यसले निम्त्याएको आपदाबाट बच्नसमेत मानिसका लागि हम्मेहम्मे पर्ने गरेको हुन्छ । यही अवस्थामा प्रकृतिमाथि नै आरोप लगाउने र प्रकृतिमाथि विजय प्राप्त गर्न खोज्ने मानिसका लागि प्रकृति अभिसाप बनेर आएको हुन्छ ।
प्रकृतिमा स्थापित भएका ऋतुको अवस्था एक किसिमको हुँदैन । ऋतुमा आउने परिवर्तनले मानिसका जीवनमा पनि परिवर्तनको खाका कोरेको हुन्छ । वर्षालाई प्रकृतिले मानिसको वरदानका रूपमा स्वीकार गरेको देखिन्छ । कहिले काँही वरदान पनि रौद्र रूप लिएर आयो भने मानिसको जीवनलाई नै दुरुह बनाउने तर्कलाई हामीले स्वीकार गर्नुपर्ने हुन्छ नै ।
वरदान अभिसाप
प्रकृति मानिसका लागि वरदान हो । प्रकृतिका यावत् पद्धति र प्रक्रियाले मानिसका लागि वरदान स्थापित गरेको हुन्छ । यो मानिसले आफूलाई मानिसका रूपमा राख्ने अवस्थासम्म सीमित राखेको हुन्छ । मानिसलाई मात्र नभए संसारमा रहेका प्राणीका लागि प्रकृति आफैंमा वरदान हो । प्रकृतिमाथि विजय प्राप्त गर्न खोज्ने मानिसको मस्तिष्कले कहिलेकाँही आफूले गरेको विकास पनि अभिसाप बनेर आएको हुन्छ ।
प्राणीका लागि जीवन यापनको साधन बनेको प्रकृति र त्यसले निम्त्याएको आपदाबाट बच्नसमेत मानिसका लागि हम्मेहम्मे पर्ने गरेको हुन्छ । यही अवस्थामा प्रकृतिमाथि नै आरोप लगाउने र प्रकृतिमाथि विजय प्राप्त गर्न खोज्ने मानिसका लागि प्रकृति अभिसाप बनेर आएको हुन्छ । वाल्मीकि रामायणमा वर्षा ऋतुको वर्णनलाई लिएर रामले लक्ष्मणलाई प्रकृतिको मीठो सन्देश दिँदा आउने हरेक हरफमा सुन्दर अभिव्यक्ति छ । राम लक्ष्मणलाई वर्षाको त्यो सुन्दरताका बारेमा भन्नुहुन्छ
वहन्ति वर्षन्ति नदन्ति भान्ति ध्यायन्ति नृत्यन्ति समाश्वसन्ति
नद्यो घना मत्तगजा वनान्ताः प्रियाविहीनाः शिखिनः प्लवंगमाः ।।
नदीहरू बगिरहेका छन्, बादल पानि वर्षाइरहेका छन्, मत्त भएका हात्तीहरू चिच्चाइरहेका छन्, वानरहरू सुशोभित भइरहेका छन्, प्रेमिका टाढा भएका प्रेमीहरू चिन्तामग्न भएका छन्, मयूर नाचिरहेका छन्, बाँदर निश्चिन्त र सुखी बनेर वनमा विचरण गरिरहेका छन् । यो वर्षा ऋतुको सुन्दरता हो र प्रकृतिको मिठास पनि । यही सुन्दरतामा रमेको छ हरेक प्राणी । प्राणीको जीवनयापनको साधन हो ऋतु र ऋतुबाट सिर्जना गरिएको सुन्दरता पनि ।
प्रकृतिले वर्षालाई जीवन्त बनाएको छ । वर्षाबाट आएको जलले पृथ्वीलाई सेचन गरेको हुन्छ । यही सेचनमा पृथ्वीका सबै प्राणी र प्रकृति पनि रमेको हुन्छ । मानिस कर्मशील प्राणी हो । कर्ममा विश्वास गरेर ऊ गतिशील बनेको हुन्छ । कर्मले नै मानिसलाई महान् बनाउने हो । मानिस आफैंमा महान् होइन । उसले गर्ने कर्मले मानिसका सबै सन्तुष्टि र असन्तुष्टि गतिशील बनेका हुन्छन् । यही गतिशीलतामा रमेको मानिस र उसले गर्ने भावनाका आधारमा विश्वको मानवीयता रमेको हुन्छ । वर्षाकालको समय र उक्त समयले दिने सन्देशलाई राम भन्नुहुन्छ :
