काठमाडौं । यस वर्षको राष्ट्रकवि माधवप्रसाद घिमिरे पुरस्कार वरिष्ठ गीतकार किरण खरेललाई अर्पण गरिएको छ । राष्ट्रकवि स्व. माधवप्रसाद घिमिरेको स्मृतिमा प्रत्येक वर्ष प्रदान गरिने सो पुरस्कार राष्ट्रकविको जन्मजयन्तीका अवसरमा सोमबार राष्ट्रपतिनिवास शीतलनिवासमा एक विशेष कार्यक्रमबीच खरेललाई अर्पण गरिएको हो । सो पुरस्कारको राशि एक लाख रुपैयाँसहित सम्मानपत्र छ । यसअघि सो पुरस्कार वरिष्ठ समालोचक प्राडा. वासुदेव त्रिपाठीलाई प्रदान गरिएको थियो ।
राष्ट्रकविको परिवारबाट मस्र्याङ्दी वाङ्मय प्रतिष्ठानमा स्थापित कोषबाट प्रत्येक वर्ष साहित्यका विभिन्न विधामा प्रदान गर्ने गरी सो पुरस्कार स्थापना गरिएको प्रतिष्ठानका अध्यक्ष विजयराज न्यौपानेले जानकारी दिनुभयो ।
वरिष्ठ गीतकार प्राडा कृष्णहरि बरालको संयोजकत्वमा गठित पुरस्कार छनोट समितिले यसवर्ष गीति क्षेत्रमा वरिष्ठ गीतकार खरेल पुरस्कार प्रदान गर्ने निर्णय गरेको थियो । विसं २०१४ देखि नै गीत लेखन र गायन क्षेत्रमा क्रियाशील ८८ वर्षीय खरेल हाल ‘डिस्टेनिया’ रोगबाट पीडित हुनुहुन्छ ।
सो अवसरमा राष्ट्रपति पौडेलले नेपाली भाषा, साहित्यको विकासमा राष्ट्रकवि माधवप्रसाद घिमिरेको योगदान अतुलनीय रहेको बताउनुभयो । राष्ट्रपति पौडेलले भन्नुभयो, ‘राष्ट्रकवि घिमिरेका साहित्यिक सृजना हाम्रै पाखा पखेराका नेपाली जनजीवनका भोगाइ, प्रकृति, संस्कृति र मानवीय संवेदना मात्र होइन राष्ट्रिय भावनाले ओतप्रोत भएको पाइन्छ, यसले भाषा, साहित्य मात्र नभएर समग्र वाङ्मयको क्षेत्रलाई समृद्ध बनाउन र हाम्रो राष्ट्रिय स्वाभिमानको भावना अभिवृद्धि गर्न योगदान दिएको छ ।’ उहाँले कला, भाषा, साहित्य र संस्कृति सभ्य तथा सुसंस्कृत समाजको परिचायक भएको धारणा व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो, ‘यसैका माध्यमबाट एउटा समृद्ध समाज निर्माण मात्र होइन आपसमा भाइचारा, मेलमिलाप र राष्ट्रिय एकताको भावना जागृत गरी यसलाई सुदृढ र सबल बनाउन योगदान पुग्दछ भन्ने मलाई लाग्दछ, त्यसैले, राज्यले मात्र होइन जनस्तर र वाङ्मयप्रेमीहरूले स्रष्टाहरूको सम्मानमा कञ्जुस्याइँ गर्न हुँदैन ।’
राष्ट्रपति पौडेलले भाषिक तथा सांस्कृतिक बहुलता एवं भौगोलिक विविधताले युक्त हाम्रो देशको गौरव, पहिचान भनेकै हाम्रा भाषा, साहित्य, संस्कृति भएको बताउनुभयो । ‘यिनको संरक्षण, संवर्धन र विकास गर्नु हामी सबैको कर्तव्य हो’, उहाँले भन्नुभयो ।
मस्र्याङ्दी वाङ्मय प्रतिष्ठानले लमजुङको भाषा, कला, साहित्य, संस्कृति, शिक्षासहित मुलुकको वाङ्मयकै विकासका लागि देखाएको क्रियाशीलता र जागरुकता अनुकरणीय भएको उहाँको भनाइ थियो । राष्ट्रकविको जन्मजिल्ला लमजुङमा उहाँको प्रतिमा बनाएर राष्ट्रकविको विहंगम व्यक्तित्व र कृतित्वलाई चिरस्थायी बनाउन भइरहेको प्रयासले छिट्टै सार्थकता पाउने उहाँले विश्वास व्यक्त गर्नुभयो ।







देशका अधिकांश जिल्लामा वर्षा, सतर्कता