काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले अहिले देशप्रति नकारात्मक टिप्पणी गर्ने समय नभएको बताउनुभएको छ ।
बिहीवार शितल निवासमा आयोजित संविधान दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले निराश बन्ने समय नभएको बताउनुभएको हो । उहाँले अहिलेको समय एकतावद्ध हुने, आफैँप्रति विश्वस्त हुने समय भएको बताउनु भयो । उहाँले आफैँभित्र आशाको दियो बाल्नुपर्ने बताउनु भयो ।
उहाँले बेथिति र अनियमितताको अन्त्यमा विशेष जोड दिनुपर्ने पनि बताउनु भयो । उहाँले बेथिति र अनियमितताले हाम्रो राज्यका प्रत्येक अंगहरुलाई विश्वासहिन बनाएको बताउनु भयो । उहाँले भ्रष्टाचारमा शुन्य सहनशिलतालाई कडाईका साथ कार्यान्वयन गर्न संकल्प गर्नुपर्ने उल्लेख गर्नुभयो ।
उहाँले भन्नुभयो, ‘आज हामीले ध्यान दिनुपर्ने अर्को महत्वपूर्ण विषय भएको छ, बेथिति र अनियमितताको अन्त्य । बेथिति र अनियमितताले हाम्रो राज्यका प्रत्येक अंगहरुलाई विश्वासहिन बनाउने चिन्ता सर्वत्र भइरहेको छ । यसबाट नागरिकको भरोसा नडग्मगाओस् भनेर अब पनि हामीले नसोच्ने हो भने कहिले सोच्ने त रु यो भरोसालाई पुनःस्थापित नगरी न त हामी संविधानका लक्ष्यहरु प्राप्त गर्नसक्छौँ, न त राजनीतिक परिवर्तनले परिणाम दिन्छ । आजका दिनमा हामीले भ्रष्टाचारमा शुन्य सहनशिलतालाई कडाईका साथ कार्यान्वयन गर्न संकल्प गर्नुपर्छ भन्ने मलाई लाग्छ । अतः हामी उत्साह र उमंगमा संविधान दिवस मनाइरहँदा आफैँभित्र आशाको नयाँ दियो बालौँ । किनभने यो निराश बन्ने समय होइन । यो हामीबीच आरोप, प्रत्यारोप गर्ने समय होइन । यो देशप्रति नकारात्मक टिप्पणी गर्ने समय होइन । यो एकतावद्ध हुने समय हो । यो आफैँप्रति विश्वस्त हुने समय हो ।’
राष्ट्रपति पौडेलले मुलुकको समृद्धिको यात्रामा अघि बढिरहँदा राज्यलाई अझै लोकतान्त्रिक र जनमुखी बनाउनुपर्ने बताउनु भयो । राजनीतिक परिवर्तनलाई नागरिकको जीवनसँग जोड्न आवश्यक रहेको बताउनु भयो ।







देशका अधिकांश जिल्लामा वर्षा, सतर्कता