काठमाडौं । संयुक्त राष्ट्रसंघको मुख्यालयमा जारी महासभाको ७९औँ अधिवेशनमा भाग लिन अमेरिकाको न्युयोर्क जानुभएका प्रधानमन्त्री केपी शर्मा ओली केही दिन उच्चस्तरीय भेटवार्तामा व्यस्त हुनुहुने भएको छ । नेपाली समयअनुसार आइतबार बिहान प्रधानमन्त्री ओली र संयुक्त राष्ट्रसंघका महासचिव एन्टेनियो गुटेरेसबीच भेटवार्ता भएको छ । अमेरिकास्थित संयुक्त राष्ट्रसंघीय नियोग नेपालको कार्यालयमा भएको भेटवार्तामा प्रधानमन्त्री ओलीले संक्रमणकालीन न्यायका समस्यालाई सदाका लागि समाधान गर्न ऐनलाई सहज रूपमा कार्यान्वयन गर्नुपर्ने बताउनुभयो । प्रधानमन्त्री ओलीले महासचिव गुटेरेसको हालैको नेपाल भ्रमण र संसद्मा सम्बोधनको स्मरण पनि गर्नुभयो । उहाँले नेपालले पीडित केन्द्रित दृष्टिकोण, सर्वोच्च अदालतको निर्देशन र अन्तर्राष्ट्रिय मान्यताका आधारमा संक्रमणकालीन न्यायसम्बन्धी ऐन लागू गरेको सहर्ष जानकारी गराएको नियोगले जनाएको छ ।
ओलीले महासचिव गुटेरेसलाई न्यानो स्वागत र प्रशंसाका लागि धन्यवाद दिएको नियोगद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । भेटमा महासचिवले हरितगृह ग्यास उत्सर्जनमा व्यापक कमी ल्याउने र नेपालजस्ता पहाडी मुलुकको जोखिमलाई सम्बोधन गर्नेलगायत जलवायु परिवर्तनको एजेण्डा संयुक्त राष्ट्रसंघको प्राथमिकतामा रहेको बताउनुभयो । उहाँले न्यूनीकरण र अनुकूलन दुवैतर्फ केन्द्रित हुन अल्पविकसित मुलुकलगायत विकासोन्मुख मुलुकका लागि जलवायु वित्त पर्याप्त हुनुपर्नेमा जोड दिनुभयो । महासचिव गुटेरसले विकासोन्मुख देशहरूलाई आर्थिक सहयोग बढाउन र विकास कोषमा सरल पहुँचका लागि अन्तर्राष्ट्रिय वित्तीय संरचनाको गहिरो सुधारमा जोड दिनुभयो ।
‘द समिट अफ द फ्युचर’को एक सत्रमा प्रधानमन्त्री ओलीले सहअध्यक्षता गर्नुका साथै सम्बोधन गर्ने तालिका छ । प्रधानमन्त्री ओलीसँग आजै संयुक्त राष्ट्रसंघको मानव अधिकार आयुक्तले पनि शिष्टाचार भेट गर्दै हुनुहुन्छ । यसैगरी, भुटानका प्रधानमन्त्री डाशो छिरिङ तोग्बेसँग द्विपक्षीय बैठक हुने तालिका रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ । त्यसपछि प्रधानमन्त्री ओली र कुवेतका युवराज शेख सबाह अल-खालेद अल-हमद अल-मुबारक अल-सबाहसँग द्विपक्षीय बैठक हुनेछ ।
प्रधानमन्त्री ओलीले युनिसेफ भवनमा हुने ‘लिड-फ्रि फयुचर, पाटर्नरसिप लञ्च’कार्यक्रमलाई सम्बोधन गर्नुहुनेछ । यस्तै, कोलम्बिया विश्वविद्यालयमा आयोजना हुने ‘नेपालको प्रजातन्त्र र आर्थिक समृद्धिको यात्रा’को कार्यक्रममा मुख्य वक्ताका रुपमा सम्बोधन गर्नुका साथै नेपाली विद्यार्थीसँग अन्तरक्रिया गर्नुहुने छ । सोमबार साँझ प्रधानमन्त्री ओली महासभाको छलफलमा सहभागी हुनुहुने छ । नेपालको स्थायी नियोगको कार्यालयमा उहाँ र युएसएआइडीका प्रशासक सामान्थ पावरबीच भेटवार्ता हुनेछ । मंगलबार प्रधानमन्त्री ओली र युरोपेली परिषद्का अध्यक्ष चाल्र्स मिचेलसँग, सामोअका प्रधानमन्त्री फिमे नाओमी तथा फिनल्याण्डको राष्ट्रपति र प्रधानमन्त्रीसँग छुट्टाछट्टै द्विपक्षीय भेटवार्ता हुने तालिका छ ।
बुधबार प्रधानमन्त्री ओली र एमसिसीका प्रमुख कार्यकारी अधिकृत एलिस अलब्राइटबीच शिष्टाचार भेट हुनेछ । यस्तै, उहाँले ‘समुद्री सतह वृद्धिबाट उत्पन्न अस्तित्व खतरा’ विषयक समूहगत उच्चस्तरीय बैठकलाई सम्बोधन गर्नुहुने छ । बुधबार नै प्रधानमन्त्री ओली र बंगलादेशका प्रमुख सल्लाहकारबीच द्विपक्षयी भेटवार्ता हुनेछ ।
प्रधानमन्त्री ओली बुधबार अमेरिकी राष्ट्रपति जो बाइडेनले आयोजना गर्नुहुने स्वागत समारोहमा सहभागी हुनुहुने छ । बिहीबार प्रधानमन्त्री ओली र कतारका प्रधानमन्त्री, पाकिस्तानका प्रधानमन्त्री तथा लाओसका प्रधानमन्त्रीबीच छुट्टाछुट्टै द्विपक्षीय भेटवार्ता हुनेछ । बिहीबार नै प्रधानमन्त्री ओलीले संयुक्त राष्ट्रसंघ महासभामा विशेष सम्बोधन गर्नुहुने तालिका छ । असोज ११ गते शुक्रबार प्रधानमन्त्री ओलीले हार्वर्ड विश्वविद्यालयमा हुने कार्यक्रमलाई सम्बोधन गर्नुहुने छ । प्रधानमन्त्री ओली यही असोज १४ गते स्वदेश फर्कने तालिका छ ।







देशका अधिकांश जिल्लामा वर्षा, सतर्कता