काठमाडौं । राष्ट्रिय उपभोक्ता मञ्चले विपद्लाई उद्योगी व्यवसायीले कमाउने अवसरका रूपमा लिने गरेको भन्दै विपद्का बेला हुने कृत्रिम महँगी नियन्त्रण गर्न सरकारको ध्यानाकर्षण गराएको छ । अत्यधिक बर्षा र बाढीले गर्दा प्राकृतिक चपेटामा परेर दुई सयभन्दा बढी नागरिकको ज्यान गइसकेको छ भने सयौं नागरिक बेपत्ता छन् । अर्बौंको पुलपुलेसा, सडक तथा भौतिक पूर्वाधार क्षति भएका छन् । पीडित नागरिकको जीवन अत्यन्त कष्टकर बनेको छ ।
नेपाल र नेपालीहरूका ठूला चाडबाडका बेलामा भएको यस प्राकृतिक विपत्तिमा पनि उपभोक्ता ठगेर खान पल्केका केही व्यवसायीले प्राकृतिक प्रकोपलाई नै बहाना बनाई हवाई भाडामा चर्को मूल्यवृद्धि गर्ने, सवारी यातायातमा दादागिरी गर्ने, खाद्यान्नमा मूल्यवृद्धि गर्ने जस्ता अनुचित व्यापारिक काम गरी ब्रहृमलुट मच्चाएको मञ्चको भनाइ छ । आमनेपाली जनताको अभिभावकत्व ग्रहण गरेको सरकार यस्तो स्थितिमा पनि बजारमा आफ्नो उपस्थिति दरोरूपमा देखाउन नसकेको भन्दै मञ्चले खेद व्यक्त गरेको छ ।
सरकारका सम्बद्ध निकायहरू, प्रदेश सरकार तथा स्थानीय सरकारका रूपमा रहेका पालिकाहरूले तत्काल उपभोक्ता हितका लागि आपूर्ति व्यवस्था सहज गर्न, मूल्य नियन्त्रण गर्न र अनुचित व्यापारिक क्रियाकलाप गरी उपभोक्ता ठग्ने र लुट्ने व्यवसायीलाई कडा कारबाही गर्न मञ्चका अध्यक्ष प्रेमलाल महर्जनले माग गर्नुभएको छ ।







Video News Post
Breaking News with Advertisements
Breaking news with related posts