घनोपगूढं गगनं न तारा न भास्करो दर्शनमभ्युपैति
नवैर्जलौघैर्धरणी वितृप्ता तमोविलिमा न दिशः प्रकाशाः ।।
बादलको घटाबाट सम्पूर्ण आकाश आच्छादित भएको छ । न रातमा तारा देखिन्छन् न त दिनमा सूर्य नै । नयाँ जलराशीलाई पाएर पृथ्वी पूर्णरूपमा तृप्त बनेकी छिन् दिशाहरू अन्धकारले सजिएका छन् । दिशाहरूको स्पष्ट ज्ञान भएको छैन । यो हो वर्षाकालको प्रकृति । यही प्रकृतिको सुन्दरतामा रमेका हामी प्राणीको अवस्था पनि । प्रकृतिमा रमेको मानिसलाई कहिले भने प्रकृतिले पनि भावनाको गहिराइमा लगेर स्थापित गरेको देखियो । प्रकृतिको यो सुन्दर रूप मानिसका लागि विपत्ति पनि बनेर आएको हुन्छ । यही विपत्तिमा रम्न नसक्नु र प्रकृतिलाई नै सत्तोसराप गर्नु आजका मानिसको दिनचर्या बनेको छ ।
यही दिनचर्यामा रमेको मानिसका लागि प्रकृतिका लागि शिक्षा बनेको छ । मानिसका लागि प्रकृति कहिले पनि विपत्तिको साधन होइन । प्रकृति वरदान हो । यो वरदान मानिसका कारण नै विपत्ति लिएर आएको हुन्छ । मानिसका सबै कर्मले नै उसलाई जीवनमार्गमा प्रकृतिले सघाएको हुन्छ । प्रकृतिमाथि विजय हासिल गर्छु भन्ने अठोटका साथ हिँडेको मानिसका लागि यही प्रकृतिको सुन्दर रूप भयावह बनेर आएको हुन्छ । यही भयावह अवस्थाको सिर्जना असोज १० गतेदेखि परेको वर्षाका कारण संघीय राजधानी त्रासमा बाँच्न बाध्य भयो । प्रकृतिमाथि त्रास सिर्जना गर्न सफल मानिस प्रकृतिका अघि निरीह र लाचार बनेर उभियो ।
कसैको दोष छैन
मानिस आफू सफल हुँदा अरू कसैलाई पनि आफ्नो सफलताको पहिचान मान्दैन । आफू असफल भयो भने तथा उसले गरेका प्रगतिमा कहीँ कतैबाट बाधा उत्पन्न भयो भने प्रकृति र ईश्वरलाई सराप्नु आजका मानिसको धर्म बनेको छ । यो मानिसभित्र देखिएको लाचारीपन पनि हो । वर्षा ऋतु सकियो । शरदको यामले धर्तीमा स्वागत गरिरहेको थियो । मानिस चाड्वाड्का लागि खरिद गर्ने तरखरमा थियो । असोज १० गते रातीदेखि लगातार वर्षा आरम्भ भयो । वर्षाले निरन्तरता दिइरहेको थियो । मौसम विज्ञानले पनि वर्षाको निरन्तरताका कारण नदी किनारका वासिन्दालाई सचेत रहन आग्रह गरिरहेको थियो ।
मानिसले निर्माण गरेका भौतिक संरचनालाई भत्काएर प्रकृतिले उग्र रूप लियो । त्यो प्रकृतिको रौद्र रूपले मानिसलाई प्रकृतिका अघि नतमस्तक हुन बाध्य बनायो । मानिस निरीह बन्यो । प्रकृति प्रदत्त वर्षा मानिसका लागि वातानुकूल हुन सकेन ।
भारी वर्षा हुनसक्ने र जनधनको क्षति समेत हुने अड्कल मौषम विज्ञानले बाहिर ल्याएको थियो । मानिस आपूmले बनाएका भौतिक संरचनामा विश्वासिलो थियो । भौतिक संरचनामा आफूले प्रयोग गरेका सामग्रीमा मानिस विश्वासले भरिएर मस्त बनेको थियो । यही विश्वासमा रमेको मानिसलाई काठमाडौंमा रहेका ससाना र ठूला नदी तथा नेपालको पूर्वीय क्षेत्रमा रहेका नदीहरू कहर बनेर वर्षिए ।
