काठमाडौं । रामवावु ज्ञानु सामाजिक सेवा पुरस्कार कोषले २०८१ को पाँच लाखको पुरस्कार चार संस्थालाई प्रदान गरेको छ । सबैभन्दा ठूलो नगद दुई लाख रुपैयाँ र सम्मानपत्रसहितको रामबाबु ज्ञानु सामाजिक सेवा पुरस्कार नेपालगञ्जको नीलसागर सेवाश्रमका लागि संस्थापक अध्यक्ष सरिता खनाललाई अर्पण गरिएको छ ।
विक्रम संवत् २०७३ सालमा दर्ता भएको यस संस्थाले वृद्धवृद्धा, शारीरिक तथा मानसिक रूपमा कमजोर व्यक्तिहरूलाई भोजन, आवास, औषधोपचारको प्रबन्ध गरी मर्यादित जीवनको अवसर प्रदान गर्नुका साथै अनाथ बालबालिकाको संरक्षण गर्दै शिक्षादीक्षाको प्रबन्ध मिलाएकाले पुरस्कृत गरिएको कोषका अध्यक्ष ध्रुव नेपालले जानकारी दिनुभयो ।
यसैगरी जनही एक लाख नगदसहित सम्मानपत्र रहने रामबाबु-ज्ञानु समाज सेवी पुरस्कार इटहरीको माया घर नेपालका लागि अध्यक्ष सुभद्रा प्याकुरेल, काठमाडौं गोकर्णेश्वरको अपांग पुनस्र्थापना केन्द्रका लागि अध्यक्ष उदयबहादुर लिम्बु र काठमाडौं टोखाको हाम्रो बाल संरक्षण धरोहर नेपालका लागि अध्यक्ष विनिता अर्याललाई प्रदान गरिएको थियो ।
यी संस्थाहरूले पनि वृद्धवृद्धा, शारीरिक तथा मानसिक रूपमा कमजोरलाई आश्रय, भोजन र औषधोपचारको प्रबन्ध गर्नुका साथै अनाथ बालबालिकाको संरक्षण र शिक्षादीक्षाको प्रबन्ध गर्ने र सचेतनामूलक कार्यहरू गर्दै आएका छन् । पुरस्कार वितरण समारोहमा पूर्वमुख्यसचिव डा.विमल कोइरालाले उनीहरूलाई पुरस्कृत गर्नु भएको थियो । पुरस्कृतको छनोट पाँच सदस्यीय स्वतन्त्र समूहले गरेको थियो ।
निजामती सेवाबाट अवकाश प्राप्त पाल्पाका रामबाबु नेपाल र उहाँकी पत्नी ज्ञानु नेपालले आफ्ना मातापिता शोभाकान्त नेपाल र सुशीला नेपालको पुण्यस्मरणमा २०७० सालमा स्थापना गरेको रामबाबु-ज्ञानु सामाजिक सेवा पुरस्कार कोषले २०७१ सालदेखि दुई लाखको पुरस्कार र सम्मान–पत्र प्रदान गर्दै आएकोमा २०७४ देखि चार लाखको पुरस्कार र सम्मान-पत्र प्रदान गर्न थालेको थियो । यस वर्ष फेरि एक लाखको पुरस्कार थप गरी पाँच लाख पुरस्कार प्रदान गर्न थालेको अध्यक्ष नेपालले जानकारी दिनुभयो ।







This is breaking news.
Video News Post
Breaking News with Advertisements
Breaking news with related posts