सर्लाही । सर्लाहीको लालबन्दी थोक तरकारी बजारबाट एक महिनामा साँढे १३ करोड रुपैयाँको तरकारी निकासी भएको छ ।
कृषि थोक बजार व्यवस्थापन समितिकाअनुसार साउन महिनामा यहाँबाट १३ करोड ५५ लाख ३७ हजार ९५० रुपैयाँको तरकारी देशका विभिन्न शहरहरुमा निकासी भएको हो । लालबन्दी बजारमा लालबन्दीसहित छिमेकी हरिवन, ईश्वरपुर, चन्द्रनगर, हरिपुर, बागमतीलगायत पालिका तथा महोत्तरीको बर्दीवास र गौशाला नगरपालिकाका किसानले समेत तरकारी ल्याएर बिक्री गर्ने गरेका छन् ।
मधेश प्रदेशकै सबैभन्दा ठूलो लालबन्दी तरकारी बजारमा प्रत्येक महिना किसानले १० करोड भन्दा माथिको तरकारी बेच्ने गरेका छन् । साउन महिनामा अधिक वर्षाले तरकारी बालीमा क्षति पुर्याएपनि त्यसका बाबजुत किसानले साँढे १३ करोड रुपैयाँको तरकारी फलाएर बिक्री गर्न सफल भएका हुन् ।
साउन महिनामा सबैभन्दा धेरै परबल चार करोड ७६ लाख ९० हजार रुपैयाँको निकासी भएको छ । त्यस्तै साउन महिनामा बोडी दुई करोड नौ लाख ९७ हजार रुपैयाँको निकासी भएको कृषि थोक बजार व्यवस्थापन समितिको तथ्याङ्कले देखाएको छ ।
यसैगरी भिन्डी एक करोड ६२ लाख ४१ हजार ५०० रुपैयाँ, झिङ्गनी एक करोड दुई लाख ७८ हजार रुपैयाँ, लौका ८४ लाख १२ हजार ९५० रुपैयाँ र काक्रो ५० लाख ९६ हजार २५० रुपैयाँ र अन्य हरिया तरकारी हजारौँ रुपैयाँ बराबरको निकासी भएको छ ।
लालबन्दी बजारमा किसानले ल्याएर बिक्री गर्ने गरेको तरकारी मुख्यगरी सङ्घीय राजधानी काठमाडौं तथा नारायणगढ, पोखरा, सिन्धुलीलगायत नजिकका विभिन्न बजारमा निकासी हुने गरेको कृषि थोक बजार व्यवस्थापन समितिका अध्यक्ष शम्भुप्रसाद घिमिरेले जानकारी दिनुभयाे ।
भारतबाट आएका व्यापारीले समेत दैनिक ३५/४० वटा मोटरसाइकलमा तरकारी लगेर भारतीय सीमावर्ती बजारमा बेच्ने गरेका छन् ।
असार, साउनमा पानी धेरै परेर दक्षिणी भेगमा तरकारी धेरै नै क्षति पुर्याएपछि सीमावर्ती भेगका व्यापारी धेरै आएर यहाँको तरकारी दक्षिणी भेगमा लाग्ने हाटबजार र भारतीय बजारसम्म पुर्याएका बजार समितिका अध्यक्ष समेत रहेका व्यापारी तोरनबहादुर मगरले बताउनुभयाे ।







देशका अधिकांश जिल्लामा वर्षा, सतर्कता