मानिसले निर्माण गरेका भौतिक संरचनालाई भत्काएर प्रकृतिले उग्र रूप लियो । त्यो प्रकृतिको रौद्र रूपले मानिसलाई प्रकृतिका अघि नतमस्तक हुन बाध्य बनायो । मानिस निरीह बन्यो । प्रकृति प्रदत्त वर्षा मानिसका लागि वातानुकूल हुन सकेन । मानिसलाई र उसले निर्माण गरेका संरचनामा आफूप्रति नै घृणा जागृत हुने अवस्थाको स्वरूप बाहिर आयो । काठमाडौंका ससाना नदीहरू पनि मानिसको बस्तीमा प्रवेश गरे । मानिसलाई सोच्न बाध्य बनायो । नदीले भने हामी र हाम्रो बाटोलाई थुनछेक गर्ने प्रयास कहिले पनि नगर्नु । हामी आफूले बनाएको बाटोलाई छिचोल्न सक्छौं । हामी र हाम्रा लागि बनेका मार्गलाई कहिले पनि थुन्ने प्रयास नगर्नु ।
यो सन्देश थियो ती बाढीका भेल बनेर बग्ने नदीको । सुरक्षा निकाय र मानवीय सहयोग नभएको पनि होइन तर पनि मानिस आफूलाई बलवान् र प्रकृतिलाई कमजोर मानेर अघि बढ्ने प्राणीका रूपमा मानियो । भौतिक सम्पन्नताले सजिएको यो समयमा पनि प्रकृति बलबान् छ भन्ने तथ्यलाई प्रकृतिले नै प्रमाणित गरिदिएको छ । सरकारसित रहेका क्षमता र साधनस्रोतले भ्याएसम्म वचाउ कार्य गरेको नै देखिन्छ । मानिस र उसले निर्माण गरेका संरचनाले प्रकृतिलाई र प्रकृतिको भौतिक उपस्थितिलाई मानिसले सदा निरीह बनेर सहनुमा नै मानिसको सबैभन्दा उपयोगी मानियो ।
यो प्रकृतिबाट आएको विपत्तिले मानिसले जीवनयापनका लागि गर्ने सबै कुरालाई बाहिर ल्याएर राखिदियो । यो अवस्थामा नेपालको संघीय राजधानीमा मानिसको जीवनयापन सहज बन्न सकेको देखिएन । मानिसले निर्माण गरेका सबै संरचना र उसले बाहिर ल्याएको भौतिक उपस्थितिलाई प्रकृतिले कमजोर बनाएर बाहिर ल्यायो । काठमाडौं आउने नाका र नाकाबाट भित्रिने मानिसको जीवन साधनका सबै कुराहरू रोकिए । मानिसका सबै आवश्यक सामग्रीलाई मानिसको भौतिक सम्पन्नतामा आउने परिवेशलाई रोकिदियो । भान्सा महँगो भयो । रासनको भाउले आकास छोयो ।
चाडवाडको समयमा मानिसले महँगोमा किनेर जीवन निर्वाह गर्नुपर्ने बाध्यता आजको मानिसको आवश्यकता बन्यो । सनातन धर्म मान्नेहरू महान् चाड बडादशैँका मुखमा महँगोको चपेटामा पर्यो । यही अवस्थाका आधारमा मानिसले प्रकृतिलाई जोगाऊ र उसका सन्दर्भ आएका सबै कुरालाई बाहिर नल्याऊ भन्न खोजेको देखिन्छ । प्रकृतिलाई नमास जोगाऊ भन्ने सन्दर्भमा नै प्रकृति जीवन्त बनेको देखिन्छ । आजको विकास गरेको मानिस र भौतिक संरचनामा सम्पन्न मानिस प्रकृतिका अघि निरीह छ भन्ने सन्दर्भलाई बाहिर ल्याएको छ ।







देशका अधिकांश जिल्लामा वर्षा, सतर्कता